वीरेन्द्रनगरलाई नमुना सहर कसरी बनाउने ?
मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर विकासको गतिमा अगाडि बढ्दैछ । क्षेत्रीय सदरमुकाम भएर पनि वीरेन्द्रनगरको भौतिक पूर्वाधारमा अपेक्षाकृत विकास भएको छैन । यहाँको बजार अव्यवस्थित भएका कारण नगरको सुन्दरतामा नै कमी आएको छ । नगरका सडक, ढल, छाडा चौपाया, आफूखुशी जग्गा प्लटिङ्ग र गुरुयोजना कार्यान्वयन नहुँदा वीरेन्द्रनगरको स्वरूपमा परिवर्तन आउनसकेको छैन । तर हालै सम्पन्न नगर परिषद्ले वीरेन्द्रनगरलाई प्रादेशिक राजधानीको रूपमा विकास गर्ने र नमुना सहर बनाउने प्रस्ताव पारित गरेको छ । यसै विषयमा हामीले वीरेन्द्रनगरलाई कसरी नमुना सहर बनाउने ? भनेर साधेका थियौं । प्रस्तुत छ, उनीहरूको धारणा जस्ताको त्यस्तै :
नगरलाई सफा र सुन्दर बनाउने कार्य त्यति सजिलो त छैन । यो कसैले एक्लै चाहँदैमा पनि सुन्दर हुन सक्दैन । यो एउटा साझा अभियान भएका कारण पनि सबैले साथ दिन जरुरी छ । बजारमा सफा गरेर वा केही दिनको अभियान चलाएर मात्र पुग्दैन । अब पहिलो चरणमा जनचेतना अभियान सञ्चालन गर्ने र नागरिकलाई बजार क्षेत्रमा फोहोर नगर्न आग्रह गर्नुपर्दछ । त्यसपछि जसले सार्वजनिक स्थलमा फोहोर गर्दछ त्यसलाई कारबाही गर्नुका साथै सामूहिक बहिस्कार समेत गर्ने संस्कारको विकास हुन आवश्यक छ । कारबाही भएको अवस्थामा कसैले पनि उसलाई छुटाउनका लागि प्रयास गर्ने भन्दा पनि निरुत्साहित गर्नेतर्फ लाग्न जरुरी छ । -चक्रबहादुर सिंह, वीरेन्द्रनगर–६
प्रशासनिक तथा शैक्षिक केन्द्रको रूपमा रहेको वीरेन्द्रनगर भावी सङ्घीय राजधानीको रूपमा समेत चर्चामा रहेको समयमा वीरेन्द्रनगरलाई सुन्दर नगर बनाउनको लागि सम्पूर्ण नगरबासीहरू नै एकजुट भएर लाग्न जरुरी छ । हामी वीरेन्द्रनगरलाई वास्तविक रूपमा नै सङ्घीय राजधानीको रूपमा परिणत गर्न चाहन्छौं भने एक पटक यहाँको नागरिक समाज र निजी क्षेत्रले कम्मर कसेर लाग्नुपर्ने देखिन्छ । संघीय राजधानी सुन्दर नगर विना सम्भव पनि छैन । वीरेन्द्रनगरको सुन्दरता संघीयतासँग जोडिएको कारण नगरलाई सुन्दर बनाउने प्रयास पनि नगरबासीहरूकै हातमा छ ।
धर्मराज सिंह, दैलेख, हाल वीरेन्द्रनगर–६
वीरेन्दनगरलाई संघीय राजधानीसँगै सुन्दर नगर बनाउनको लागि यहाँको सरसफाइमा ध्यान दिन जरुरी छ । प्रद्रेश नम्बर ६ को राजधानी त्यसमा फोहोर व्यवस्थापन नै हुन नसके त कसरी राजधानी बनाउन सकिएला सुन्दर नगरले पनि संघीय राजधानी बनाउनमा केही मद्दत पुग्छ । वीरेन्द्रनगरको सरसफाइको अवस्थालाई राजनीतिक दल, सरोकारवाला निकाय र स्थानीयहरूले मुख्य सवालको रूपमा लिन जरुरी देखिन्छ । आफ्नो घर आँगनबाट वा व्यवसायबाट निस्केको फोहोर आफैले नै व्यवस्थापन गर्नेतर्फ हरेक व्यक्ति÷व्यवसायी सक्रिय हुने हो भने वास्तवमा हामीले चाहेको सफा र स्वच्छ वीरेन्द्रनगर बनाउन सकिन्छ । -रत्नबहादुर शाही, वीरेन्द्रनगर–१८
वास्तवमा जिल्लाको विकास र निर्माण र नगरलाई सुन्दर नगर बनाउनको लागि सुर्खेतीहरूले विगतदेखि नै आफ्नो एकता र सक्रियता प्रस्तुत गर्दै आइरहेका पनि छन् । तर, पनि जति नगरलाई सफा र स्वच्छ बनाउनुपर्ने हो त्यति भने भइसकेको अवस्था छैन । त्यसका लागि यहाँको सरोकारवाला निकाय, राजनीतिक दल, स्थानीय सम्पूर्णले नगरलाई हाम्रो भन्दा पनि प्रत्येक व्यक्तिले मेरो भन्ने भावनाका साथ सरसफाइमा लाग्न सकेमा पक्कै सुन्दर नगर बनाउन धेरै समय लाग्ने छैन । त्यसका लागि प्रत्येक घर–घरबाट सरसफाइको अभियान सुरु गर्न जरुरी छ । घर, टोल र समाज सफा भए नगर त्यसै सफा हुन्छ । -गगनबहादुर शाही, वीरेन्द्रनगर–१८
