‘गरीबका घर जलाउँछौ, कसरी सरकार चलाउँछौ ?’

साझा बिसौनी संवाददाता

सुर्खेत, २८ चैत । 
मध्यान्नको चर्को गर्मी । उमेरले ६० नाघेकी उनको शरीर पसिनाले भिजेको थियो । निधारबाट बगेको पसिना पुछ्दै उनी सडकमा चर्को आवाजमा नारा लगाइरहेकी थिइन् । भन्दै थिइन्, ‘गरीबका घर जलाउँछौ, कसरी सरकार चलाउँछौ ? वनको बाघले बास पाउने, हाम्लाई भने धपाउने ?’ 
वन क्षेत्रमा अतिक्रमण गरेर बनाइएका घरटहरा जिल्ला वन कार्यालयले डोजर लगाएर हटाउन थालेपछि सुर्खेतको झुप्रा खोलामा बस्दै आएकी सावित्रा नेपाली आइतवार वीरेन्द्रनगरको सडकमा यसरी आक्रोश पोख्दै थिइन् । वन कार्यालयले डोजर लगाएर बस्ती खाली गर्न लागेको जानकारी पाएपछि उनी छिमेकीहरूसँगै आइतवार सडकमा आएकी हुन् । चैतको गर्मीको कुनै प्रवाह नगरी सकी नसकी सडकमा आएकी उनले आफूहरूलाई हाल बसिरहेको स्थानबाट नहटाउन हारगुहार नै गरिन् । २०४० सालदेखि आफूहरू बस्दै आएको ठाउँबाट वन कार्यालयले हटाउन थालेको र अन्यत्र जाने कुनै विकल्प नभएको भन्दै उनले वनका कर्मचारीहरूसँग नहटाइदिन आग्रह गरिन् ।
पछिल्लो समय जिल्ला वन कार्यालयले जिल्लाका विभिन्न स्थानमा बाढीपीडित र सुकुम्बासीको नाममा अतिक्रमण गरिएको वन क्षेत्र खाली गर्ने अभियान सुरु गरेको छ । सोही क्रममा कार्यालयले डोजर लगाएर वन क्षेत्रमा निर्माण भएका घर र टहराहरू भत्काउन थालेको छ । यसैको विरोधमा राष्ट्रिय भूमिअधिकार मञ्चले आइतवार वीरेन्द्रनगरमा प्रदर्शन गरेको छ । यस्तै मञ्चले उपयुक्त विकल्प दिएर मात्र वन क्षेत्रबाट हटाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयसँग आग्रह समेत गरेको छ । आफ्नो उठीबास हुने जानकारी पाएपछि जिल्ला वन कार्यालयमा पुगेकी साबित्राले भनिन्, ‘आजसम्म हामीलाई कसैले केही भनेनन्, वर्षौ भयो हामी त्यहीं बसेका छौं । अब डोजर लगाएपछि हामी कहाँ जाने ? न जग्गा छ, न बस्ने घर ।’ बुढेसकालमा आफ्नो उठीबास गर्न लागिएको भन्दै उनले गरीबका लागि राज्य नै नभएको गुनासो गरिन् । यस्तै अर्की वृद्धा जयसराले जंगलमा बाघ पाल्ने सरकाले आफूहरूको घरमा आगो लगाउन थालेको भन्दै आक्रोश पोखिन् । उनले भनिन्,‘वनमा बाघभालुले बास पाएका छन्, तिनलाई पालेर राखिएको छ, हामी पनि सुकुम्बासी छौं, अब त्यहाँबाट धपाए हामी कहाँ गएर बाँच्ने ?’ उनले आफूहरूलाई अहिले बस्दै आएको स्थानमा बस्न दिनुपर्ने माग गरिन् ।
वन क्षेत्र अतिक्रमण गरेर बस्दै आएकाहरूले आफूहरूका घरटहरा जलाएर सरकारले जनावरलाई महŒव दिएको बताए । साथै उनीहरूले जनताको घर जलाएर सरकारले न्याय दिन नसक्ने भन्दै सरकारको आलोचना गरे । वन अतिक्रमण खाली गर्ने वन कार्यालयको अभियानको विरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका उनीहरूले उपयुक्त विकल्प दिएर मात्र हटाउनुपर्ने माग गरे । यस्तै नाराबाजी गर्दै जिल्ला वन कार्यालयमा पुगेका उनीहरूले वन अतिक्रमणको नाममा सुकुम्बासीहरूको उठीबास गर्न लागिएको भन्दै तत्काल यो काम रोक्न माग गरे । उनीहरूले वर्षौैदेखि बस्दै आएको स्थानमा आफूहरूले भोग गर्न पाउनुपर्ने दाबी गरेका छन् । आफ्ना माग पूरा नभए कडा आन्दोलन गर्ने समेत उनीहरूले चेतावनी दिएका 
छन् । बस्ती 
हटाउनैपर्ने भए उपयुक्त विकल्प दिनुपर्ने उनीहरूको माग छ । उनीहरूले वीरेन्द्रनगरमा विरोधसभा समेत सम्पन्न गरेका छन् । सो अवसरमा मञ्चका अध्यक्ष पहलसिंह पहराइले आफूहरूमाथि राज्यले अन्याय गरेको बताए । साथै उनले तत्काल आफूहरूका माग पूरा गर्न समेत आग्रह गरे ।
हाल सुर्खेतमा रहेको कूल वन क्षेत्रमध्ये सात सय ४९ हेक्टर क्षेत्रफल वन अतिक्रमणमा परेको छ । बाढीपीडित र सुकुम्बासीको नाममा वन क्षेत्र अतिक्रमणमा परेको जिल्ला वन अधिकृत हेमराज विष्टले बताए । आफूहरूले वन अतिक्रमण हटाउन सुरु गरेको भन्दै उनले कुनै पनि हालतमा अभियान नरोकिने बताए । उनले भने, ‘हामीले पनि संयमता अपनाएका छौं, वास्तविक सुकुम्बासीको हकमा भने केही लचकता अपनाएका छौं । अन्यत्र पनि घर जग्गा भएकाहरूलाई भने कडाइ गरिएको छ, कानुन अनुसार नै हामीले वन क्षेत्रको अतिक्रमण हटाउन लागेका हौं ।’ उनले जिल्लाका विभिन्न स्थानमा वन अतिक्रमणमा परेको भन्दै त्यसलाई खाली गराएरै छोड्ने बताए ।
प्रकाशित मितिः   २९ चैत्र २०७२, सोमबार ०५:०२