संघीय बजेटमा कर्णाली

पुरानै योजनालाई निरन्तरता

सुर्खेत: संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि साढे १७ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार संघीय संसद्मा १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालु खर्चतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ तीन खर्ब दुई अर्ब सात करोड अर्थात् १७.२ प्रतिशत बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को भन्दा आगामी वर्षको बजेटको आकार केही घटाइएको छ ।
संघीय बजेटमा कर्णालीका एक दर्जन बढी योजना समेटिएका छन् । त्यसमा अधिकांश पुरानै योजनाहरू छन् । विशेषगरी कर्णालीको कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधार क्षेत्रलाई समेटेर बजेट विनियोजन भएको छ । अन्य क्षेत्रको तुलनामा कृषि र स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको छ ।
  •  रैथाने बालीको उत्पादन खरिद
कर्णालीका रैथाने कृषि उत्पादनको बजारीकरणमा सरकारले ध्यान दिने भएको छ । बजेटमा कर्णालीका रैथाने बालीको उत्पादन खरिद गर्ने योजना उल्लेख गरिएको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत रैथाने बालीको उत्पादन खरिद गर्ने जनाएको छ । रैथाने उत्पादन अन्तर्गत कोदो, फापर, भटमास, उवा, कागुनोलगायतका खाद्ययवस्तु खाद्य कम्पनीले खरिद गर्ने र त्यसको बजारीकरण गर्नेछ ।
यसैगरी कर्णालीका दशवटै जिल्लामा एकीकृत कर्णाली सिँचाइ विकास आयोजना सञ्चालन गरिने भएको छ । कर्णालीको कृषि उत्पादनमा वृद्धि गर्न प्रत्येक जिल्लामा सिँचाइ विकास आयोजना सञ्चालन गर्न लागिएको हो । अर्थमन्त्री डा. महतले भने, ‘कर्णालीको अर्गानिक खाध्यबस्तु उत्पादनमा थप सहज हुनेछ ।’
  • पेट्रोलियम उत्खनन्
संघीय सरकारले दैलेखमा रहेको पेट्रोलियम अन्वेषण कार्यलाई आगामी वर्ष पनि अगाडी बढाउने भएको छ । पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक बजेट विनियोजन गरिएको मन्त्री महतले जनाए । यसअघि नीति तथा कार्यक्रममा पनि यो योजना समावेश गरिएको थियो । सोही अनुसार बजेट विनियोजन गरिएको हो ।
दैलेखमा रहेको श्रीस्थान, नाविस्थान र पादुकामा बलिरहेको ज्वाला पेट्रोलियम पदार्थ नै भएको भनी विभिन्न चरणको अन्वेषणकै क्रममा प्रमाणित भइसकेको छ । पेट्रोलियम अन्वेषण कार्यका लागि अन्तिम चरणको कामका लागि जग्गा अधिग्रहण गरिएको छ । अब सरकारले उच्च प्राथमिकता राखी पेट्रोलियम पदार्थको उत्खनन् गरिने जनाएको छ ।
  • पर्यटन पूर्वाधार विकास
कर्णालीको पर्यटन क्षेत्र पूर्वाधार विकासका लागि पनि सरकारले बजेट छुट्याएको छ । अर्थमन्त्री  महतले आगामी आर्थिक वर्ष २०८०÷८१ मा सल्यानको छत्रेश्वरी र दैलेखको पञ्चकोशी पर्यटकीय क्षेत्रको पूर्वाधार विकास गरिने जनाए । धार्मिक पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको हो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दैलेखको पञ्चकोशी क्षेत्रमा पूर्वाधार निर्माण गरिने भएको छ ।
  • सुर्खेतमा मेडिकल कलेज
सुर्खेतमा मेडिकल कलेज निर्माण गर्ने योजनालाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ । केही वर्षयता संघीय सरकारको बजेटमा मेडिकल कलेज निर्माणको कार्यक्रम समेटिने गरेको छ । जसले आगामी वर्ष पनि निरन्तरता दिइएको हो ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत दैलेखको आठबीस नगरपालिकामा अवस्थित राकम कर्णालीमा एक सय शैड्ढयाको अस्पताल निर्माण गरिने भएको छ । अस्पताल निर्माणका लागि प्रतिष्ठानको पहल तथा आठबीस नगरपालिकाको समन्वयमा त्यहाँका स्थानीय नागरिकले ४२ रोपनी जग्गा पास गरेका छन् । कर्णालीमा प्रादेशिक सरुवा रोग अस्पताल निर्माण गर्ने योजनामा पनि बजेटमा समावेश छ ।
