शैक्षिक सुधारका लागि प्रतिबद्धता

सुर्खेत: सार्वजनिक शिक्षा सुधारका लागि शिक्षामा लगाानी वृद्धि गर्न राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बिहीवार भएको छलफल कार्यक्रममा सहभागी राजनीतिक दलहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले छलफल कार्यक्रमको आयोजना गरेको थियो ।

नेकपा (एमाले) सुर्खेतका अध्यक्ष अमृत बिसीले माध्यमिक तहसम्मका शिक्षा निःशुल्क अनिवार्य हुनुपर्ने कुरा पार्टीले चुनावी घोषणापत्रमै समेटेको बताए । शिक्षामा लगानी न्यून रहेको भन्दै आगामी बजेटमा शिक्षामा लगानी बढाउन स्थानीय तहका जनप्रतिनिधिसँग छलफल भइरहेको समेत उनले बताए । भौतिक पूर्वाधार निर्माण गर्दा शैक्षिक पूर्वाधारलाई विशेष ध्यान दिनुपर्नेमा उनको जोड रहेको छ ।

नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले निःशुल्क तथा अनिवार्य शिक्षा कार्यन्वयनमा ल्याउन आवश्यक रहेको बताए । ‘पार्टीले स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दैछ’ उनले भने, ‘शिक्षामा लगानी बढाउन तल्लो तहसम्म एउटै नीति लिएका छौँ ।’ शिक्षामा लगानी बढाउन पाटी प्रतिवद्ध रहेको उनको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतका सचिव अशोक थापाले पार्टीले उच्च शिक्षासम्म निःशुल्क तथा अनिवार्य गर्ने नीति लिएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य खिमबहादुर वादीले शिक्षामा लगानी वृद्धिका लागि आफ्नो पाटीको सहकार्य रहने बताए । राष्ट्रिय जनमोर्चा सुर्खेतका सचिव विष्णुप्रसाद शर्माले शिक्षामा लगानी पर्याप्त हुन नसकेको भन्दै लगानी अभिवृद्धिका लागि निरन्तर पहल पाटीले गरिरहेको बताए ।

मानव अधिकार रक्षक सञ्जाल कर्णाली संयोजक पिताम्बर ढकालले राजनीतिक दलहरूले शिक्षाको सुधार र बजेटको सुनश्चितता गर्नतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने, ‘हाम्रो शिक्षा परम्परागत भयो । प्रविधिमा आधारित बनाउनुप¥यो ।’ वीरेन्द्रनगर नगरपालिका उप–प्रमुख निलकण्ठ खनालले स्थानीय सरकारकासँग आर्थिक आय स्रोत कम भएका कारण शिक्षामा भनेअनुसारको बजेट व्यवस्थापन हुन नसेको बताए । उनले भने, ‘यस विषयमा राजनीतिक दलहरूले काम गर्नुपर्ने देखिन्छ । शिक्षालाई गुुणस्तरीय बनाउन वा सुधार गर्नका लागि नगरपालिकाले यस पट्क आवश्यक मात्रामा बजेटको व्यवस्थापन गर्ने छ ।’

प्रकाशित मितिः   १९ जेष्ठ २०८०, शुक्रबार ०८:०१