नियती

katha imgमिनादेवीको मन आज हिउँदे आकाशमा लागेको तुवाँलोझैं भएको छ । धुम्म र उराठ उराठ । उनी चिसो ओछ्यानमा एकतमासले सुँकसुँकाइरहेकी छन् । जसै रात छिप्पिदै जान्छ मनको घाउ झनझन चह्रयाउँछ ।
अतितका यादहरू चलचित्रका रिलझैं आँखा वरिपरी फनफनी नाचिरहे । उनको मुटु पग्लिएर आँखाबाट चुहिरह्यो ।
अबेर उठेर अगेनाछेउ टुक्रूक्क बसिन । धुवाँ पुत्ताएर सास फुल्यो । एकतमासले खोकिरहिन । रातको सन्नाटा चिर्दै निस्केको उनको आवाज मझेरीमा ठोक्कियो । कैले कुकुर गाँउनै थर्किने गरी जोडजोडले भुक्न थाल्यो । टाउको तन्काएर पिंढीतिर हेरिन । अनि बिस्तारै बोलाइन ‘कैले, च्यो च्यो आइज । दुधभात खालास ।’
उनको ममता उम्लिएर गला अबरुद्ध भयो । बोल्न सकिनन् । कैले उनको आङमा आएर लडिबुडी गर्न थाल्यो । मायाले सुम्सुम्याइन अनि मैलो पछ्यौराको फेरले आँसु पुछिन ।

मिनादेवीको बिहे हुँदा हरिहर उन्नाइसका थिए, उनी भर्खर सत्र वर्षमा हिँड्दै थिइन् । उनीहरूको जोडी परिवारकै सहमतिमै बाँधिएको थियो । पञ्चेबाजा बजाएरै मिनादेवीलाई कन्यादान गरिदिएका थिए उनका बाबाले । बिहे गर्ने मनै नभए पनि जसको गोडा धोएर दिए उसैको पछिपछि जानै त पथ्र्यो । जमाना त्यस्तै त थिए । मारे पाप पाले पूण्य भनि माईतीले हरिहरको हातमा उनको हात थमाइदिँदा उनको भक्कानो फुटेको थियो, त्यतिबेला । संवेदनाका बाढिले बगाएर निस्सासिएको थियो कपासजस्तो उनको मन । जिन्दगी अनिश्चितताको भूमरीमा कतै हराएको थियो । उनी केही बोलिनन् । मात्र रोइरहीन, मनका सारा पीडा कतै छातिभित्र दबाएर ।
छोरीचेलीले पढ्ने लेख्ने जमाना थिएन, त्यो । यस्तै नियतीमा हुर्किन मिनादेवी पनि । घाँसपात, चुलो चौको गर्दै बालापन बिते । गृहस्थिमा फसिन । घरपरिवारको चाकरी गर्दै जिन्दगीको नयाँ अध्याय सुरू भयो ।
हरिहर एक्ला छोरा थिए, कृष्णप्रसादको । उनका चार दिदी बहिनी उमेरमै घरबारे भए । आमा अकालमै बितिन । बुबाले अर्की दुलही भिœयाए । दुःख पाएकी लाटी बाहुनी उनकी नयाँ दुलही बन्न आएकी
थिइन । मिनादेवी उनकी बुहारी ।
जसोतसो घर गरेर खाएका थिए । खेतिकिसानी मेलापात । सबै मिलेर बसेकै थिए । एउटा छानोमा ओतिएर । एउटै मानोको खाएर ।
बुढा, कृष्णप्रसाद आँगनको डिलमा बसेर हुक्का तानिरहन्थे । फलैंचामा घोप्टिएर कहिले काहीँ पूराना दिनहरू सम्झिन्थे । बुढालाई दमको रोगले
सताइरहन्थ्यो । पुसको एक साता उनलाई रोगले नराम्ररी अँठ्यायो । उनले पनि परलोकको बाटो रोजे ।
हिउँद सकियो, वसन्त लाग्यो । मौसम फेरियो । रुखले पालुवा फेरे । संसार नै हराभरा थियो । तर बिचरा बुढी बाहुनीको मन किन किन भित्रभित्रै उजाड उजाड भयो । जिन्दगीले रंग फे¥यो । उनी आफैंलाई एक्लो महसुस गर्न थालिन, कृष्णप्रसादको साथ बिना । बुढेसकालको माया ।
