सुर्खेत विमानस्थलको विकल्प: भेरीगंगामा प्रादेशिक विमानस्थल

सुर्खेत: भेरीगंगा नगरपालिकाको रामघाटमा प्रस्तावित विमानस्थलको काम अघि बढ्ने भएको छ । विमानस्थल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन (इआईए) पनि गरिसकिएको छ ।

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा पनि उक्त विमानस्थल निर्माणको योजनालाई समावेश गरेको छ । यता कर्णाली प्रदेश सरकारले पनि सुर्खेत विमानस्थलको विकल्पमा भेरीगंगामा विमानस्थल बनाउन संघीय सरकारसँग समन्वय र पहल गर्ने योजना आफ्नो आगामी बजेटमा उल्लेख गरेको छ ।

सुर्खेत विमानस्थल विस्तार हुन नसकेपछि वैकल्पिक रूपमा भेरीगंगामा अन्तर्राष्ट्रियस्तरको प्रादेशिक विमानस्थल निर्माण गर्र्ने योजना अघि सारिएको हो । विमानस्थल निर्माणका लागि पूर्व अध्ययनका काम सम्पन्न भएको भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए । उनका अनुसार विमानस्थल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनलगायतका काम सम्पन्न भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन सार्वजनिक भने भइसकेको छैन । प्रादेशिक विमानस्थलका लागि विस्तृत सम्भाव्यता अध्ययन र (इआइए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ । प्रतिवेदनका आधारमा काम अघि बढाइने उनले बताए ।

रामघाटमा २०७७ सालबाट विमानस्थल निर्माणको प्रारम्भिक प्रक्रिया अघि बढाइएको हो । नगर प्रमुख ढकालले, ‘सबैखाले अध्ययनको काम सकिएको छ । अब (इआइए) प्रतिवेदन आएलगत्तै बाँकी काम सुरु गरिने छ ।’ दुवै तहका सरकारले स्पष्ट रूपमा बजेट तोकेर काम अघि बढाउनुपर्ने उनको भनाइ छ ।

भेरीगंगा नगरपालिकाको वडा नं.६, ९, १० र ११ को बिचमा विमानस्थल बनाउन प्रस्ताव गरिएको छ । सामुदायिक वनले सहमति दिइसकेको र व्यक्तिगत जग्गासमेत नरहेको हुँदा काम गर्न सहज हुने ढकालको भनाइ छ । उनी भन्छन्, ‘मुआब्जा दिनुपर्ने छैन । अध्ययनका काम पनि सम्पन्न भए । अब संघीय र प्रदेश सरकारले बजेट तोकेर पठाउनुप¥यो ।’

पूर्वसम्भाव्यता अध्ययन अनुसार विमानस्थलमा दुई हजार सात सय मिटर लामो र ४५ मिटर चौडा धावनमार्ग निर्माण हुने जनाइएको छ । धावनमार्गमा समानान्तर दुई वटा एक हजार तीन सय ७५ मिटर लम्बाइ र ३० मिटर चौडाइको ट्याक्सी मार्ग हुनेछ । भेरीगंगा नगरपालिकाका इन्जिनियर विजयकुमार खत्रीले विमानस्थलको विस्तृत प्रतिवेदन आएपछि मात्र आधिकारिक रूपमा सबै निर्माणका काम अघि बढ्ने बताए । उनका अनुसार पूर्व अध्ययनका काम सकिएका छन् । विस्तृत प्रतिवेदनको रिपोट आएको छ ।

संघीय सरकारको मन्त्रिपरिषद् बैठकले पनि सुर्खेतको भेरीगंगामा विमानस्थल निर्माणका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको छ । योसँगै भेरीगंगा नगरपालिकामा विमानस्थल निर्माणका लागि प्रक्रिया अघि बढ्ने भएको हो ।

यता प्रदेश सरकारले समेत कर्णाली प्रदेशको दीर्घकालीन आवश्यकता परिपूर्तिका लागि भेरीगंगा नगरपालिकाको रामघाटमा प्रादेशिक विमानस्थल निर्माण कार्य अगाडि बढाउने योजना अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले उक्त कुरा उल्लेख गरेको हो । प्रादेशिक विमानस्थल निर्माणका लागि संघीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गरिने मुख्यमन्त्री राजकुमार शर्माले बताए । उनले भने, ‘विमानस्थल निर्माण कार्यका लागि संघीय सरकारसँग आवश्यक समन्वय गर्ने हो । पूर्व अध्ययनका काम भएका छन् । विस्तृत अध्ययनका काम गर्न अब सुरु हुन्छ ।’

रामघाटमा विमानस्थल निर्माण गर्ने योजना अघि बढेपछि सुर्खेत विमानस्थल विस्तारको योजना भने ओझेलमा परेको छ । प्रदेश सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच २०७८ असोज १५ गते भएको सम्झौताअनुसार सुर्खेत विमानस्थल स्तरोन्नतिका लागि करिब तीन सय मिटर जग्गा अधिग्रहण गर्नुपर्ने थियो । त्यसका लागि बजेट समेत विनियोजन भइसकेको थियो । तर प्रभाविक क्षेत्रका नागरिकसँग सहमति नजुटेपछि विस्तार योजना रोकिएको हो ।

प्रकाशित मितिः   ५ असार २०८०, मंगलवार ०५:०५