‘बजेट बनाउँदा बिचौलियाको दबाब’

सुर्खेत: कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बजेट निर्माणका क्रममा बिचौलीयाहरूले चलखेलको प्रयास गरेको बताएका छन् । प्रदेशसभामा पेस गरिएको बजेटका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री सिंहले बजेट बनाउँदा सरकारी निकायकै मतहतका व्यक्तिहरूबाट बार्गेनिङ र दबाब आएको बताएका हुन् ।

मन्त्री सिंहका अनुसार प्रदेश योजना आयोगका मान्छेबाट बजेटमा दबाब र बार्गेनिङ आएको थियो । उनले आफूसँग बिचौलियाहरूका सबै प्रमाण सुरक्षित राखिएको र आवश्यक परे सार्वजनिक गर्ने दाबीसमेत गरे । ‘म कहाँ नै नआएपनि हाम्रो सचिवालयमा विभिन्न प्रकृतिका म्यासेज, टेलिफोन, विभिन्न किसिमका आग्रह, प्रलोभन र बजेट निर्माणलाई प्रभाव पार्ने धम्कीसमेत आए,’ उनले भने, ‘कतिपयले पैसा बुझ्न आउनुस् समेत भने । ती सबै कुराहरूलाई हामीले रेकर्ड गरेर राखेका छौँ । आवश्यक परे सार्वजनिक पनि गर्नेछौँ ।’

मन्त्री सिंहले आफ्नो तर्फबाट बिचौलिया रोक्ने प्रयास भएको समेत दाबी गरे । उनले योजना आयोगबाहेक अन्य सरकारी निकायमै रहेका व्यक्तिहरूबाट समेत त्यस्तो भएको र आफू कसैको प्रलोभनका नपरेको बताए । ‘केन्द्रमा अहिले चर्चित शरणार्थी प्रकरण छ, एक ठाउँमा लहरो तान्दा पहरो गएको छ, त्यही स्टाईलमै राज्यको ढुकुटीमाथि बिचौलियाको प्रवेश गर्नेहरूको पनि त्यस्तै चक्र रहेछ,’ उनले भने, ‘कोही जागिरमा आबद्ध मान्छेहरू पनि छन्, सबैलाई हामीले लिपिबद्ध गरेर राखेका छौँ । बिस्तारै कानुन, ऐन, नियम अनुसार अगाडि बढाइने छ ।’

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बराबरको वार्षिक बजेट ल्याएको छ । यो प्रदेश सरकारले ल्याएको अहिलेसम्मकै सबैभन्दा ठूलो बजेट हो ।

प्रकाशित मितिः   ४ असार २०८०, सोमबार ०५:०२