सुनथराली विमानस्थल: निर्माण सम्पन्न, परीक्षण उडानमा अलमल
सुर्खेत: पूर्वनिर्धारित योजनाअनुसार कालीकोटको सुनथराली विमानस्थलमा गत वैशाखमै परीक्षण उडान हुनुपर्ने थियो । नयाँ वर्षकै दिन परीक्षण उडान गर्ने तयारी सहित बाँकी रहेको काम पनि तीव्र गतिमा गरिएको थियो । तर दुई महिना बित्न लागिसक्दासम्म सुनथरालीमा परीक्षण उडान हुन सकेको छैन । परीक्षण उडान नै नहुँदा विमानस्थल सञ्चालनमा थप अलमल देखिएको छ ।
विमानस्थल सञ्चालनका लागि आवश्यक निर्माणको काम सकिएको छ । यद्यपि, विविध कारण देखाउँदै परीक्षण उडान पर धकेलिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए । उनका अनुसार नेपाल वायु सेवा निगमले अहिले जहाज नभएको भन्दै परीक्षण उडान गर्न ढिलाइ गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायु सेवा निगममा बुझ्दा चित्तबुझ्दो जवाफ नआएको अध्यक्ष विष्ट बताउँछन् ।
वैशाख १ गते गर्ने भनिएको परीक्षण उडान आगामी असारमा गर्ने तयारी गरिएको बताइएको छ । कालीकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुनथराली विमानस्थलमा असारभित्रै परीक्षण उडान गरिने बताए । उनले नियमित उडान हुने गरी नै परीक्षण उडान गरिने जनाए । त्यसअघि विमानस्थल रहेको ठाउँमा नागरिकको सहज पहुँच हुनेगरी केही पूर्वाधार निर्माण गर्नुपर्ने शाहीको भनाइ छ । उनले भने, ‘कोटबाडाका नागरिकले मात्र नियमित जहाज उडान हँुदैन । सबै क्षेत्रका नागरिकले हवाई सेवा लिनका लागि पहिले केबुलकार बनाउन आवश्यक छ ।’ नियमित उडान हुने गरी सबै पूर्वाधार तयार गरेर मात्रै परीक्षण उडान गर्नु उपयुक्त हुने शाही बताउँछन् । ‘प्रधानमन्त्रीले नै विमानस्थलको उद्घाटन गर्नुहुनेछ’ उनले भने, ‘तर नियमित उडान गर्नका लागि धेरै चुनौती छन्, त्यसलाई समाधान गरेर अघि बढ्नुपर्ने हुन्छ ।’
कालीकोटबाट निर्वाचित प्रदेशसभा सदस्य दुर्गबहादुर रावतले आउँदो असारसम्म भएपनि परीक्षण उडान गर्नेगरी समन्वय भइरहेको बताए । वैशाखमा प्राविधिक काम नसकिएका कारण उडान नगरिएको भन्दै उनले संघीय पर्यटनमन्त्रीसँग आवश्यक छलफल भइरहेको बताए । उनी भन्छन् ‘परीक्षण उडान गरेर नियमित उडान गर्नेगरी तयारी भइरहेको छ । नागरिकको आवश्यकता पनि त्यही हो ।’
यता नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले वैशाख पहिलो सातामा पूर्वाधार निर्माणको काम नसकिएकाले उडान गर्न नसकिएको जनाए । विमानस्थलको सम्पूर्ण काम सम्पन्न भए परीक्षण उडान गर्न सकिने उनको भनाइ छ । पौडेलले भने, ‘वैशाख पहिलो साता विमानस्थल पूर्वतयारीका काम सकिएका थिएनन् । अहिले यसबारे कार्यालयमा नयाँ जानकारी आएको छैन । प्राविधिक टिमसँग बसेर छलफल गर्छौं ।’ विमानस्थल निर्माणको काम सम्पन्न भए परीक्षण उडान गर्न सकिने उनको भनाइ छ ।
विमानस्थल निर्माणमा खटिएका आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले भने परीक्षण उडानका लागि प्राविधिक समस्या नरहेको बताउँछन् । विमानस्थल निर्माणको काम सम्पन्न भएकाले परीक्षण उडान गर्न सकिने उनले बताए । पूर्वाधार निर्माणको काम सकिएको प्रतिवेदन सम्बन्धित ठाउँमा बुझाइ सकिएको समेत श्रेष्ठले जानकारी दिए । आयोजना प्रमुख श्रेष्ठका अनुसार परीक्षण उडान गर्नका लागि तयारी पूरा भएको छ । परीक्षण उडानबाट सञ्चार, कन्ट्रोल टावरसहित विमानस्थलमा जडित उडान–उपकरणहरूले काम गरे–नगरेको पत्ता लाग्नेछ । यस्तो फ्लाइटमा विज्ञहरू सहभागी हुन्छन् । कम्युनिकेशन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण सफल भएपछि जहाज उडान÷अवतरणको बाटो खुल्ने उनले बताए । परीक्षण उडान सफल भएपछि मात्र नागरिक उड्डयन संगठनबाट मान्यताप्राप्त रूट स्थापित गर्नुपर्ने हुन्छ । रूट प्रकाशित भइसकेपछि भने व्यावसायिक उडानको बाटो खुल्नेछ । परीक्षण उडान सफल भएपछि मात्र ‘आयोजनाको काम सम्पन्न भयो’ भन्न सकिने उनले बताए ।
कस्तो बन्यो विमानस्थल ?
जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडामा विमानस्थल निर्माण गरिएको छ । गएको माघ ११ गते विमानस्थलको मुख्य काम सकिएको थियो । आयोजना प्रमुख श्रेष्ठका अनुसार ६ सय ४० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको धावनमार्ग तयार भएको छ । त्यसैगरी पाँच सय २५ वर्गमिटरमा धावनमार्गको टर्निङ प्याड निर्माण गरिएको श्रेष्ठले जानकारी दिए ।
यस्तै ट्याक्सीवेको लम्बाई २५ मिटर र चौडाई २० मिटर छ । ७० मिटर लम्बाई र ३० मिटर चौडाइमा विमानको पार्किङ क्षेत्र बनाइएको छ । विमानस्थलमा दुवैतर्फबाट जहाज अवतरण गर्न सक्नेगरी निर्माण गरिएको श्रेष्ठले जानकारी दिए । १४ करोड ९३ लाख पाँच हजार दुई सय ३० रूपैयाँ लागतमा निर्माणको काम सकिएको हो । प्राविधिक कारणले परीक्षण उडान सफल भए कालीकोटवासीलाई सुर्खेत, नेपालगञ्ज पुग्नुपर्ने बाध्यता हट्ने छ ।
२०४२ सालदेखि विमानस्थल निर्माणको योजना अघि बढेको थियो । स्थानीय नागरिकको पहलमा त्यतिबेला तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम सुरु गरिएको हो । त्यसको ६ वर्षपछि २०४८ मा मात्रै सरकारले सुनथराली विमानस्थललाई आफ्नो योजनामा राखेर बजेट विनियोजन गरेको थियो । सरकारको योजनामा परेपनि निर्माणको काम भने नियमित हुन सकेन । बिचमा द्वन्द्वका कारण पनि विमानस्थल निर्माण कार्य अवरुद्ध भयो भने द्वन्द्वपछि पनि बिचमै अलपत्र छोड्दा लामो समयसम्म विमानस्थल सञ्चालन हुन नसकेको हो । ३७ वर्षपछि विमानस्थलका लागि पूर्वाधार तयार भएको छ ।
प्रकाशित मितिः २५ जेष्ठ २०८०, बिहीबार ०८:५२
रजनी याेगी ।