पानी संकट

हिउंँद र गर्मीयाममा खानेपानीको अभाव हुन्छ । पानीको स्रोत घट्दा अभाव हुने गरेको हो । तर यसपटक भने वर्षात्कै समयमा पनी वीरेन्द्रनगरका नागरिकले खानेपानीको चरम संकट बेहोर्नुपरिरहेको छ । पछिल्लो १०÷११ दिनदेखि धारामा पानी नआउँदा उपभोक्ता समस्यामा परेका हुन् । पहिरोले पानीको आपूर्ति अवरुद्ध भएको छ । पाइप बगाउँदा वीरेन्द्रनगरका वासिन्दा खानेपानीबाट बञ्चित भएका छन् ।

वीरेन्दनगर–११ को भञ्ज्याङमा पहिरोले खानेपानीको पाइप बगाएको छ । ठाउँ–ठाउँमा गएको पहिरो पञ्छाउने र पाइप मर्मतको काम भने भइरहेको छ । थप वर्षाले अवरोध नगरे केही दिनमै पालो अनुसार पानी वितरण सुरु गरिने जनाइएको छ । ठाउँ–ठाउँमा सडक खन्दा निर्माण समितिले जंगलमा ढुंगामाटो फालेका कारण पहिरो गएको हो । गत वर्षहरूमा पनि सडक खन्ने क्रममा फालेका ढुंगामाटोसँगै पहिरो जाँदा पाइप बगाएका कारण वर्षातको समयमा पानीको हाहाकार भएको थियो । वर्षाको समय सुरु भएसँगै पानीका संरचनाहरूमा भल पसेर क्षति पुगिरहेको छ । उपत्यकाका मुख्य खानेपानीका स्रोत झुप्रा खोला, खरी खोला, बोरी खोला र इत्राम खोला हुन । पानीको मुख्य स्रोतको रूपमा रहेको झुप्रा खोलाको पानीको पाइप पहिरोले अवरुद्ध गरेको हो । सुख्खायाममा खानेपानी खपत बढी र स्रोत कम हुँदा समस्या हुन्छ भने वर्षायाममा समेत बाढी पहिरो र भलले खानेपानी सेवा अवरुद्ध हुने गरेको हो । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा पानीका स्रोत कम र माग अत्यधिक हुँदा खानेपानीको समस्या दिनानुदिन चुलिँदै गएको छ ।

वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले २० हजार पाँच सय धारामार्फत खानेपानी सेवा दिइरहेको छ । सीमित स्रोतका कारण माग र आपूर्तिको सन्तुलन मिलाउन हम्मेहम्मे परिरहेको कार्यालयले जनाएको छ । वीरेन्द्रनगरमा दैनिक औसत प्रतिसेकेण्ड तीन सय २० लिटर खानेपानी आवश्यक पर्छ । अहिले एक सय ६३ लिटर प्रतिसेकेण्ड पानीको अभाव हुने गरेको छ । खडेरीमा पानीको स्रोत सुक्ने र वर्षात्मा बर्सेनि आपूर्ति अवरुद्ध हुँदा वीरेन्द्रनगरवासी खानेपानीको हैरानीले आजित भएका छन् । खानेपानी अभावको समस्या समाधान गर्न स्रोत बढाउनेतर्फ लाग्नुपर्ने देखिन्छ । वीरेन्द्रनगरका लागि दीर्घकालिन रूपमा खानेपानी आपूर्ति गर्न भेरीको पानी ल्याउने योजना अघि सारिएको छ । तर यसको काम तीव्र गतिमा हुन सकिरहेको छैन । उक्त परियोजनालाई जतिसक्दो छिटो निर्माण प्रक्रियामा लैजान जरुरी छ । निर्माणमा हुने ढिलाइले वीरेन्द्रनगरवासीको खानेपानी अभावको समस्या अझै लामो समय बल्झाइरहनेछ ।

प्रकाशित मितिः   २२ असार २०८०, शुक्रबार १२:१२