दैलेखमा संक्रमण फैलिँदै

साझा बिसौनी संवाददाता
दैलेख, ४ फागुन ।
दैलेखमा दुई जना शिशुको ज्यान जाने गरी फैलिएको रोगको संक्रमण अन्य स्थानमा समेत फैलिन थालेको छ । चारदिन अघि स्थानीय बालबालिकाहरूमा देखापरेको सो रोगको अहिलेसम्म पहिचान हुन सकेको छैन । रोगको पहिचान नहुँदा सुरुमा जिल्लाको तोलीजैसी गाविसमा देखिएको संक्रमण विस्तारै छिमेकी गाविसहरूमा समेत फैलिएको छ । 
गत शनिवार रातीबाट स्थानीय बालबालिकाहरूमा एकाएक देखा परेको यो रोगबाट अहिले दर्जनौं बालबालिकाहरू बिरामी भएका छन् । सुरुवातमा तोलीजैसीमा देखिएको रोगको संक्रमण अहिले छिमेकी गाविसहरू लकान्द्रा, विशल्ला, चामुण्डा र सात्तल्लामा समेत फैलिएको छ । यो रोगको संक्रमणबाट अहिले ती गाविसमा दुई दर्जन बढी बालबालिकाहरू बिरामी भएका छन् । उनीहरू मध्ये केहीको जिल्लामा उपचार हुन नसकेपछि सुर्खेत र नेपालगन्ज रिफर गरिएको छ । 
रोगको पहिचान नभएपछि स्थानीय बासिन्दाहरू थप त्रसित भएका छन् । उपचारमा संलग्न वास्थ्यकर्मीहरूले रोगको पहिचान गर्न नसके पनि आफूहरूले शंका र अनुमानको आधारमा उपचार गरिरहेको बताएका छन् । यसअघि झाडापखालाको संक्रमण भनिए पनि बालबालिकाहरूमा मात्र संक्रमण देखिएपछि स्वास्थ्यकर्मीहरू थप दोधारमा परेका छन् । बालबालिकाहरूमा सुरुमा पखाला लाग्ने, वान्ता हुने र निमोनियाको जस्तो लक्षणहरू देखा पर्ने गरेको स्थानीयले बताए । झाडापखालाको आशंकामा उपचार गरिएको भए पनि रोग नियन्त्रण गर्न सम्भव नभएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । प्रभावित क्षेत्रमा रहेका स्वास्थकर्मीहरूले संक्रमणका कारण बिरामी भएका बालबालिकाहरू उपचारका लागि आउने क्रम जारी रहेको बताएका छन् । 
संक्रमण फैलिएको चार दिन बितिसक्दा समेत रोगको पहिचान हुन नसकेपछि मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले रोगको पहिचान गर्न भन्दै चिकित्सकको एक टोली त्यसतर्फ खटाएको छ । रोगको पहिचान गर्न रोग नियन्त्रण महाशाखाबाट विज्ञसहितको टोली काठमाडौंबाट मंगलवार हिँडेको भन्दै निर्देशनालयले बुधवार मात्र उक्त टोली प्रभावित क्षेत्रमा पुग्ने जानकारी दिएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटेलले रोगको पहिचान हुन नसकेको भन्दै मौसम परिवर्तन हुन लागेकाले मौसमी संक्रमण भएको हुन सक्ने बताए ।
प्रकाशित मितिः   ५ फाल्गुन २०७२, बुधबार १०:३७