मसिनेचौर विमानस्थल सञ्चालन गर

डोल्पामा मसिनेचौर विमानस्थल निर्माण सम्पन्न भएकै एक दशक पुग्न थाल्यो । त्रिपुरासुन्दरी नगरपालिकामा २०६६ सालदेखि विमानस्थलको निर्माण सुरु गरिएको थियो । २०६८ मा निर्माण सम्पन्न भइ २०७२ मा कालोपत्रे गरिएको हो । डोल्पामा हवाई यातायातको लागि जुफाल विमानस्थलपछिको अर्को विकल्पको रूपमा रहेको मसिनेचौर विमानस्थल निर्माण गरिएको हो । निर्माण कार्य सम्पन्न भइसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ । तर अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन । समयमै निर्माण गरिए पनि सञ्चालनमा भने बेवास्ता गरिएको छ ।

निर्माण सम्पन्न भएको वर्षौसम्म विमानस्थल सञ्चालनमा नआउँदा स्थानीय नागरिक निराश बनेका छन् । जिल्लामै जुफाल विमानस्थल पनि छ । जुन नियमित सञ्चालनमा छ । तर भौगोलिक रूपमा ठूला डोल्पाका सबै नागरिकलाई जुफाल पुग्न पनि सहज छैन । त्रिपुरासुन्दरीबाट जुफाल विमानस्थल पुग्न एक दिन पैदल हिँड्नु पर्छ । सडकको सहज पहुँच पनि छैन । जसले गर्दा जिल्लाकै सबैभन्दा भरपर्दो यातायातको माध्यम हवाई सेवा लिन नागरिकलाई सहज छैन । पटक–पटक विमानस्थल सञ्चालन गर्ने भनिए पनि उक्त योजना अलपत्र पर्ने गरेको छ । यद्यपि, सञ्चालनका लागि पहल भइरहेको डोल्पाका जनप्रतिनिधिहरू बताउँछन् । डोल्पास्थित अर्को जुफाल विमानस्थल भने नियमित सञ्चालन भइरहेको छ । २०३२ सालदेखि निर्माण थालिएको विमानस्थल २०७० मा कालोपत्रे गरिएको थियो । त्यसयता विमानस्थल नियमित सञ्चालन भइरहेको छ । पाँच सय ७० मिटर धावनमार्ग रहेको विमानस्थलमा चार वटा जहाजले उडान गर्दै आइरहेका छन् । नियमित रूपमा विमानस्थल सञ्चालनमा छ । दिनमा तीन÷चार वटा विमानले आवतजावत गर्ने गरेका छन् । यद्यपि, यो विमानस्थल पनि स्तरोन्नति गर्नुपर्ने अवस्थामा पुगेको छ । विमानस्थलको केही भूभाग जमिनमा दबेको छ । दबेको भागलाई मर्मत गर्नुपर्ने देखिएको हो । जुफाल विमानस्थल पुननिर्माण गर्दा मसिनेचौर विमानस्थल सञ्चालन गर्ने योजना बनाइएको थियो । तर अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन ।

विमानस्थल ठूलो लागतमा निर्माण हुने आयोजना हुन् । निर्माण गर्नै वर्षौ लाग्छ । यसरी निर्माण भइसकेका आयोजना सञ्चालनमा बेवास्ता गरिनु राम्रो हुँदैन । निर्माण भइसकेपछि त्यसलाई नियमित सञ्चालनमा ल्याउन जरुरी छ । डोल्पाको मसिनेचौर विमानस्थल पनि प्राविधिक रूपमा निर्माण सम्पन्न भई सञ्चालनमा ल्याउनयोग्य भइसकेको हुँदा जतिसक्दो छिटो परीक्षण उडानसहित नियमित उडानको प्रबन्ध मिलाउन जरुरी देखिन्छ । यसले सडक यातायातको सहज पहुँच नभएका डोल्पानका नागरिकलाई मात्रै सहज बनाउने छैन, पर्यटन प्रवद्र्धनमा समेत योगदान दिने छ ।

प्रकाशित मितिः   १ असार २०८०, शुक्रबार १५:२९