खेलाडीलाई प्रोत्साहन
कर्णाली प्रदेशले क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । जनकपुरमा भएको महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कर्णालीले जितेको हो । पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिताको उपाधि जित्दै नेपाली क्रिकेटमा आफ्नो बलियो उपस्थिति देखाएको छ । यो उपाधिसँग कर्णालीमा क्रिकेटको भविष्य जोडिएको छ । पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गइरहेको क्रिकेट खेल क्षेत्रको विकास गर्न कर्णाली सम्भावित क्षेत्र हुनसक्ने सन्देश दिएको छ ।
विगत पाँच वर्षदेखि नै राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको कर्णालीको प्रदर्शन सधैँजसो कमजोर रहने गरेको थियो । यसअघि कर्णालीको कुनैपनि सिनियर टोलीले राष्ट्रियस्तरको प्रतियोगितामा फाइनलमा स्थान बनाउन सकेको थिएन । यू–१९ महिला टोलीले भने गतवर्ष धनगढीमा सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गरेको थियो । यसपटक भने प्रतियोगितामै उच्चस्तरको प्रदर्शनसहित फाइनल पुगेर उपाधिसमेत रक्षा गर्न सफल भएको छ । यो उपाधिले खेलाडीहरूको मनोवल बढाउन सघाउनेछ । नयाँ खेलाडीहरूलाई आकर्षित गर्नेछ भने सम्बन्धित निकायहरूलाई क्रिकेट विकासमा ध्यान दिनका लागि पनि दबाब सिर्जना गर्नेछ ।
विकासका आधारभूत पूर्वाधारमै पछि परेको कर्णालीमा खेलकुद विकासका लागि पनि आवश्यक पूर्वाधार निर्माण हुन सकेको छैन । त्यसमाथि क्रिकेटको अवस्था अझ कमजोर छ । क्रिकेटकै लागि भनेर एउटा मैदानसमेत कर्णालीमा छैन । खाली भएका चौरमा खेलेर खेलाडीहरू आफ्नो सीप र क्षमता विकास गर्दैछन् । पूर्वाधारको त अभाव छ नै गुणस्तरीय प्रशिक्षणसमेत पाउने अवस्था छैन । प्रतियोगिताहरू नियमित हुँदैनन् । खेलाडीहरूको व्यक्तिगत लगाव र मेहेनतकै बलमा राष्ट्रियस्तरका प्रतियोगितामा कर्णालीको प्रतिनिधित्व गर्ने गरेका छन् ।
कर्णालीमा क्रिकेटको प्रचूर सम्भावना छ । प्रतिभावान खेलाडीहरू उत्पादन भइरहेका छन् । व्यक्तिगत मेहेनत र लगानीमै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाएर उपाधि जित्नु आफैमा ठूलो उपलब्धि हो । तर यति हुँदा पनि कर्णालीमा आवश्यक खेल संरचनाहरू छैनन् । प्रतियोगिताहरू हुन सकेका छैनन् । आफ्नो प्रतिभा र क्षमता देखाउने अवसरबाट खेलाडी वञ्चित हुनुपरेको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । आवश्यक खेल मैदान निर्माण गर्ने, खेलाडीहरूलाई नियमित प्रशिक्षण र प्रतियोगितामा सहभागिताको अवसर जुटाइदिने जिम्मेवारी राज्यको हो । प्रदेश सरकारले गम्भिरतापूर्वक क्रिकेट विकासमा लगानी गर्न सक्नुपर्दछ । राष्ट्रियस्तरको प्रतियोगिताको उपाधि जित्नु कर्णाली प्रदेशकै गौरवको विषय हो । त्यसैले प्रदेश सरकारले तत्कालै खेलाडीहरूलाई प्रोत्साहन गर्ने कुरामा पनि कञ्जुस्याइँ गर्नु हुँदैन । उनीहरूलाई पुरस्कृत गरेर मनोबल बढाउन सक्नुपर्दछ ।
प्रकाशित मितिः २८ जेष्ठ २०८०, आईतवार ०५:०३
साझा बिसौनी ।