  • चौरजहारी र जुम्लामा विमानस्थल स्तरोन्नति
रुकुमपश्चिको चौरजहारी विमानस्थल र जुम्ला विमानस्थलको स्तरोन्नतिका लागि सरकारले बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ मा दुई वटा विमानस्थल स्तरोन्नति गरिने भएको हो ।
  •  भेरी नदीको पानी पम्पिङ
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खानेपानीको संकट टार्ने आयोजनाका रूपमा हेरिएको भेरी पम्पिङ आयोजना अघि बढाइने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा उक्त आयोजनाका लागि बजेट विनियोजन गरिएको छ ।
खानेपानीको समस्या दिर्घकालीन रूपमा समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी ल्याउनका आयोजना अघि बढाइने छ । यसैगरी आधारभूत खानेपानी आयोजनाका लागि सुर्खेत पश्चिमको पञ्चपुरी नगरपालिका र दैलेखको महावु गाउँपालिकामा बजेट विनियोजन गरिएको छ ।
  • सुर्खेतमा विषादी परीक्षण प्रयोगशाला
सुर्खेतमा विषादी परीक्षण प्रयोगशाला स्थापना गरिने भएको छ । संघीय सरकारले बजेटमा विषादी प्रयोगशाला स्थापना गर्ने घोषणा गरेको हो । अर्थमन्त्री डा. महतले सुर्खेतमा विषादी प्रयोगशाला स्थापना गर्ने घोषणा गरेका हुन् । कर्णालीमा हालसम्म विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आउन सकेको छैन ।
  • मार्सी र अदुवाको प्रवद्र्धन
संघीय सरकारले कर्णाली प्रदेशको अर्गानिक उत्पादनलाई ब्रान्डिङ गर्ने भएको छ । सोमवारको प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री महतले कर्णाली प्रदेशको अर्गानिक उत्पादनलाई ब्रान्डिङ गर्ने घोषणा गरेका हुन् । जुम्लाको मार्सी चामल र सल्यानको अदुवालाई ब्रान्डिङ गरिने उनले जनाए
  • कर्णाली करिडोर निर्माण
कर्णाली करिडोरलाई पूर्णता दिन झन्डै एक अर्ब बजेट छुट्याइएको छ । खुलालु–सल्लीसल्ला र हिल्सासम्म सडकको स्तरोन्नतिका लागि ९७ करोड बजेट  विनियोजन गरिएको हो ।
यस्तै कर्णाली राजमार्ग र रत्न राजमार्गलाई समेत स्तरोन्नति गरिने भएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले कर्णाली राजमार्गको स्तरोन्नति गरिने बताए । सुर्खेत–कोहलपुर सडक खण्डको कामलाई पनि अघि बढाइने योजना बजेटमा समावेश गरिएको छ ।
  • भेरी–बबई डाइभर्सन
भेरी–बबई डाइभर्सनको बाँकी काम अघि बढाइन डेढ अर्ब विनियोजन भएको छ । डाइभर्सनको निर्माण कार्यका लागि एक अर्ब ७४ करोड बजेट विनियोजन गरिएको हो । भेरी नदीको पानी सुरुङबाट बबईमा खसाई एकैपटक विद्युत उत्पादन र सिँचाइ विस्तार गर्ने भेरी–बबई डाइभर्सन आयोजना निर्माण भइरहेको छ ।
यसबाहेक सुर्खेतमा नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्वतयारी गर्ने योजना बजेटमा उल्लेख छ । त्यस्तै सुर्खेतको पञ्चपुरी र दैलेखको महावुमा सुख्खाग्रस्त क्षेत्रमा सञ्चालित जलवायु अनुकूलित खानेपानी आयोजना निर्माण, मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेत खण्डको निर्माण, हुम्ला सदरमुकामसम्म सडक विस्तारलगायतका कार्यक्रम पनि समेटिएका छन् ।
बजेटमा भेरी करिडोर अन्तर्गत जाजरकोट–दुनै खण्ड निर्माण गर्न ५० करोड विनियोजन गरिएको छ भने कर्णाली क्षेत्रको आर्थिक तथा समाजिक विकास गर्न कर्णाली समृद्धि कार्यक्रमलाई निरन्तरता दिँदै  ८७ करोड विनियोजन गरिएको छ । चार सय केभी कर्णाली करिडोर विद्युत प्रसारण लाईन निर्माण र भेरीगंगामा एकीकृत सहरी पूर्वाधार आयोजनाको गुरुयोजना तर्जुमाका लागि पनि बजेट विनियोजन भएको छ ।
प्रकाशित मितिः   १६ जेष्ठ २०८०, मंगलवार ०६:४७