विश्वासले बँधिएको जोडी

jeevansathi photoभनिन्छ मान्छेले देखेको सबै सपना पूरा हुँदैन । तर, जुन सपनाले निदाउन दिँदैन त्यो सपना अवश्य पनि पूरा हुन्छ । दुःख मेहेनत र एउटै सपना एउटै लक्ष्य लिएर अगाडि बढे पक्कै सफल भइन्छ । यस्तै लालबहादुर जीएम (घर्ती मगर) ले बाल्यकालदेखि देखेको सपना पनि पूरा भएको छ । बाल्यकालमा उनले सामाजिक सेवा गर्ने र गरिबी न्यूनीकरणका क्षेत्रमा काम गर्ने उनको सपना पूरा भएको छ । अहिले उनी सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) सुर्खेतमा गरिबी निवारण कोष कार्यक्रम संयोजकको रूपमा काम गरिरहेका छन् ।
पिता नरबहादुर घर्ती मगर र माता खगीसरा घर्ती मगरको कोखबाट २०३६ सालमा लेखपराजुलमा जन्मिएका लालबहादुर जीएम (घर्ती मगर) को बाल्यकाल सुखद्सँगै बित्यो । बाल्यकालमा पढाइको शिलशिलामा उनी घरदेखि नै बाहिर नै बस्नुप¥यो । बाल्यकालमा उनी अलि बढी नै जिज्ञाशु स्वभावका थिए । कुनै नयाँ काम वा कुरामा आफ्नो विचार राख्ने तथा अरुसँग नबुझेको कुरा सोधी हाल्ने स्वभाव थियो ।
पढाइसँगै उनले दुई वर्ष नेराप्रावि लेखपराजुलको थरमुसेमा पनि अध्यापन गराए । पछि उनले शिक्षक पेशा छोडेर गैरसरकारी संघ–संस्थामा आवद्ध भए । लालबहादुरको बाल्यकालको सपना थियो कि भविष्यमा गएर समाज सेवा गर्छु । सबैै सबैले देखेके सपना पूरा हुन सक्दैन तर, लालबहादुरले देखेको सपना भने पूरा भयो । बाल्यकालमा देखेको सपना सबैको पूरा हुन गाह्रो छ । लालबहादुरलाइ पनि सरुमा आफूले देखेको सपना पूरा गर्नसक्छु जस्तो पनि लागेको थिएन ।
घरको जेठो छोरा भएका कारण पनि घर व्यवहार पनि उनीमा नै थपिदै गएको थियो । घरबाट पनि अब छोराको विवाह गर्नुपर्छ भन्ने कुरा चल्दै थियो । लालबहादुरले पनि विवाह गर्ने सोच बनाएका थिए । जीवनमा विवाह एकपटक गरिन्छ त्यसैले सोच विचार गरेर नै विवाह गर्नुपर्छ भन्ने उनलाई थाहा नै थियो । विवाह गर्दा आफ्नो मात्र रोजाइ नभएर परिवारको पनि विचार बुझ्न पर्छ भन्ने सोचाइले गर्दा पनि लालबहादुरले बुबाले मन पराएको र राम्रो मानेको केटीसँग नै विवाह गर्ने निर्णय गरे । लालबहादुरले विवाह गर्ने भनेर कुरा चलेको केटी अरु कोही नभएर निर्मला थिइन् ।
उता निर्मलाले पनि लालबहादुरलाई बाल्यकालदेखि नै मन पराउँथिन् । त्यति बेलाको जमानामा केटीले मन पराए पनि केटासँग म तिमीलाई मन पराउँछु भन्ने आँट पनि हुन्थेन । त्यस्तो भन्यो भने पनि केटीलाई अलि नकारात्मक रूपमा हेर्ने भएकाले निर्मलाले लालबहादुरलाई भन्न सकिनन् । लालबहादुरले निर्मलासँग विवाह गर्छु भन्दा निर्मलालाई त्यतिबेला ढुङ्गा खोज्दा देउता भेटे जस्तै भएको थियो । आफूले बाल्यकालदेखि मन पराएको मान्छेले नै आफूसँग विवाहको कुरा गर्दा त्यो भन्दा जीवनमा अरु सुखीको क्षण कहिल्यै आउन सक्दैन । त्यस्तै निर्मलाको जीवनमा लालबहादुरले विवाहको कुरा गर्दा नै अविष्मणीय सुखीको क्षण नै हो ।
घरदेखि नै विवाहको कुरा चले पनि लालबहादुरले निर्मलालाई मागेर होइन भगाएर विवाह गरे । उनीहरूले २०५५ सालमा भागी विवाह गरे । बाल्यकालदेखि नै उनीहरू दुवैले एकअर्काेलाई बाल्यकालदेखि नै चिनजान थियो तर, पछि यसरी विवाह नै होला भन्ने कुरा भने सोचेका थिएनन् । उनीहरू भन्छन्, हामी दुवैले एकअर्काेलाई बाल्यकालदेखि नै चिन्थेउ तर, बोलचाल भएको थिएन यसरी विवाह नै होला भनेर सोचेका पनि थिएनौं ।
