जलविद्युतमा लगानी

सुर्खेत र अछामको सिमानामा बेतन कर्णाली जलविद्युत आयोजना निर्माण हुँदैछ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । चार सय ३९ मेगावाट क्षमताको यो आयोजना निर्माण गर्न ८८ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । तर हालसम्म लगानीको स्रोत सुनिश्चित भइसकेको छैन । लगानी सुनिश्चितता नहुँदा निर्माण कार्यले तीव्रता पाउन सकेको छैन । कर्मचारी सञ्चय कोषले लगानी गर्ने सात अर्ब बजेट मात्रै सुनिश्चित भएको छ । बाँकी रकम आयोजना सुरु हुनुअघि नै सुनिश्चितता गर्नुपर्ने हुन्छ । त्यसैले अहिले प्रबद्र्धक कम्पनीले आयोजनाको लागि रकम सुनिश्चितताको पहल सुरु गरेको हो । लगानी सुनिश्चतताका लागि विभिन्न बैंकहरूसँग छलफल अघि बढाइएको छ ।

लगाानी जुटाउनका लागि विभिन्न क्षेत्रसँग छलफल र भेटघाटलाई तीव्र बनाइएको छ । विभिन्न विकास बैंकहरूसँग आयोजनाले छलफल गरिरहेको छ । कर्णालीसँग जोडिएको अर्को ठूलो जलविद्युत आयोजना हो, यो । निर्माणपूर्वको तयारी भने अन्तिम चरणमा छ । आयोजनाको मुख्य काम गर्नुअघि गर्नुपर्ने तयारी र पूर्वाधार विकासका काम सञ्चालन भइरहेका छन् । आयोजनास्थलसम्म पुग्न अछामतर्फबाट १८ किमी पहुँच सडक निर्माण कार्य पूरा भएको छ । सुर्खेत खण्डमा १४ किमीमध्ये १० किमी पूरा भएको छ । पहुँच सडक निर्माणपछि कर्णाली नदीमा बेलिब्रिज निर्माण गरिनेछ । त्यसैगरी कैलालीको सुगरखालदेखि करिब ३० किमी दूरीमा ३३ केभी प्रसारण लाइन ल्याउने प्रक्रिया अघि बढिसकेको छ । आयोजनास्थल, अतिक्रमित हुने क्षेत्र र लागत अनुमान पनि टुँगो लागेको छ । आयोजनाका लागि कर्णाली नदीमा एक सय ४० मिटर अग्लो बाँध बाँधेर सुरुङमार्फत विद्युतगृहमा पानी पु¥याइने छ । यसको जलाशयमा एक करोड २५ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ । यसरी जम्मा भएको पानी ६.६ किलोमिटर लामो हेडरेस टनेल र तीन सय ४५ मिटर लामो पेनस्टल पाइपबाट टरवाइनमा खसालिने छ । आर्थिक वर्ष २०८०÷०८१ देखि मुख्य आयोजनाको काम सुरु हुने जनाइएको छ । आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

आयोजनाको कार्य अघि बढाउन लगानी जुटाउने काम थालिएको हो । लगानीको सुनिश्चितता गरेपछि आयोजनाको ड्याम निर्माण, सुरुङ निर्माण र पावरहावस निर्माण लगायतका काम अघि बढाइने छ । वर्षात् लागेपछि भने पूर्वाधार निर्माणका काम पनि प्रभावित हुन पुगेका छन् । बाटो निर्माणका काम रोकिएका छन् । वर्षातले बाटो निर्माण, पुल निर्माण, विद्युत विस्तारका काम प्रभावित भएका हुन् ।

प्रकाशित मितिः   १८ असार २०८०, सोमबार ०८:५१