पचास वर्षपछि जंगलबाट उद्धार

अस्पतालमा उपचार हुँदै, कुकुर सम्झेर रुन्छिन् शितली, काठमाडौं लैजाने तयारी
साझा बिसौनी संवाददाता
सुर्खेत, ४ फागुन ।
किशोरावस्थामा नै उनलाई कुष्ठरोगको संक्रमण भयो । पूर्वजन्मको पाप भन्दै आफ्नै परिवारले नै हेंला ग¥यो । परिवारले नै साथ नदिएपछि उनलाई गाउँ निकाला गरियो । नजिक हुँदा र छुँदा रोग सर्ने भन्दै सबैले घृणा गरेपछि उनी गाउँदेखि टाढा रहेको जंगलमा बस्न बाध्य भइन् । अन्धविश्वास र अशिक्षाको चपेटामा परेकी जाजरकोट पैंक निवासी शितली कामीले जीवनका ५० बसन्तहरू जंगलमा एक्लै कष्टकर रूपमा बिताइन् । १५ वर्षको उमेरदेखि नै जंगल र ओडारमा बस्दै आएकी ६५ वर्षीया शितलीको ५० वर्षपछि मात्र उद्धार गरिएको छ ।
कुष्ठरोगले थला परेकी उनको समयमा नै उपचार नहुँदा हात र खुट्टाका औंलाहरू झरिसकेका 
छन् । अहिले उनी राम्रोसँग हिँड्डुल गर्न नसक्ने अवस्थामा छिन् । जंगलमा एक्लै कष्टकर जीवन बिताउँदै आएकी शितलीलाई उद्धार गरेर उपचारका लागि केहीदिन अघिमात्र सुर्खेत ल्याइएको छ । आईएनएफ सुर्खेतले जाजरकोटबाटै उद्धार गरेर उनलाई अहिले वीरेन्द्रनगरमा रहेको आफ्नै अस्पतालमा उपचार सुरु गरेको छ । ५० वर्षपछि अस्पतालमा उपचारका लागि भर्ना भएकी शितलीले आफूले नयाँ जीवन पाएको प्रतिक्रिया दिइन् । वर्षात्को झरी र हिउँदको जाडोमा समेत आफूले जीवनको अधिकांश समय जंगलमा बिताउन बाध्य भएको भन्दै उनले अस्पतालमा भर्ना भएपछि आफूलाई अब बाँच्ने आशा पलाएको बताइन् ।
शितली १५ वर्षको हुँदा नै कुष्ठरोगले छोएको थियो । जाजरकोटको दुर्गम गाउँमा भएकाले उनको समयमा नै उपचार हुन सकेन । बरु परिवार र गाउँलेले उपचार गर्नुको साटो उनलाई जंगलमा लगेर 
राखिदिए । अविवाहित रहेकी शितली भन्छिन, ‘आफ्नै जन्म दिने बाबुआमाले नै साथ दिएनन्, गाउँलेले कसरी माया गर्थे र ? आफूलाई उपचार गर्नुपर्छ भन्ने थाहा नै भएन, अरुले सानैमा जंगलमा लगेर राखिदिए ।’ जंगलमा बस्दा सुरुमा निकै डर लागेको भन्दै उनले वर्षात्को झरीमा ओडारमा बसेर ओत लागेको 
सुनाइन् । ५० वर्षसम्म जंगलमा बस्दा समेत कोही पनि आफूलाई भेट्न नआएको उनको दुखेसो छ । अधिकांश दिन आफू भोकै रहेको बताउँदै उनले थपिन्, ‘कहिले काँही दया मानेर गाउँलेहरूले खाना दिन्थे, पछि गाविसले नागरिकता बनाइ दिएपछि वृद्धभत्ताले छाक टारें ।’ विगत सम्झेर भावुक बनेकी उनी अस्पतालमा उपचार हुन थालेकोमा भने खित्का छोडेर हाँसिन् । माघ २७ गतेबाट अस्पतालको बेडमा उपचार गराइरहेकी उनले आफ्नो कष्टकर विगतलाई भुल्ने प्रयास गरिरहेकी छन् । उनले भनिन्, ‘मैले कुनै पाप गरेकी छैन, त्यही भएर त आज उपचार पाएकी छु । भगवानले नै जंगलबाट यहाँसम्म ल्याउने बाटो देखाए, अब त म निको भएर मात्र गाउँ फर्कन्छु ।’
अहिले आफ्नो परिवारमा कोही पनि नभएको भन्दै उनले अब निको भएर गाउँमै फर्कने बताइन् । उनको अनुहारमा खुशी छाएको प्रष्ट देखिन्थ्यो । 
अस्पतालमा भर्ना भएपछि हिजोआज उनले अधिकांश समय हाँसेर नै बिताउने गरेकी छन् । अस्पताल र सहर पहिलो पटक देखेकी उनले जंगलमा बस्दा आफ्नो साथी बनेको कुकुरलाई भने निकै सम्झने गरेकी छन् । अस्पतालको बेडमा नै उनी आफ्नो कुकुरलाई सम्झेर बेलाबेलामा रुन्छिन् । उनेले रुँदै भनिन्, ‘मलाई जंगलमा एक्लै हुँदा साथ दिने त्यही कुकुर थियो, त्यो भोकै होला, कहाँ गयो होला ? त्यसलाई जसरी हुन्छ यहाँ ल्याइदिनुस् ।’ जंगल बसाइँको क्रममा आफ्नो साथी बनेको कुकुरलाई सम्झेर रुने गरे पनि शितलीले अस्पतालमा पुग्ने सबैलाई हसाउने गरेकी छन् । निको भएपछि गाउँ फर्कने भन्दै उनले गाउँलेहरूसँग भने नबस्ने बताइन् । गाविस कार्यालयमा वा त्यसको आसपासमा बस्ने भन्दै उनले जन्मस्थललाई बिर्सन नसक्ने उल्लेख गरिन् । खुट्टाको शल्यक्रिया गरेर कृत्रिम खुट्टा हाल्नुपर्ने भएकाले थप उपचारका लागि एक सातापछि काठमाडौं लैजाने तयारी भइरहेको आईएनएफका ओपीडी इन्चार्ज उदयनाथ योगीले बताए ।
उनको उपचारमा संलग्न डाक्टर अर्चना कार्कीले शितलीलाई कुष्ठरोगको अलवा अन्य रोगको समेत समस्या रहेको बताइन् । कुपोषण र अस्लसरका कारण शितली थप कमजोर भएको उनको भनाइ छ । अहिले उनको उपचार भइरहेको र पहिलाको भन्दा स्वास्थ्यमा निकै सुधार आएको समेत डाक्टर कार्कीले जानकारी दिइन् । जनचेताको अभाव र रोग सर्ने त्रासका कारण जाजरकोटमा अहिले पनि कुष्ठरोगका बिरामीहरूलाई गाउँदेखि टाढाको जंगल र ओडारामा राख्ने गरिएको छ । जसका कारण यो रोगका बिरामीहरूले समयमा नै उपचार पाउन सकेका छैनन् । 
प्रकाशित मितिः   ५ फाल्गुन २०७२, बुधबार १०:५८