खोप अभियान

कर्णाली प्रदेशमा दादुरा र रूबेला रोगको संक्रमण दिनहँु बढ्दै गएको छ । राष्ट्रिय तथ्यांकअनुसार सन् २०२२ मा कर्णाली प्रदेशमा एक सय २२ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये ११ जनामा पोजेटिभ देखिएको थियो भने एक सय ११ जनामा नेगेटिभ देखिएको थियो । परीक्षण गरिएकोमध्ये आठ प्रतिशतमा संक्रमण देखिएको थियो । सन् २०२३ मा पनि आठ प्रतिशतमा दादुरा रोगको संक्रमण देखिएको छ ।

कर्णाली प्रदेशको पनि सुर्खेत अझ बढी जोखिममा छ । जिल्लामा यो वर्ष ६५ जना शंकास्पद बिरामीको चेकजाँच गर्दा पाँच जनामा दादुरा भेटिएको थियो । अझैं थुप्रै बालबालिकाहरू दादुरा–रुबेला रोगबाट ग्रसित छन् । बिरामीहरू रोग परीक्षणको दायरामा आउन सकेका छैनन् । सुर्खेतमा दादुरा रोगको संक्रमण फैलिएपछि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको छ । संक्रमण फैलिएको वीरेन्द्रनगरका नौ वटै स्थानीय तहमा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाको लक्षित जनसंख्या एक लाख ४६ हजार चार सय २२ जनालाई दादुरा र रूबेलाविरुद्धको खोप लगाउन लागिएको हो । सुर्खेतमा यहि जेठ २८ देखि असार ५ गतेसम्म दुई चरणमा दादुरा–रूबेला खोप अभियान सञ्चालन हुने भएको छ । बालबालिकालाई ‘खोज र खोप’ अभियानमार्फत दादुरा–रूबेलाको खोप लगाइने भएको हो । सुर्खेतका पाँच सय ४७ वटा खोप केन्द्रमा दादुरा खोप लगाइने भएको भएको छ । खोप लगाउनका लागि हरेक खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मी र दुई जना स्वयम्सेवक खटाइने छ । खोप सञ्चालनका लागि नौ सय ६० स्वास्थ्यकर्मी, नौ सय ६० स्वयम्सेवक खटाइनेछ । खोपका लागि १५ हजार ५२ डोज भ्याक्सीन आवश्यक पर्दछ । यस अभियान अन्तर्गत पहिलो चरणको खोप यहि जेठ २८ गतेदेखि ३२ गतेसम्म सञ्चालन गरिनेछ । पहिलो चरणमा बराहताल र चिङ्गाड गाउँपालिका तथा भेरिगंगा र लेकवेशी नगरपालिकामा सञ्चालन गरिने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जानकारी दिएको छ । त्यसैगरी दोस्रो चरणको खोप आउँदो असार १ गतेदेखि ५ गतेसम्म सञ्चालन गरिने छ । दोस्रो चरणमा वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, पञ्चपुरी नगरपालिका र गुर्भाकोट नगरपालिकामा सञ्चालन गरिनेछ ।

स्वास्थ्यकर्मीहरूका अनुसार दादुरा–रूबेला जो कोहीलाई पनि हुनसक्छ । बालबालिकादेखि वृद्धवृद्धामा समेत यो रोग देखिएकाले सजग रहन जरुरी छ । दादुराको खोप लगाइसकेका व्यक्तिलाई पनि पुनः दादुरा हुन सक्छ । त्यसैले खोप अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ । जोखिम न्युनिकरण गर्न र रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउनु नै उपयुक्त हुनेछ ।

प्रकाशित मितिः   २५ जेष्ठ २०८०, बिहीबार ०८:५३