नगरको सुन्दरता

वीरेन्द्रनगर मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम हो । प्रस्तावित प्रदेश नम्बर ६ को सम्भावित राजधानी पनि । शैक्षिक तथा प्रशासनिक केन्द्रको रूपमा स्थापित वीरेन्द्रनगरको विकास र भौतिक पूर्वाधारको अवस्था भने अझै पनि कमजोर नै छ । वीरेन्द्रनगर बजार क्षेत्रकै सडकभरी खाल्डाखुल्डी छन् । जसले दुर्घटनाको जोखिम निम्त्याउँदछ । जथाभावी सडक र घर निर्माण गरिएको छ । ढल व्यवस्थापन प्रभावकारी छैन । सडकका नालीहरू भरिएर बन्द गएका छन् । फोहोरको व्यवस्थापन नहुँदा बजार क्षेत्र दुर्गन्धित हुन पुगेको छ । छाडा चौपायाका कारण सवारी आवागमनमा पनि उस्तै समस्या निम्तिएको छ । दिनहुँ भइरहेको आफूखुशी जग्गा प्लटिङ्ग र भवन निर्माणका कारण समग्र नगर नै कुरूप हुनु अर्को समस्या हो । यी त केही उदाहरण मात्रै हुन् वीरेन्द्रनगर क्षेत्रभित्र यस्ता थुप्रै समस्याहरू छन्, जसले यसको सुन्दरता र स्वरूपमा कुरूपता थपेका छन् । उल्लेखित समस्याहरूको समाधानविना वीरेन्द्रनगरलाई प्रादेशिक राजधानीको परिकल्पना गर्नु पनि उचित देखिन्न । यद्यपि पछिल्लो समय केही सुधारहरू देखा परेका छन् । प्रादेशिक राजधानी निर्माणका लागि सघाउ पुग्ने योजनाहरू निर्माण भइरहेका छन् । प्रादेशिक राजधानीको चर्चा बढेपछि वीरेन्द्रनगरले आफ्नो स्वरूप बदल्ने संकेत भने देखाएको छ ।

प्रदेश नम्बर ६ को राजधानी बनाउने चर्चासँगै वीरेन्द्रनगरले सहर व्यवस्थापनको नयाँ ढाँचा प्रस्ताव गरेको छ । हालै सम्पन्न नगरपरिषद्बाटै नगरपालिकाले वीरेन्द्रनगरलाई आधुनिक सहरको रूपमा विकास गर्ने र व्यवस्थित सहर निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको हो । अब वीरेन्द्रनगरलाई देशकै नमुना र व्यवस्थित सहर बनाउने परिकल्पनासहित विभिन्न नीतिगत योजनाहरूसमेत पारित भएका छन् । त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको नगरपालिकाले जनाएको छ । वीरेन्द्रनगर प्रदेशको राजधानी हुने सम्भावना बढ्दै गएकाले अहिलेबाटै आवश्यक पूर्व तयारी थालिएको हो । प्रादेशिक राजधानी बनाउन अब वीरेन्द्रनगरलाई नयाँ ढाँचामा विकास गर्न जरुरी भइसकेको छ । राजधानीका लागि आवश्यक पूर्वाधार निर्माण गर्नेदेखि यहाँको सरसफाइमा समेत ध्यान दिन जरुरी छ । नगर क्षेत्रमा हाल आफूखुशी जग्गा प्लटिङ्ग र बाटो खोल्ने कार्य भइरहेको छ । यसले सहरको सुन्दरतामा नै असर पुगेको छ । जग्गाको अव्यस्थित प्लटिङ्ग र बाटो खोल्ने कार्यलाई अब निरुत्साहित गरिने नगरपालिकाले जनाएको छ । यस्तै वीरेन्द्रनगरलाई व्यवस्थित सहरको रूपमा विकास गर्न अब भूकम्प प्रतिरोधी भवन निर्माण गर्न प्रेरित गर्ने र त्यसका लागि जनचेतनामूलक अभियान नै सञ्चालन गर्ने योजनामा नगरपालिका छ । अब नगरमा नयाँ भवन निर्माण गर्दा तालिम प्राप्त मिस्त्रीबाट मात्र बनाउने व्यवस्था गरिने भएको छ । नगरपालिकाले अब सरकारी तथा सार्वजनिक संस्थानका कार्यालयहरू निर्माण गर्दा अनिवार्य रूपमा नक्सा पास गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गर्ने भएको हो । नगरपालिकाले अघि सारेका यी योजनाहरू स्रहानीय र कार्यान्वयन गर्नेपर्ने खालका छन् ।

वीरेन्द्रनगर नगरपालिकाले गर्नेपर्ने अर्को काम भनेको नगरको गुरुयोजना हो । गुरुयोजना बनाएर सोही अनुसार काम अघि बढाइयो भने त्यसले नगरको विकासमा सजिलो हुनेछ । अब गुरुयोजना अनुसार नै नगरलाई व्यवस्थित बनाउन आवश्यक छ, । नगरभित्रका साँघुरा सडकलाई चौडा बनाउनेदेखि सडक नियमित मर्मत र सुधार गर्नेतर्फ पनि उत्तिकै ध्यान दिन जरुरी छ । अर्कोतर्फ नगरपालिकाले सडक निर्माणको गुरुयोजना निर्माण गर्दै वस्ती विकासको योजना बनाएर जतिसक्दो छिटो लागू गर्न पनि आवश्यक देखिन्छ । यसले नगर क्षेत्रमा बढ्दै गएको अव्यवस्थित घर बनाउने कामलाई निरुत्साहित गर्नेछ । उल्लेखित योजनाहरू कार्यान्वयनमा ल्याउने हो भने वीरेनद्रनगरको मुहार फेरिनुका साथै प्रादेशिक राजधानीका लागि आधार समेत तयार हुनेछ ।

प्रकाशित मितिः   १० माघ २०७३, सोमबार ११:३३