पिता रणबहादुर घर्ती र माता दिलमाया घर्तीको कोखबाट २०३६ सालमा लेखपराजुल–३ थरमुसेमा जन्मिएकी निर्मलाको बाल्यकाल सुखद्सँगै बित्यो । गाउँ भएको घरको काम त उनले बाल्यकालदेखि नै गर्नुप¥यो । बाल्यकालमा धेरै कसैसँग नबोल्ने स्वभाव उनको थियो । लाज मान्ने भएकाले पनि उनी धेरै अरुसँग बोल्दैन थिइन् । विवाहपछि छोरी र बुहारी हुनुको फरक अनुभव उनले गरिन् । छोरी भए पछि पराई घरलाई आफ्नो ठान्नुपर्ने र जन्मघरलाई पराइ बनाउँदै टाढिनुपर्ने बाध्यता निर्मलाको मात्र होइन सबै छोरीहरूको बाधयता हो । जन्मघरसँगको नातालाई पराई बनाउँदै बाँकी सम्पूर्ण जिन्दगीलाई पराइ घरमा समर्पित गर्न पर्ने बाध्यता सबै छोरीहरूको हो । घरकी जेठी बुहारी घरको सम्पूर्ण कामको जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था थियो । विवाहपछि उनले रोकेको नौं कक्षाको पढाइलाई घरको काम सँगसँगै अगाडि बढाएर विवाह पछि एसएलसी पास गरिन् ।
गाउँमा त्यसमा पनि बुहारी भए पछि घरको सम्पूर्ण काम गर्नुपर्ने । झन् लेखपराजुलमा खानेपानीको समस्या थियो । निर्मला बिहानै चार बजे उठेर एक घण्टा हिँडेर खानेपानी लिन जानुपथ्र्याे । दुःख र संघर्ष बीचमा पनि निर्मलाले परिवारको मन जितेर एउटा असल बुहारीको रूपमा आफूलाई स्थापित पनि गराउन सफल भइन् ।
विवाह पछि यो जोडीको झगडा कहिल्यै भएन । दुवै जनामा विश्वास र समझदारी भए पछि झगडा नहुँने उनीहरूको भनाइ छ । जब एकअर्काे बीचमा विश्वास हुँदैन र शंका उपशंकाहरू उत्पन्न हन्छन् त्यो सम्बन्ध धेरै समय टिक्न नसक्ने उनीहरू बताउँछन् । सम्बन्ध दिगो बनाउन र एकअर्काेसँगको विश्वास कायम गर्न जरुरी रहेको यो जोडीको भनाइ छ । लालबहादुरलाई निर्मलाको खाना मिठो पकाउने बानी मनपर्ने गर्छ । त्यस्तै निर्मलालाई लालबहादुर मदिरा केही पनि सेवन नगर्ने बानी मनपर्ने गर्छ । उनीहरूका अनुसार दाम्पत्य जीवनलाई सफल बनाउनको लागि एकअर्काेको भावना राम्रोसँग बुझाउनु र बुझ्न जरुरी हुन्छ । यो जोडी भन्छन्, जीवन भनेको दुई दिनको हो, यसलाई हामीले बाँचन्जेलसम्म सबैको नजरमा राम्रो बन्न सक्नुपर्छ । जीवन भनेको संघर्ष हो । जीवनलाई फूल बनाउने की काँडा बनाउने भन्ने कुरा स्वयम् व्यक्तिको नै भएकाले जीवनलाई कसैको नजरमा नराम्रो होइन राम्रो बन्न सक्नुपर्छ । जीवनमा सामाजिक सेवामा लगाउनु सकेमा झन राम्रो हुने उनीहरूको भनाइ छ ।
उनीहरूका अनुसार जीवनसाथी भनेको एक रथका दुई पांग्रा हुन् । एकले अर्काेलाई जीवनको अन्त्यसम्म साथ दिनसक्ने साथी जीवनसाथी हो । जुन कुरा अरु कसैसँग बोल्न र भन्न सकिदंैन त्यो कुरा जीवनसाथीसँग शेयर गर्न सकिन्छ । त्यो नै जीवनसाथी हो । एकअर्काेको दुःखसुख विसाउने चौतारी नै जीवनसाथी नै हो । यो जोडी भन्छन्, विवाह र प्रेममा फरक रहेको छ । प्रेम सबैले सबैलाई गर्न सकिन्छ । तर, विवाह एक जनासँग मात्र गरिन्छ । प्रेमपछि विवाह नहुन पनि सक्छ तर, विवाह पछि प्रेम हुन जरुरी छ । विवाह पछिको प्रेम भएन भने त्यो दाम्पत्य जीवन सफल हुन सक्दैन ।

प्रस्तुतीः गीता थापा

प्रकाशित मितिः   ८ माघ २०७३, शनिबार १७:१५