सफा र स्वच्छ वीरेन्द्रनगरका लागि पछिल्लो समयमा वीरेन्द्रनगर नगरपालिका कार्यालयले सरसफाइका कार्यक्रमहरू गर्दै आए पनि त्यसको प्रभावकारिता भने देखिन सकेको छैन । वास्तवमा वीरेन्द्रनगरको सरसफाइको अवस्थामा सुधार ल्याउनका लागि अब सरकारी र निजी क्षेत्रले आपसमा समन्वय गर्न जरुरी छ । राज्यका तर्फबाट एक्लै पनि यो अभियान सफल बनाउन असम्भव छ । यो अभियानमा निजी क्षेत्रको र आम जनताको सहभागिता गराउन सकेको अवस्थामा नगरको सरसफाइको सवालमा अपनत्व हुन्छ । यसले सबैलाई जिम्मेवार बनाउन सक्छ ।
-जनकप्रसाद अधिकारी, दैलेख हाल सुर्खेत
अब नगरको सुन्दरता कायम गर्नका लागि निजी क्षेत्रले पनि सक्रियता देखाउन जरुरी छ । यो सामाजिक अभियान भएकाले पनि सबैको सहयोग, सहकार्य र सक्रियताबाट नै अगाडि बढ्न सकिन्छ । नगर सफा हुनु भनेको सुर्खेतीको पनि प्रतिष्ठा बढ्नु
हो । राज्यले नै सफा गरी देला भन्ने भन्दा पनि नागरिकस्तरबाट पनि अब आफ्नो नगरलाई सफा र सुन्दर बनाउनका लागि एकसाथ जुट्न आवश्यक छ । आफूले उत्पादन गरेको फोहोर आफैले नै व्यवस्थापन गर्नेतर्फ हरेक व्यक्ति सक्रिय हुने हो भने वास्तवमा हामीले चाहेको सफा र स्वच्छ वीरेन्द्रनगर बनाउने अभियान सफल हुनसक्छ ।
-रीता बोहरा, वीरेन्द्रनगर–११
वीरेन्द्रनगरलाई सुन्दर नगर बनाउनको लागि नागरिकस्तरबाटै जागरूप हुन आवश्यक देखिन्छ । सरकारको भर मात्र पर्नु भन्दा पनि स्थानीयस्तरबाट तथा प्रत्यक व्यक्तिले आफूले उत्पादन गरेको फोहोर आफै व्यवस्थापन गर्न सकेको खण्डमा पनि नगरको फोहोर व्यवस्थापनमा केही सहयोग पुग्छ । अर्काे कुरा सरकारबाट सरसफाइको क्षेत्रमा आउने बजेट तथा अनुदानलाई भष्ट्राचारीहरूको हातमा पर्न नदिएर सम्बन्धित काममा लगाउन सकेको खण्डमा अबको पाँच वर्षभित्रैमा नगर उपत्यलाई सुन्दर नगर बनाउन सकिन्छ ।
-विजय सेजुवाल, राम्नाकोट–६, कालिकोट हाल सुर्खेत
वीरेन्द्रनगर नगरपालिकाको हो । पहिला नगरपालिकाले नगरको फोहोर व्यवस्थापनको लागि विशेष खालको अभियान नै सञ्चालन गर्न जरुरी छ । सरसफाइको क्षेत्रमा राजनीतिक दलहरूको पनि उत्तिकै महŒवपूर्ण भूमिका पनि रहन्छ । राजनीतिक दलहरूले आफ्नो क्षेत्र जिल्लाको सरसफाइको लागि केही कदम पनि चाल्न जरुरी छ । जिल्लामा रहेको अव्यवस्थित बसोबासले पनि नगरको सुन्दरतालाई नकारात्मक असर पारेको छ । त्यसका लागि बसोबासलाई पनि व्यवस्थित गर्न जरुरी छ ।
-बखत बिसी, वीरेन्द्रनगर–११
वीरेन्द्रनगरलाई सुन्दर नगर बनाउनको लागि यहाँका व्यवसायीहरू सक्रिय भएर आफ्नो अगाडिको फोहोरलाई मात्र व्यवस्थापन गर्न सकेको खण्डमा पनि नगर सफा र स्वच्छ राख्न सहज हुन्छ । बजार क्षेत्रको ढल निकास, नालीहरूको फोहोरलाई पनि व्यवस्थापन गर्न जरुरी छ । त्यसका लागि सरोकावाला निकाय र स्थानीय सबैको सक्रिय सहभागिताको आवश्यक छ । सरकारी पक्षबाट मात्र नभइ स्थानीय र निजी क्षेत्रबाट पनि सरसफाइको अभियान चालियो भने सरकारले गरेको काम भन्दा राम्रो र छिटो काम निजी क्षेत्रबाट हुनसक्छ । यसका लागि अब निजी क्षेत्रले आफ्नो सक्रियतालाई थप बढाउन जरुरी छ । -धिरज कोइराला, वीरेन्द्रनगर–२२
साझा बिसौनी ।