महिला आर्थिक सवलीकरणमा दोष कसको ?

Sanju Paudel

‘दाइ राम्ररी काम गर्न लगाउनु है सबै कर्मचारीहरूलाई, ठूलो बाबाको छोरी मात्र छन्, पछि यो सबै सम्पति मैले नै हो पाउने…।’

केही महिनाअघि म काम विशेषले काठमाडौंको एक प्राइभेट अफिसमा जाँदा त्यसको सञ्चालकका भतिजले ठूलोबुबाको अफिसको म्यानेजरसँग गरेको संवाद हो, यो । हाम्रो समाज कता गइरहेको छ ? के सम्पत्तिमाथिको अधिकार पुरुषको मात्र हो ? घरभित्रको सम्पत्तिमाथिको अधिकार तथा नियन्त्रणमा पुरुषको मात्र हस्तक्षेप ? आर्थिक सबलीकरणको कुरा आउनेबित्तिकै हामी पुरुषलाई नै सम्झन्छौं । आखिरमा किन यस्तो सोचिन्छ ? काठमाडौं लगायतका ठूला–ठूला सहरहरूमा त तुलनात्मक रूपमा महिलाहरूको अवस्था यति कमजोर रहेको पाइन्छ भने अन्य क्षेत्रको अवस्था के होला ? झन् शिक्षा र विकासमा पछि परेको मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा महिलाहरूको अवस्थामा त धेरै नै सुधार हुन आवश्यक देखिन्छ ।

मध्यपश्चिमाञ्चल विकास क्षेत्रका जिल्लाहरू मध्ये सुर्खेत एक प्रतिनिधि जिल्लाको रूपमा लिन सकिन्छ । यो यो विकास क्षेत्रको सदरमुकाम समेत हो । सुर्खेत भित्री मधेसमा पर्ने एक जिल्ला हो । तीन वटा नगरपालिका र ४० वटा गाविस भएको सुर्खेतमा अझैं पनि महिलाहरूको भू–स्वामित्व, व्यपार व्यवसाय आदिमा पहुँच निकै कमि भएको पाइन्छ । विशेष गरी जुम्ला, कालिकोट, दैलेख, रोल्पा, रुकुम लगायतका जिल्लाका मानिसहरूको आकर्षणको केन्द्रको रूपमा सुर्खेत रहेका छ । त्यसैले पनि यस क्षेत्रमा पहाडी इलाकाबाट व्यापार गर्ने उद्देश्यका साथै सुविधा उपभोगको हिसाबले पनि ती जिल्लाहरूबाट बसाइँसराइँ गरी सुर्खेत आउनेहरूको दर बढ्दो छ । विभिन्न जाति, समुदाय आदिको बसोबास रहेको यस जिल्लामा अन्य पक्षहरू राम्रो हुँदाहुँदै पनि महिला आर्थिक सवलीकरणका सम्बन्धमा विभिन्न समस्या रहेको पाइन्छ । अशिक्षा, चेतनाको कमी, रुढीवादी चलन आदिको नकरात्मक प्रभावबाट सुर्खेत जिल्ला पनि अछुत रहन सकेको छैन । दुई÷चार दिन अगाडि सुर्खेतको मेरो एक जना पुरुष मित्रले कुराकानीका क्रममा यस्तो भनेका थिए, ‘म मेरी श्रीमतीलाई घरायसी काममा सहयोग गर्ने गर्दछु । उनीसँग घर, व्यवाहारको बारेमा सल्लाह पनि गर्दछु । मैले त्यसरी श्रीमतीलाई सहयोग गरेकोले मलाई मेरै परिवारले श्रीमतीको कुरा सुन्ने, जोइटिंगे्र भनेर अपशब्द प्रयोग गर्दा दुःख लागेर आउँछ ।’

