एउटै पालिकामा चार जलविद्युत आयोजना
सुर्खेत: दैलेखको एउटै पालिकामा चार वटा जलविद्युत आयोजना सञ्चालन हुँदैछन् । जिल्लाको नौमुले गाउँपालिकामा चार वटा साना तथा लघु जलविद्युत आयोजना निर्माण हुन लागेका हुन् । चारमध्ये दुई वटा आयोजनाको निर्माण सम्पन्न भइ विद्युत उत्पादन गरेर धमाधम बिक्री गर्न थालिसकेका छन् । बाँकी दुई वटा निर्माणकै क्रममा छन् ।
नौमुले बजार नजिकै रहेका पदमखोला र द्वारीखोला हाईड्रोपावरबाट आठ मेगावाट विद्युत उत्पादन गरेर बिक्री वितरण भइरहेको छ । द्वारीखोलामा २०७० मा आयोजना निर्माण सम्पन्न गरेको थियो । त्यसयता आयोजनाले विद्युत उत्पादन गरेर बिक्री गर्दै आइरहेको छ । उक्त आयोजना ३.६७ मेगावाट क्षमताको हो ।
यस्तै पदमखोला हाईड्रोपावरले २०७३ सालमा आयोजना निर्माणको काम सम्पन्न ग¥यो । चार मेगावाट क्षमताको उक्त आयोजनाले पनि विद्युत उत्पादन गरेर बिक्री वितरण गर्दै आइरहेको छ । दुई वटा आयोजना निर्माण सम्पन्न भइ आठ मेगावाट विद्युत उत्पादन गर्न थालेको पालिका अध्यक्ष छविराम सुवेदीले जनाए ।
कर्णाली क्षेत्रमै पहिलो पटक दैलेखबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि स्थानीयले रोजगारी पाएका छन् भने सिँगो गाउँ उज्यालिएको छ । भौगोलिक विकटता र विकास पूर्वाधार निर्माणमा पछि परेको गाउँपालिकामा वर्षौदेखि बगेर खेर गइरहेको खोलाको उपयोग भएको अध्यक्ष सुवेदी बताउँछन् ।
‘अपर लोहोरे’ अन्तिम चरणमा
नौमुलेमै निर्माणाधिन अपर लोहोरे जलविद्युत आयोजनाको काम भने अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख राजेन्द्र ढुंगेलले निर्माणको ७० प्रतिशत काम सकिएको जानकारी दिए । २०७७ सालमा आयोजनाको सर्वे भएको थियो । २०७८ सालमा निर्माण सुरु गरिएको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
चार मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाले आगामी तीन महिनाभित्र विद्युत उत्पादन गरेर बिक्री गर्ने तयारी गरेको प्रमुख ढुंगेलले जानकारी दिएका छन् । ड्याम निर्माण र पावरहावस निर्माण सम्पन्न भइसकेको छ । हाल पाइप लाइन विस्तार गर्ने काम भइरहेको छ । वर्षाले काममा बाधा नगरे अबको तीन महिनामा काम सम्पन्न गर्ने योजना रहेको उनले बताए ।
‘लोवर लोहोरे’ मा विवाद
नौमुले गाउँपालिकामै निर्माण थालिएको लोवर लोहोरे जलविद्युत आयोजनामा भने विवादका कारण काम अघि बढ्न सकेको छैन । आयोजना प्रभावित क्षेत्रका स्थानीयको अवरोधका कारण आयोजना निर्माणमा ढिलाइ भइरहेको छ ।
२०६७ सालमा सर्वे अनुमति लिए पनि काम सुरु हुन सकेको छैन । गाउँपालिकाका अध्यक्ष सुवेदीका अनुसार बस्ती र खेतियोग्य जमिन मासिने भएका कारण स्थानीयले अवरोध गरेका थिए । पुनः उक्त आयोजनालाई अघि बढाउन विभिन्न पहल भइरहेको उनले जानकारी दिए । नागरिकको अवरोध भने कायमै रहेको छ ।
विद्युत उत्पादनको ‘पावरहब’
नौमुले गाउँपालिका विद्युत उत्पादनको पावरहब बन्दै गएको छ । कर्णाली क्षेत्रमा पहिलो पटक दैलेखबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा समेत जोडिएको छ । बेला–बेलामा विद्युत लाइन आउने र जाने गर्नाले दिक्क बनेका उपभोक्तालाई विद्युत राष्ट्रिय प्रसारण लाईनमा जडानपश्चात् नियमित सञ्चालन भइरहेको छ । गाउँमा अहिले विद्युत विस्तार र जडानको कार्य धमाधम भइरहेको गाउँपालिकाका अध्यक्ष सुवेदीले जानकारी दिए । सबै वडामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । यो वर्षभित्रै सबै टोलमा विद्युत पु¥याउने लक्ष्य राखिएको उनले बताए ।
एउटै गाउँपालिकामा चार वटा जलविद्युत आयोजना निर्माणसँगै यसले भौतिक पूर्वाधार विकासमा टेवा पु¥याएको छ । यहाँको सडक, विद्यालय, स्वास्थ्यचौकी आदि निर्माणमा समेत हाइड्रोपावरले सहयोग गरेको छ । सशस्त्र द्वन्द्वको चरम चपेटा भोगेको र भौगोलिक विकटतामा परेको दैलेखको नौमुलेमा जलविद्युत आयोजना निर्माणले स्थानीय व्यवसायमासमेत वृद्धि हुँदै गएको छ ।
प्रकाशित मितिः १९ असार २०८०, मंगलवार ०५:०५
रजनी याेगी ।