बजैको शरीर सुकेर हाडछाला मात्रै बाँकी रहे । खान पिउन छाडिन । रोगले गाल्दै लग्यो । मिनादेविले उनको हेरविचारमा कुनै कसर बाँकी राखेकी
थिइनन् । आफ्नै आमालाई झैं व्यवहार गर्थिन् । उनी पनि त सानैमा आमा बितेकी टुहुरी थिइन् ।
रोगी बाहुनीको दिनरात सेवा सुसार गरिन । बुढा बितेको केहि महिनापछि एकसाँझ बाहुनीको पनि चोला उठ्यो । हरिले नै दागबत्ती दिए । कहाँको जन्म । कहाँको कर्म । अनि कहाँको मरण । कठै ! आईमाईको जीन्दगी । सबै कुरा सम्झेर मिनादेवीको मन एकतमासको भयो ।
समय कहाँ संधै एकनासको हुँदो रहेछ र । सधैं उतारचढाव । सुख दुःख । हाँसो आँसु । यस्तै यस्तै । जिन्दगी यसैको अर्को स्वरूप त रहेछ नि । अनि हामि यही समयका कमारा कमारी । मिनादेवी यस्तै सोच्थिन् । तर सधैं उनले सोचेको जत्तिकै पनि भएन । जे थियो नसोचेकै थियो । अनि अति पीडादायी । सायद त्यो पीडा सामान्यभन्दा धेरै माथिको थियो ।
उनको मुटुमा एउटा सुल गढेको छ । विस्तारै पाक्न थाल्यो । आजभोलि त चरचरी पिप बग्न थालेको छ । असह्य हुन्छ । कसरी सहुन विचरा, कोमल मनकी उनी । तर सहन कोसिस अहोरात्र गरिरहेकी हुन्छिन् ।
रात छिप्पिसकेछ । कैले कुकुर जिब्रो तानेर फ्याँ फ्याँ गर्दै उनको अनुहारतिर हेरिरहेकै थियो । मनमनले सोचिन विचरा भोकायो होला । भात भर्सिएर भट्टिमाथी राखिन । हलुङ्गेको थालमा भात र दुध हालेर कैलेतीर सारिदिइन् ।
उनले आफूलाई पनि भात पस्किइन् । मन नलागी नलागि गाँस टिप्न थालिन् । सास धान्नु त थियो जसोतसो । बितेका पलहरू सम्झेर रुनु र मर्नु एउटै त रहेछ । उनि बाँचेर पनि पलपल मरिरहन्छिन् । पटकपटक । दैवको लिला पनि अपरम्पार छ ।
बिहे भएको कयौं वर्ष बिते । हरिहर र मीनादेवी लोग्ने स्वास्नी त थिए । तर बाआमा बन्ने दिन कहिल्यै आएन । उनीहरूका सन्तान भएनन् ।
एउटा दम्पतीको अगाडि संसारका हजारौं हजार दुःख भन्दा यो दुःख अति नै पीडादायी हुँदोरहेछ । भोगेपछि यस्तै महसुस गरे उनीहरूले । अनिदा रात बोकेर कयौं प्रहर छटपटाएर बिते । ईश्वर पुकारे । तर दैवले उनीहरूको चित्कार सुनेनन् ।
गाउँसमाजमा कुरा काट्नेहरूको कमी थिएन । बचनका तिरले रेटेर त्यसैमा नुन चुक छर्किदिन्थे । पीडाले उनका आँखा कहिल्यै ओभाना भएनन् । पतिको अंगालोमा पत्र–पत्र भएर छताछुल्ल हुन्थिन उनी । पतिदेवको प्रिय अंगालोको स्पर्शले पनि उनलाई न्यानो बनाउन सकेन । बरू भतभत पोलिरहन्थ्यो भर्भराउँदो आगो बनेर ।
एकैछिनमा मिनादेवी मैनझैं पग्लिन्थिन अनि हरिहरमा एकाकार हुन्थिन् । हरिहर उनको धड्कनको चाल सुनेर विचलित हुन्थे । आधा रात एवम् रितले बित्थ्यो । अनि उनीहरू निद्रादेवीको काखमा लुटपुटिन्थे । धेरै थोक भएर पनि केही नभए जस्तै, सबै भएर पनि कोही नभए जस्ता असहाय प्राणी भए उनीहरू । एक अर्काको अनुहार हेरेर ग्लानीले ग्रसित हुन्थे । समय धिमा गतिमा चलिरह्यो । तर उनीहरूको जिन्दगी एकनासले चलेन । अविरल बग्ने भेरी नदीका छालझैं, धेरै कुरा बदलिए । गाउँ बदलियो । गाउँलेहरूले नजर पनि बदलियो ।
