फुकोट–कर्णाली आयोजना: भारतीय कम्पनीकै जिम्मामा

सुर्खेत: कर्णाली प्रदेशको अर्को ठूलो जलविद्युत आयोजना निर्माणको जिम्मा पनि भारतीय सरकारी कम्पनीले पाएको छ । कालीकोटमा निर्माण हुने चार सय ८० मेगावाट क्षमताको फुकोट–कर्णाली जलविद्युत आयोजनामा भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी इण्डिया लिमिटेडले लगानी गर्ने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा बिहीवार नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसअघि माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पनि भारतीय कम्पनीले नै पाएको छ । तर लगानी जुटाउन नसकेर लामो समयदेखि आयोजना सञ्चालन हुन भने सकेको छैन ।

अब फुकोट कर्णाली बनाउन विद्युत उत्पादन कम्पनी र एनएचपीसी इन्डिया लिमिटेड कम्पनी मिलेर छुट्टै कम्पनी खडा हुने छ । त्यसैमार्फत आयोजना निर्माणको काम अघि बढ्नेछ । फुकोट–कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई दिने गरी समझदारी भएको छ । बाँकी ४९ प्रतिशत लगानी विद्युत उत्पादन कम्पनीको हुने छ ।

गत फागुनमा भारतको राजस्थानमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा फुकोट कर्णालीमा भारतीय लगानी ल्याउन एनएचपीसी र विद्युत उत्पादन कम्पनीबीच दुई महिनाभित्र एमओयू गरिसक्ने विश्वास नेपाली पक्षले भारतीय पक्षलाई दिलाएको थियो । समझदारीपत्र अनुसार आयोजनाबाट नेपालले मासिक रूपमा २१.९ प्रतिशत निःशुल्क ऊर्जा पाउनेछ । आयोजनामा ऋण लगानी जुटाउने जिम्मा एनएचपीसीकै हुनेछ ।

आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार र आयोजना बनाउन आवश्यक ऋणको प्रबन्ध प्रवद्र्धक कम्पनीका तर्फबाट एनएचपीसीले नै गर्नुपर्ने छ । आयोजनाको बिजुली नेपालले आफै खपत गर्न चाहेमा किन्ने अधिकार रहनेछ । नेपालले खपत गरेको अवस्थामा मात्रै आयोजनाको बिजुली निर्यात हुनेछ । बिजुली बंगलादेशमा पनि निर्यात गर्न सक्ने गरी व्यवस्था गरिएको छ । आयोजनाको लाइसेन्स खर्च र अध्ययन र पहुँचमार्ग लगायतमा भएका खर्च रकम आयोजना निर्माण गर्न खोलिने कम्पनीमा विद्युत उत्पादन कम्पनीको सेयर लगानीमा पुँजीकरण गर्न गरिने छ ।

२०७५ सालबाट अध्ययन सुरु भएको आयोजनाको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआइए) को काम सकिएको आयोजना प्रमुख हिरामान वाइबाले जानकारी दिए । उनका अनुसार विद्युत उत्पादन कम्पनीले ईआइए प्रतिवेदन स्वीकृतिका लागि करिब चार महिनाअघि ऊर्जा मन्त्रालयमा फाइल पठाएको थियो । ऊर्जा मन्त्रालयबाट स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा फाइल पुगेको प्रमुख वाइबाले जानकारी दिए । वन मन्त्रालयले स्वीकृति दिएपछि प्रतिवेदनले अन्तिम रूप पाउने उनको भनाइ छ ।

आयोजनाको पूर्व चरण अन्तरर्गत विस्तृत डिजाइन र अध्ययनको काम सम्पन्न भएको प्रमुख वाइबाले जनाए । ‘हामीले सम्भाव्यता, डिटेल डिजाइन, बिडिङ डकुमेन्ट लगायतका काम सम्पन्न गरेका छौँ’ उनले भने, ‘इआइए रिपोर्ट स्वीकृति हुने क्रममा छ । त्यस लगत्तै अन्य काम अघि बढ्नेछन् ।’

यो आयोजना कालीकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका हुँदै बग्ने कर्णाली नदीको खण्डमा निर्माण हुनेछ । प्रस्तावित आयोजनाको बाँधको दायाँतर्फको भाग सान्नी त्रिवेणी गाउँपालिका–३ मा पर्नेछ । बायाँतर्फको भाग खाँडाचक्र नगरपालिका–११ मा रहनेछ । मुख्य बाँधको उचाइ जगदेखि एक सय ६० मिटर तथा नदीको पिँधको स्तरबाट एक सय नौ मिटर रहने जनाइएको छ । बाँधको माथिल्लो भागको लम्बाई तीन सय १३ मिटर र चौडाई दश मिटर हुनेछ । विद्युतको अधिकतम् माग हुने समयमा सञ्चालन गर्ने उद्देश्यका साथ यो आयोजना निर्माण गर्न लागिएको वाइबाले जानकारी दिए ।

आयोजना सञ्चालनका लागि जग्गा अधिग्रहण गरेर मुआब्जा वितरणसमेत गरिसकिएको छ । चार वटा स्थानीय तहका आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण गरिसकिएको आयोजना प्रमुख वाइबाले जनाए । आयोजनाका लागि नौ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । उनले भने्, ‘करिब नौ सय रोपनी जग्गा अधिग्रहण भइ जग्गा कम्पनिको नाममा आइसकेको छ । डुबान पर्ने क्षेत्रको जग्गा अधिग्रहण गरिएको हो ।’ आयोजनाबाट निस्कने निर्माण सामाग्री, निर्माण कम्पनीका लागि क्याम्पलगायतका लागि थप दुई सय पाँच रोपनी जग्गा अधिग्रहण आवश्यक छ । पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनामा ९२ अर्ब तीन करोड लागत लाग्ने जनाइएको छ ।

प्रकाशित मितिः   १९ जेष्ठ २०८०, शुक्रबार ०८:०३