विपद् व्यवस्थापनमा सतर्कता

सुर्खेत: वर्षात्को समयाम प्राकृतिक विपद्बाट जोगिन वीरेन्द्रनगर नगरपालिकाले पूर्वतयारी गरेको छ । राहत तथा पुनस्र्थापना सामग्री तयार पारिएको छ । विगतमा क्षति बेहोर्नुपरेको घटनाबाट सकर्त हुँदै यसपटक भने पालिकाले जोखिम न्यूनीकरण गर्न सतर्कता अपनाएको हो ।

विशेष गरी नगरपालिकाको दक्षिणी भू–भागमा डुवानको समस्या आउन सक्ने भन्दै नाला निर्माण गरेर पानी निकासमा जोड दिएको छ । राजमार्गमा हुने डुवानको समस्या समाधानका लागि सबै क्षेत्रको समन्वयमा काम अघि बढाइएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । उनले भनिन्, ‘अहिले नालाहरू खन्ने, पानीको निकास खोलाहरूमा पु¥याउने काम अघि बढेको छ । स–साना थुनिएका नालाहरू सफा गर्ने, पानी जाने पुलको पहिचान गरेर त्यसलाई तटबन्ध गर्ने काममा नगरपालिका लागेको छ ।’

नगरपालिकाले तत्काल राहत उद्धारका लागि सामग्री तयारी अवस्थामा राखेको छ । नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिले उद्धारका काम गर्दै आइरहेको छ । प्रत्येक वडामा वडा विपद् व्यवस्थापन समिति गठन गरिएको उनको भनाइ छ । नगरपालिकाले सतर्कताको लागि विपद् व्यवस्थापनका पूर्व योजना तयार पारेको छ । विपद् प्रतिकार्य योजना बनाएर विपद्को पूर्व तयारी गर्न, नदी कटान एवम् डुवान क्षेत्रको पहिचान गरी त्यहाँ बसोबास गर्दै आएकाहरूलाई सुरक्षित स्थानमा राख्न सहयोगसमेत गरिरहेको प्रमुख ढकालले जानकारी दिइन् ।

यस्तै अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन नारायण नगरपालिका दैलेखले पनि उच्च सतर्कता अपनाइएको छ । केही दिनयता परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको बेला नगरपालिकाले प्राकृतिक विपद्बाट जोगिन सतर्कता अपनाइएको हो । तत्काल राहत वितरणका लागि सबै वडामा विपद् कोष स्थापना गरिएको छ । नगरपालिकाले विपद्सम्बन्धी जनचेतनामूलक सूचना प्रवाह गरिरहेको जनाएको छ । नगरप्रमुख लोमन शर्माका अनुसार सबै वडामा नौ÷दश वटा त्रिपाल राहत तथा पुनस्र्थापनाका लागि राखिएको छ । बढी जोखिममा रहेका नमुना बस्ती, सिमाडा बस्ती र रातीमाटे बस्तीलाई जोखिम न्युनीकरणका लागि योजना बनाइएको उनले बताए । नगरपालिकाले दश लाखको विपद् कोष स्थापना गरेको छ । तत्काल राहत वितरणका लागि विपदकोषको स्थापना गरिएको शर्माले जानकारी दिए ।

त्यसैगरी पश्चिम सुर्खेतका चौकुने गाउँपालिकाका केही वडा विपद्को उच्च जोखिममा छन् । १० वडामध्ये वडा नं. ५ र ७ बाहेकका सबै वडा खोला र नदीको कटानको जोखिममा छन् । गतवर्षको अविरल वर्षाले धनजनमा ठूलो क्षति पुगेको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए । उनका अनुसार गतवर्षका बाढीपीडित अझै पालमुनी छन् । यसपटक भने सतर्कता अपनाउँदै गाउँपालिकाले जोखिममा रहेका बस्तीहरू पहिचान गरेर सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी गरेको छ ।

पश्चिम सुर्खेतकै पञ्चपुरी नगरपालिकामा गतवर्षको बाढीले ठूलो भौतिक क्षति पु¥याएको थियो । नजिकमा पर्ने बस्तीहरू भेरी नदी कटान एवम् डुवानको जोखिममा रहेको नगरप्रमुख लालविर भण्डारीले बताए । उनका अनुसार ११ वटा वडा रहेको नगरपालिकामा वडा नं. १०, ११ का पुरै वडा र ५ र नौ वडाका आधा बस्ती बाढीपहिरोको जोखिममा छन । नगरपालिकाले ३० लाखको विपद कोष स्थापना गरेको छ । तत्काल राहत तथा उद्धारका लागि कोषको स्थापना गरिएको उनले जानकारी दिए ।

पछिल्लो समय कर्णाली प्रदेश सरकारले पनि अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन उच्च सतर्कता सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । प्रत्येक जिल्लामा जिल्ला विपद व्यवस्थापन समितिसँग छलफल, विद्यालयहरूमा अभिमूखिकरण, पूर्व सूचना प्रणालीको बारेमा जानकारी दिने गरिएको छ । जिल्ला जिल्लामा विपद्को अवस्थाबारे जानकारी लिन टोलि परिचालन गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले जानकारी दिए । यसरी स्थानीय तथा प्रदेश सरकारसमेत विपद् व्यवस्थापनका लागि सतर्क बनेका छन् ।

प्रकाशित मितिः   २२ असार २०८०, शुक्रबार १२:१०