उनीहरूका बचेका खुशीहरू धेरै दुःखमा अनुवाद हुँदै गए । यस अवधिमा हरिहरको कान भर्ने धेरै जन्मे । सजिलै भनिदिन्थे ‘अर्की ल्या ।’
तर अरूले मुखले भनेझैं सजिलो थिएन । हरिहरको मनको के थियो उनैलाई थियो । खै किन किन उनले अर्को बिहे गर्ने निर्णय लिन सकेनन् । मीनादेवीप्रति उनको यो ठूलो त्याग थियो सायद । बरू झारफुक औषधि मुलो गर्न १० देश डुले । सक्दो गरे । तर उनीहरूको केही बस चलेन । उदास ढुकुरका जोडी रित्तो गुँड रूँघेर बसिरहे वर्षौसम्म ।
वर्षात्को समय । एकनासको झरीले वातावरण एकदमै भयानक हुँदै थियो । कालो बादलले आकाशमा साम्राज्य जमाएको हुन्छ । साउनको महिना हरिहर कोदालो बोकेर घरबाट निस्कन्छन् । उनलाई कैले कुकुरले पछ्याउँछ । जर्ते खोलाको पाखोमा उनीहरूको खेत थियो । भेल खेतमा पसेर बीऊ मास्थ्यो । त्यसैले भेल तर्काउन भनि उनी सबेरै हिँडेका थिए । मीनादेवीले खाना पकाइवरी मेलामा निस्किन्छिन् । झरी थामिएको थिएन । आकाश एकनासले गर्जिरहेको हुन्छ । जर्ते खोलो सारा संसारै थर्काएर एकनाशले गर्जिरहेको
थियो । उनका पाइला हतार हतार अगाडि बढ्छन् ।
खेतमा हरिहर थिएनन् । उनको मनमा चिसो पस्यो । परपर बगर अनि फाँटसम्म नजर बिछ्याएर हरिहरलाई खोजिन् । अँह कतै देखिनन् । कैले कुकुर खोलाको किनारामा तल माथि कुदेको देखिन । उनी पनि दौडिदै त्यहिँ पुगिन । बगरमा कोदाली मात्र थियो तर हरिहर कतै थिएनन् । उनको चित्कार सुनेर खोलाको बगरमा बसेका चराहरू पनि भुर्र भुर्र उडे । उनको चित्कार पनि त्यही खोलाले निलेर एकनास सुसाइरह्यो । हरिहर कतै सुन्यतामा एकाकार भए ।
मीनादेवी एक्लै भइन् । त्यही जर्ते खोलाको बगरजस्तै । त्यस दिनदेखि मीनादेवीका गह कहिल्यै ओभाएनन् । अधबैसे थिइन् । अहिले बुढेसकालले छोप्यो । माईती घर पनि धेरै बिरानो भएको थियो
अब । त्यो घरमा न माया गर्ने आमा थिइन् न उनको पक्षमा बोल्ने बाबा । भदा भदैनी पनि बिहे गर्ने लाठे भइसकेका थिए । सधैं माईतीको पासो बन्न सकिनन् । बगरको ढुँगो बनेर त्यहि जर्ते खोलामा हेलिन पनि सकिनन् । स्वास्नी नभएका एक दुई जना उनलाई साथ हिँड भनेर पनि आएका थिए । सोचिन आजसम्म जतिसम्म जिन्दगी बाँचे पुग्यो । जसको लागि सारा जिन्दगी सुम्पे उसैले छोडेर गए । यति दुःख पाएँ । अब किन अरू दुःख बेसाउँ । दृढ मनले अठोट लिइन् । अब एक्लै बाँच्छु । उनले त्यति नै बेला कृष्णप्रसाकी कान्छी बुढी आफ्नै सासुलाई सम्झिन अनि आफ्नै नियतीसँग दाँजिन । मनमनै फेरि भनिन, ‘कठै ! हामी आइमाईको जुनी ।’

प्रकाशित मितिः   ८ माघ २०७३, शनिबार १७:०९