विस्तार योजनामा अलमल

सुर्खेत विमानस्थल विस्तारको योजना लामो समयदेखि चर्चा हुँदै सेलाउँदै आएको छ । पछिल्लो समय यो योजना नै ओझलेमा पर्दै गएको छ । अहिले सञ्चालनमा रहेको सुर्खेत विमानस्थलको धावनमार्ग साँघुरो छ । साँघुरो धावनमार्गका कारण ठूला जहाज सञ्चालन हुन नसकेपछि विमानस्थल स्तरोन्नतिको योजना अघि सारिएको थियो । तर उक्त योजना चर्चामै सीमित हुँदै आएको छ । विभिन्न समयमा चर्चा हुने र रोकिने गरेको छ । विनियोजन गरेको बजेटसमेत पटक–पटक फ्रिज भइसकेको छ ।

विगतमा लगातार प्रदेश र संघीय सरकारबाट विमानस्थल विस्तारका लागि बजेट छुट्याउने गरिएपनि पछिल्लो दुई वर्षदेखि भने उक्त योजना अलपत्र परेको हो । जग्गा अधिग्रहण गरेर धावनमार्ग विस्तार गर्ने योजनाबाट एक वर्षअघि मात्रै पछि हटेको कर्णाली प्रदेश सरकारले आगामी बजेटमा विमानस्थललाई प्राथमिकतामा राखेको छैन । यद्यपि, सुर्खेत विमानस्थल स्तरोन्नति गर्नका लागि संघीय सरकारसँग समन्वय र पहल गर्ने मात्रै भनिएको छ । विगतमा भने अंकसहित बजेट नै विनियोजन गर्ने गरिएको थियो । संघीय सरकारले भने सुर्खेत विमानस्थलको विकल्पमा भेरीगंगामा नयाँ विमानस्थल निर्माणका लागि अध्ययन गर्ने योजना अघि सारेको छ । संघीय सरकारले नयाँ विकल्प खोज्ने भनिरहँदा प्रदेश सरकार भने संघसँग समन्वय गर्ने भनेर पञ्छिएको छ । जसले गर्दा विमानस्थल विस्तारको योजना पछिल्लो समय ओझेल पर्ने देखिएको छ । यसअघि प्रदेश सरकारले नै विमानस्थलको विकल्प खोज्ने र सुर्खेत विमानस्थ विस्तारको काम अघि नबढाउने सर्वदलिय निर्णयसमेत गरेको थियो । स्थानीयवासीले विरोध गरेको बहाना बनाउँदै प्रदेश सरकार नै विमानस्थल स्तरोन्नति गर्ने योजनाबाट पछि हटेको हो । बरु वैकल्पिक विमानस्थल निर्माणको योजना अघि सारिएको छ । संघीय, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने भनिएको उक्त योजना रोकिएपछि अब के गर्ने भन्ने टुँगो छैन । प्रदेश सरकारले विकल्प खोज्ने भएको छ । तर कहिले, कहाँ र कसरी खोज्ने योजना सरकारसँग छैन । विकल्पमा पूर्वी सुर्खेतको भेरीगंगामा विमानस्थल बनाउने योजना चर्चामा छ ।

सुर्खेतमा ठूलो क्षमताको विमानस्थल अपरिहार्य भइसकेको छ । यसका लागि अहिले भइरहेको विमानस्थलको विस्तार सबैभन्दा उपयुक्त विकल्प हो । तर प्रभावित क्षेत्रका नागरिकलाई सहमत गराउन नसक्दा सरकार नै पछि हटेको छ । हतारमा गरिएको निर्णयले न यो विमानस्थल विस्तार हुने भयो न त तत्कालै अर्को विकल्प भेटिने नै भयो । यसले सरकारको गैरजिम्मेवारीपन पुष्टि गरेको छ । विमानस्थल विस्तारको योजना भने ओझेल पर्दै गएको छ ।

प्रकाशित मितिः   ५ असार २०८०, मंगलवार ०५:०३