विद्युत नहुँदा सास्ती

कर्णाली प्रदेशमा विद्युतको समस्या छ । सबै ठाउँमा विद्युत लाइन पुगेको छैन । पुगेको ठाउँमा पनि पर्याप्त छैन । अनियमित लोडसेडिङमा मारमा नागरिक छन् । तर यसको सुधार र स्तरोन्नतिको काममा भने ढिलाइ भइरहेको छ । सबै जिल्ला विद्युतको राष्ट्रिय प्रसारण लाइनमा समेत जोडिन सकेका छैनन् । अधिकांश जिल्लाको सदरमुकामसम्म विद्युत विस्तार भएपनि त्यसबाहेकका क्षेत्र अँध्यारोमै छन् । विद्युतको सहज पहुँच नहुँदा यहाँ विकास अन्य पूर्वाधार निर्माण र विस्तारमा समेत समस्या भइरहेको छ । जसका कारण कर्णाली प्रदेशमा विकासमा पछि परेको छ । यति हुँदाहुँदै पनि कर्णालीको विद्युतिकरणमा गति आउन सकेको छैन । ढिलाइ भइरहेको छ । राज्यले गम्भिरतापूर्वक लिएको छैन । मुलुकमा तीन तहका सरकार बनेर कार्यान्वयमा आइसक्दा पनि कर्णाली विद्युतीकरणको गति बढ्न नसक्नु यहाँको विडम्बना हो । यसले यहाँको विकासलाई थप पछि धकेलिरहेको छ ।

गर्मीयामसँगै सुर्खेतसहित कर्णालीका जिल्लामा अघोषित विद्युत कटौती र भोल्टेज कम हुँदा उद्योग व्यवसाय सञ्चालनमा समेत समस्या हुन थालेको छ । सुर्खेतसहित कर्णालीका अन्य जिल्लाहरूको विद्युत समस्या हल गर्न एकमात्र विकल्प ठानिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन विस्तार योजना अघि सारेको धेरै वर्ष बितिसक्यो । तर अझैसम्म उक्त योजना कार्यान्वयन हुन सकेको छैन । निर्माणको काम थालेको लामो समय भइसक्दा पनि आयोजनाले अपेक्षित प्रगति गर्न सकेको छैन । लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । ठेक्का सम्झौता भएपछि आयोजनाले कानुनी प्रक्रियामै धेरै झन्झट ब्यहोर्नु प¥यो । संरचना निर्माण पूर्वका कानुनी उल्झन र विभिन्न अवरोधहरूका कारण लक्ष्यअनुसार प्रगति हासिल हुन नसकेको जनाइएको छ । सुरुवातीदेखि नै अनेकन् बाधा आइलाग्दा पूर्वाधारको काममा ढिलो भएको छ । काम सुरु गर्दा बीचमा कुनै अवरोध नभए प्रसारण लाइनका संरचना बनाएर सुर्खेतसम्म विद्युत लाइन पु¥याउन दुई वर्ष लाग्ने बताइएको थियो । यो बीचमा थुप्रै अवरोधहरू आएकाले अझै ४० प्रतिशत काम गर्न बाँकी रहेको हो ।

विद्युत अनियमित हुँदा नागरिक मर्कामा छन् । पूर्वजानकारीविना नै विद्युत कटौती हुने गरेको छ । दिनमै दर्जनौं पटक विद्युत जाने गरेकाले समस्या भइरहेको गुनासो आम नागरिकको छ । विद्युतिकरणका लागि प्रयास नै नभएका भने होइनन् । तर त्यस्ता प्रयासहरू प्रभावकारी भइरहेका छैनन् । विद्युतीकरण विस्तार गर्ने र अहिले विद्युतको पहुँच पुगेको ठाउँमा नियमित गर्नेतर्फ ध्यान दिन जरुरी देखिन्छ ।

प्रकाशित मितिः   १९ जेष्ठ २०८०, शुक्रबार ०५:०३