घरजग्गा हुने पनि सुकुम्बासी !

साझा बिसौनी संवाददाता

सुर्खेत, २८ चैत । 

पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा वन क्षेत्र अतिक्रमण गरी बस्नेहरूको अन्यत्र घरजग्गा भएको पाइएको छ । अन्यत्र घरजग्गा हुनेहरूले पनि वन क्षेत्र अतिक्रमण गरी बसेको पाइएको इलाका वन कार्यालय छिन्चुले जानकारी दिएको छ । 
अन्यत्र घरजग्गा भएका १३ जनाले भेरीगंगा नगरपालिका–१ मा वन क्षेत्र अतिक्रण गरी बसेको पाइएको हो । इलाका वन कार्यालयका अनुसार डिलबहादुर खत्री, खीमबहादुर विक, लिले कामी, मनबहादुर खड्का, परशुराम बुढाथोकी, सर्वे वली, लोकबहादुर कामी, गोबद्र्धन परियार, टेकबहादुर घर्ती, मोहन परियार, झुपलाल दमाई, वीरबहादुर बुढा र चामे कामीले यसरी वन अतिक्रमण गरेको हुन् । अन्यत्र घरजग्गा भएर पनि उनीहरूले वन क्षेत्र अतिक्रमण गरी खेती गर्ने गरेको र कतिपयले गोठ तथा साना घर निर्माण गरेको जनाइएको छ ।
यसरी अतिक्रमित वन क्षेत्र तत्काल खाली गराइने जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार अन्यत्र घरजग्गा नभएका सुकुम्बासीहरूलाई भने वैकल्पिक व्यवस्था गरिने भएको छ । वन अतिक्रमण गरी बसेका प्रताप चन्द, धनबहादुर कामी र करण विकका लागि वैकल्पिक व्यवस्था गरिने इलाका वन कार्यालय छिन्चुले जनाएको छ ।
वन कार्यालयले जिल्लामा अतिक्रमित वन क्षेत्र खाली गराउने अभियान सञ्चालन गरेपछि इलाका वन कार्यालय छिन्चुले भेरीगंगा–१ मा वन अतिक्रमण गरी बसेकाहरूको विवरण सार्वजनिक गरेको छ । वन खाली गर्न पटक–पटक सूचना जारी गरेर सचेत गराइसकिएको भन्दै वन कार्यालयले अटेर गरेमा बल प्रयोग गरेर भए पनि खाली गराइने जनाएको छ । जिल्लाका विभिन्न आठ भन्दा बढी स्थानहरूमा वन अतिक्रमण गरिएको पाइएको छ । 
प्रकाशित मितिः   २९ चैत्र २०७२, सोमबार ०४:४८