स्वरूप बदल्दै वीरेन्द्रनगर

खाल्डाखुल्डी भएका सडक । जथाभावी सडक र घर निर्माण । बजारमा बन्द भएका ढल र नाला । फोहोरको व्यवस्थापन नहुँदा दुर्गन्धित बजार क्षेत्र । छाडा चौपायाका कारण सवारी आवागमनमा पनि समस्या । दिनहुँ भइरहेको आफूखुशी जग्गा प्लटिङ्ग र भवन निर्माणका कारण समग्र नगर नै कुरूप । यो हालसम्म देखिएको मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगरको अवस्था हो ।

तर प्रादेशिक राजधानीको चर्चा बढेपछि वीरेन्द्रनगरले आफ्नो स्वरूप बदल्ने तयारी थालेको छ । प्रदेश नम्बर ६ को राजधानी बनाउने चर्चासँगै वीरेन्द्रनगरले सहर व्यवस्थापनको नयाँ ढाँचा प्रस्ताव गरेको छ । हालै सम्पन्न नगरपरिषद्बाटै नगरपालिकाले वीरेन्द्रनगरलाई आधुनिक सहरको रूपमा विकास गर्ने र व्यवस्थित सहर निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको हो । अब वीरेन्द्रनगरलाई देशकै नमुना र व्यवस्थित सहर बनाउने परिकल्पनासहित विभिन्न नीतिगत योजनाहरूसमेत पारित भएका छन् । त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको नगरपालिकाले जनाएको छ ।

वीरेन्द्रनगर प्रदेशको राजधानी हुने सम्भावना बढ्दै गएकाले अहिलेबाटै आवश्यक पूर्व तयारी थालिएको नगरपालिका कार्यालयका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए । उनका अनुसार अब वीरेन्द्रनगरलाई नयाँ ढाँचामा विकास गरिने भएको हो । नगर क्षेत्रमा हाल आफूखुशी जग्गा प्लटिङ्ग र बाटो खोल्ने कार्य भइरहेको र यसले सहरको सुन्दरतामा नै असर पुगेको भन्दै उनले जग्गाको अव्यस्थित प्लटिङ्ग र बाटो खोल्ने कार्यलाई अब निरुत्साहित गरिने बताए । यस्तै वीरेन्द्रनगरलाई व्यवस्थित सहरको रूपमा विकास गर्न अब भूकम्प प्रतिरोधी भवन निर्माण गर्न प्रेरित गर्ने र त्यसका लागि जनचेतनामूलक अभियान नै सञ्चालन गरिनेछ । अब नगरमा नयाँ भवन निर्माण गर्दा तालिम प्राप्त मिस्त्रीबाट मात्र बनाउने व्यवस्था गरिने भएको छ । नगरपालिकाले अब सरकारी तथा सार्वजनिक संस्थानका कार्यालयहरू निर्माण गर्दा अनिवार्य रूपमा नक्सा पास गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गर्ने भएको हो ।

नगरपालिका कार्यालयका वरिष्ठ इन्जिनियर जनकबहादुर शाहीले भने, ‘अब गुरुयोजना अनुसार नै नगरलाई व्यवस्थित बनाउन आवश्यक छ, त्यसका लागि नगरका सडक र भवन निर्माणमा हामी कडाइका साथ लाग्नेछौं ।’ उनले अब नगर क्षेत्रमा न्यूनतम ६ मिटर चौडाइ नभएको सडकलाई विस्तार गरिने र अतिक्रमण हटाइने बताए । साँघुरा सडकले नै नगरलाई कुरूप बनाएको उनको भनाइ छ । यस्तै नगरपालिकाले मुख्य बजार क्षेत्रभरीका सबै सडकहरू पुनर्निर्माण गर्ने भएको छ । त्यसको लागि टेण्डरको प्रक्रिया अगाडि बढाइएको भन्दै वरिष्ठ अधिकृत पौडेलले भने, ‘सहर विकासको पहिलो आधार सडक हो, हामी अब बजार क्षेत्रका सबै सडक विस्तार र कालोपत्रे गर्दैछौं । यसले पनि बजारको सुन्दरता बढाउनेछ, अब सडकमा खाल्डाखुल्डी रहने छैनन् ।’ नगरपालिकाले व्यवस्थित सहर निर्माणका लागि सरकारी भवनमा अनिवार्य रूपमा आकाशे पानी संकलनको प्रविधि जडान गर्न लगाउने, नयाँ घर निर्माण गर्दा हरेक घरले सेफ्टी ट्यांकी र दुई वटा बिरुवा रोप्न लगाउने र गुरुयोजनामा परेका सडकको लगत कट्टाको प्रक्रिया थाल्ने भएको हो ।

अर्कोतर्फ नगरपालिकाले सडक निर्माणको गुरुयोजना निर्माण गर्दै वस्ती विकासकोसमेत योजना बनाउने भएको छ । यसले नगर क्षेत्रमा बढ्दै गएको अव्यवस्थित घर बनाउने कामलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ । नगरलाई सफा र सुन्दर राख्न फोहोर व्यवस्थापनलाई प्राथमिकता दिने र ल्याण्डफिल्डसाइड तत्काल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा हाल सीसी क्यामेरा र सोलार जोडिएको र अब थप क्षेत्रमा पनि जडानका लागि पहल गरिने नगरपालिकाले जनाएको छ ।

यसले नगर क्षेत्रमा हुने अपराधमा कमी आउने र नगर नै उज्यालो देखिने पौडेलको भनाइ छ । आफूहरूले अब भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिने भन्दै उनले यो कार्यले प्रादेशिक राजधानीको पूर्वाधार निर्माणमा सहयोग पुग्ने दावी समेत गरे । नगरपालिकाले नगरलाई हरित नगरको रूपमा विकास गर्ने, सडक छेउमा बिरुवा रोप्ने, बन्द भएका बजार क्षेत्रका ढल र नाला खोल्ने, प्लाष्टिकमुक्त नगर बनाउन अभियान थाल्ने, निर्माण सामग्रीलाई सडकमा राख्न नदिने र बंगुर र राँगाकोसमेत बधशाला निर्माणका लागि पहल थाल्ने लगायतका व्यवस्थित सहर निर्माणका योजनाहरू अगाडि सारेको छ ।