सुर्खेतमा सम्भावनाहरू प्रचूर छन् । आर्थिक सवलीकरणको सम्भावना पनि उत्तिकै छ । यहाँ जडिबुटी, पर्यटन, कृषि, व्यापार आदिको प्रशस्त सम्भावना हुँदा–हुँदै पनि अशिक्षा, चेतनाको कमी, रुढिवादी चलन, सामाजिक–सांस्कृतिक चलनहरू लगायतका आन्तरिक कारण नै आर्थिक सवलीकरणका प्रमुख चुनौतीको रूपमा अगाडि आएको देख्न सकिन्छ । जसले गर्दा महिला आर्थिक सवलीकरणमा झनै बाधा पुगेको छ । उद्योग वाणिज्य संघ, सुर्खेतका अनुसार यहाँका तीन हजार एक सय २२ जना व्यवसायीहरू मध्ये चार सय तीन जना मात्र महिला व्यवसायी रहेका छन् । त्यसैगरी, मालपोत कार्यलय सुर्खेतका अनुसार जिल्लाको कूल जनसंख्या मध्ये करिब ३० प्रतिशत भन्दा कम महिलाहरूसँग मात्र जग्गाधनी प्रमाण–पत्र रहेको छ । यो तथ्यांकले पनि जिल्लामा महिलाहरूको आर्थिक सवलीकरणको अवस्था चित्रित गर्दछ ।

महिला र पुरुषबीच सम्पत्तिमा देखिएका अन्तरहरूका विभिन्न समाजिक–सांस्कृतिक कारणहरू छन् । श्रीमतीको नाममा जग्गा दर्ता भएमा श्रीमतीले छोडेर जाने पो हो की अथवा अर्कैसँग दोस्रो विवाह पो गर्ने हो की वा समाजले जोइटिंग्रेको उपनाम पो दिने हो की लगायतका डर, शंका तथा बाध्यताको कारण पनि पुरुषहरूले सकेसम्म आफ्नै नाममा जग्गा, जमिन दर्ता गराउने गरेको पनि पाइन्छ । त्यसको साथमा महिला सशक्तीकरणका लागि विभिन्न सरकारी कार्यक्रमहरू पनि सञ्चालन भएका छन् । जस्तै, उदाहरणका रूपमा जग्गा धनी प्रमाण–पत्र महिलाको नाममा दर्ता गरिएमा सरकारी दस्तुरमा तिर्नुपर्ने रकममा निश्चित छुट दिइन्छ । छुट पाउनकै लागि भए पनि महिलाको नाममा जग्गा धनी प्रमाणपत्र हुनु सकरात्मक प्रयासको रूपमा लिन सकिन्छ । यी र यस्ता कार्यक्रमहरू महिला सशक्तीकरणका लागि गरिएका कार्यक्रमहरूले महिलाहरूलाई अगाडि बढ्नका लागि धेरै सहयोग गरेको छ । तर त्यसरी आफ्नै नाममा जग्गा भनी प्रमाणपत्र भएता पनि त्यसको बारेमा आफैले निर्णय भने गर्न पाएको प्रयास खासै पाइदैन । श्रीमान् घर बाहिर हुदाँ महिलाहरूले नै घर, व्यवाहार, व्यवसाय आदि सबै सम्हालेका पनि पाइन्छ तर जब उनीहरूको श्रीमान् घरमा आएपछि भने घरको सबै पक्षमा श्रीमान्को नियन्त्रण भएको देखिन्छ । के महिलाहरू पुरुषको गैर हाजिरमा मात्र घरको सम्पूर्ण आर्थिक पक्षको जिम्मा लिन सक्छन्, अरु समयमा सक्दैनन् र ?

