पूर्वराजाको आलोचना
सुर्खेत: पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गर्दै गणतन्त्र दिवस मनाइएको छ । १६औँ गणतन्त्र दिवसको अवसरमा सोमवार कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरूले शाहको विरोधमा आफ्नो धेरै समय खर्चिएका हुन् ।
शनिवार पूर्वराजा शाह वीरेन्द्रनगरमा आयोजित अभिनन्दन कार्यक्रममा सहभागी भएका थिए । सोही सन्दर्भ जोड्दै नेताहरूले शाहको आलोचना गर्दै गणतन्त्रको सान्दर्भिकतबारे अभिव्यक्ति दिएका हुन् । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पूर्व राजा शाहलाई डाँडो कटाउन नपरोस् भन्दै चेतावनी दिएका थिए । ‘गणतन्त्रको विकल्प पश्चगमन हुन सक्तैन, राजतन्त्र हुन सक्तैन’ उनले भने, ‘जनताको लामो संघर्ष, महान् जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनको तागतका कारण अहिलेको व्यवस्था आएको हो ।’
पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि गणतन्त्रको विकल्पमा राजतन्त्र हुन नसक्ने बताए । उनले गणतन्त्रलाई नै संस्थागत र बलियो बनाउनुपर्ने भन्दै पश्चगमनतर्फ फर्किन नहुने धारणा राखेका थिए ।
यस्तै नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले पूर्वराजालाई राजनीति गर्ने भए राप्रपाको अध्यक्ष बन्न सुझाव दिए । ‘हिजो हामीले जसरी गणतन्त्र प्राप्तिका लागि लडिरहेका थियौँ, आज फेरि गणतन्त्र माथि प्रश्न उठिरहेको छ । एउटा व्यक्ति, एउटा पार्टी विशेषको गल्तीले हामीले प्राप्त गरेको गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, बहुदलीय व्यवस्थाको विकल्प निरंकुशतन्त्र हुन सक्तैन’ उनले भने । ‘सुध्रिएर अघि बढ्न सकेमात्रै गणतन्त्रलाई जनताको जीवनसँग संस्थागत गर्न सकिन्छ,’ कँडेलले भने, ‘यदि अहिलेको राजनीतिक परिदृष्यबाट राजनीतिक दलहरू नसच्चिए ज्ञानेन्द्र शाहजस्ता बेलाबखत आएर कहिले हिन्दू धर्मका नाममा त कहिले केका नाममा झुण्डहरूले हाम्रो देशलाई पछाडि धकल्नेछन् ।’
प्रकाशित मितिः १६ जेष्ठ २०८०, मंगलवार ०६:४१
साझा बिसौनी ।