हचुवामा विमानस्थल चर्चा
दैलेख र जाजरकोट जिल्लामा विमानस्थल छैनन् । यद्यपि, विगत लामो समयदेखि दुवै जिल्लामा विमानस्थल निर्माणको चर्चा र छलफल चल्दै आएको छ । दैलेखमा विमानस्थल निर्माणको चर्चा हुन थालेको निकै अघिदेखि हो । जाजरकोटमा पनि पछिल्लो समय यो विषय उठिरहन्छ । तर विमानस्थल बन्ने कुरा चियागफ र दलका नेताको चुनावी नारामा मात्रै सीमित भएको छ । अरु बेला सुनसान हुने विमानस्थल निर्माणको कुरा चुनाव आएपछि मात्र हल्ला र गम्भीर विषय बन्ने गरेका छन् ।
दैलेखको महावु गाउँपालिकाको वडा नं. २ मानन्चौरमा विमानस्थल निर्माणका लागि २०४८ सालमा नै पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो । तर त्यतिबेला गरिएको अध्ययनको प्रतिवेदन हालसम्म पनि सार्वजनिक हुन सकेको छैन । महावुसहित जिल्लाका तीन स्थानीय तहका विभिन्न स्थानमा विमानस्थल निर्माणका लागि पहल थालिएपनि काम अघि बढेको छैन । नारायण नगरपालिकाको धिताहा, महावु गाउँपालिकाको मानन्चौर र दुल्लू नगरपालिकाको ठाडोलेखमा विमानस्थल निर्माण प्रारम्भिक अध्ययन र छलफल भएको थियो । यो विषय अहिले भने आझेलमा परेको छ । पछिल्ला वर्षहरूमा पनि दैलेखमा विमानस्थल बनाउनुपर्ने माग र चर्चा चलिरहन्छ । २०७३ सालमा दुल्लू नगरपालिका वडा नं. ५ को ठाडोलेखमा विमानस्थल बन्ने कुरा चर्चामा थियो । नगरपालिकाका दुई÷तीन स्थानमा विमानस्थल निर्माणका लागि भनेर सम्भाव्यता अध्ययन गर्ने कुरा गरिएको भएपनि काम अघि बढ्न सकेन । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत चासो नदिएका कारण पनि अध्ययनको काम अघि बढेन । यस्तै भैरवी गाउँपालिकाको वडा नं. १ को रातीखालमा समेत विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनको चर्चा थियो भने नारायण नगरपालिका वडा नं. ५ को धिताहामा २०६७ र २०७३ सालमा गरी दुई पटक सम्भाव्यता अध्ययन गरियो । उक्त स्थान विमानस्थल निर्माण गर्नका लागि उपयुक्त भए–नभएकोबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छैन । त्यतिबेला विमानस्थल निर्माणका लागि निकै चर्चा थियो । तर, अहिलेसम्म कुनैपनि काम अगाडि बढेको छैन ।
कर्णाली प्रदेशको अर्को जिल्ला जाजरकोटमा पनि विमानस्थल निर्माणको योजना चर्चामै सीमित हुँदै आएको छ । भेरी नगरपालिकाको वडा नं. १ वडालेखमा विमानस्थल निर्माण कुरा चलेको हो । अहिले उक्त विषय ओझेलमा परेको छ । विमानस्थल बनाउनुपर्ने चर्चा र छलफल भएपनि थप प्रक्रिया भने अघि बढ्न सकेन । जाजरकोटलाई समेत लक्षित गरेर रूकुम–पश्चिममा विमानस्थल सञ्चालन गरिएको छ । सुर्खेतमा विमानस्थल रहेकाले दैलेखमा पनि आवश्यक नपर्ने बताउने गरिएको छ । आवश्यकताका आधारमा विमानस्थलको छलफल गर्नुपर्ने हो तर चुनावी नाराका रूपमा हचुँवामा चर्चा चल्ने गरेको छ ।
प्रकाशित मितिः ४ असार २०८०, सोमबार ०५:०३
सम्पादकीय ।