पुरुष रोजगारीका लागि सात समुन्द्रपारी जाँदा पुरुषत्व देख्ने समाज महिला रोजगारीका लागि घर बाहिर जाँदा पनि विद्रोह गर्छ । छोराले पैसा कमाउनै पर्ने सर्त राख्ने समाज छोरीको कमाइ खानु हुँदैन भन्छ । छोरी पाल्न सक्ने, राम्रो आम्दानी गर्ने ज्वाइँ खोज्ने समाज अथवा हाम्रो परिवार छोरा पाल्ने बुहारी खोज्न चाहँदैन । यदि कोही महिलाले विभिन्न क्षेत्रमा आयआर्जनको काम गरेता पनि उनले निश्चित पारिवारिक तथा सामाजिक संरचनाभित्र रहेर काम गर्नुपर्ने हुन्छ । कामको शिलशिलामा घर बाहिर जानुपरेमा पनि विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ । आखिरमा किन हुन्छ यस्तो सोचाईं ? के पैसा कमाउने, आय–आर्जन गर्ने काम पुरुषको मात्र हो ? आफू र आफ्नो परिवारको लागि महिलाले जागिर गर्दा वा कुनै पनि आय–आर्जनको काम गर्दा उनलाई हौसला दिइनुको साटो हतोत्साहित किन गरिन्छ ? घरपायक पर्ने स्थानमा जागिर गरे वाह–वाह, पायक पर्ने स्थानमा नपरे अथवा डेरा बसेर जागिर गर्नुपरेमा किन हाम्रै परिवार, समाजले विश्वास गर्दैन ? महिलाका प्रत्येक क्रियाकलापहरूलाई किन हामी यौनिकतामा नै जोडेर हेर्छौ ? कुनै महिला घर बाहिर गएर काम गर्ने बित्तिकै उनको चरित्रमै शंका गर्न कत्तिको जायज छ ? एकल महिलाहरूलाई घरबाहिर गएर वा घरमै बसेर पनि आर्थिक क्रियाकलाप गर्दा समाजले किन फरक दृष्टिकोण हेरेको पाइन्छ ? सामान्य रूपमा हेर्दा महिलाहरूको भू–स्वामित्वमा पहुँच तुलनात्मक रूपमा बढेता पनि त्यसको सही सदुपयोग भने किन हुन सकेको देखिदैंन ? महिलाको नाममा जमिन हुन्छ तर त्यसको बारेमा सही तरिकाले प्रयोग भएको भने पाइदैंन । हुन त यस्तो प्रवृत्ति पूरै नेपालमै देख्न सकिन्छ । सुर्खेत जिल्लाको अवस्था पनि त्यही नै हो । अझ यहाँको कुरा गर्दा भू–स्वामित्वमा महिलाको पहुँच एकदमै कम हुनुको लैंगिक विभेद, बहुविवाह, बालविवाह, घरेलुहिंसा आदिमा महिलाहरू प्रत्यक्ष शिकार भएको देख्न सकिन्छ ।

हुन त विगतको तुलनामा अहिले सुर्खेत जिल्लामा पनि महिलाहरूको शिक्षामा पहँच बढेको पाइन्छ, जसले गर्दा क्रमशः आय–आर्जनको क्षेत्रमा सहभागी महिलाहरूको संख्या दिन प्रतिदिन बढिरहेको पाइन्छ । वीरेन्द्रनगर तथा अन्य सहरी क्षेत्रका आसपासका क्षेत्रहरूमा तथा शिक्षित र आर्थिक सम्पन्न परिवारमा छोरा सरह छोरीलाई पनि शिक्षा तथा अवसर दिएको भएता पनि हामीले पढेको र बुझेको आधुनिक शिक्षाले हाम्रो समाजको जरा–जरामा गाडिएको रुढिवादी सोचाइमा भने पूर्णरूपमा नियन्त्रण गर्न सकेको छैन ।

सामान्य रूपमा हेर्ने हो भने पनि कुनै गाउँमा आय–आर्जन गर्ने पुरुषहरू धेरै हुन्छन् तर महिलाहरू हातको औंलामा गन्न सकिने अवस्था छ । घर, परिवार, समुदाय समाजमा पुरुषको सरह महिलाहरूले पनि अवसर पाएमा के उनीहरूले चाहिँ आर्थिक प्रगति गर्न सक्दैनन् होला र ? महिलाको सशक्तीकरणका लागि पुरुषहरूको साथमा घरकै आमा, सासु र नन्द आदिको पनि साथ र सहयोगको खाँचो पर्दछ । जब हामी आफैंले आफ्नो परिवारको महिलाले परिवारकै लागि केही गर्छु भन्दा उनको क्षमता, इच्छा, जोस, जाँगर आदिमा बन्देज लगाउँदै गयौं भने हाम्रो परिवारमा आर्थिक सम्बृद्धि कहिले आउँला ? घर, परिवार तथा समाजमा हाँसो, खुशी र सामाजिक–आर्थिक प्रगतिका लागि त महिला पुरुष दुवैको समान सहभागिता आवश्यक रहन्छ न की पुरुषको मात्र अथवा न की महिलाको मात्र…।

प्रकाशित मितिः   ९ माघ २०७३, आईतवार ११:०८