विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम

सुर्खेत: ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई स्थानीय सरकारले पनि प्राथमिकता दिन थालेका छन् । पछिल्लो समय पालिकाबाट बजेट छुट्याएर विद्यालयहरूमा उक्त कार्यक्रम कार्यान्वयन गर्न थालिएको छ ।

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाले नयाँ शैक्षिक सत्रमा ‘पढ्दै कमाउदै’ कार्यक्रम लागू गर्न विद्यालय छनोट प्रक्रिया थालेको छ । गाउँपालिकाकी शिक्षा शाखा प्रमुख डम्मरकुमारी रोकायाले ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यान्वयन गर्नका लागि विद्यालय छनोट गर्न थालिएको जानकारी दिइन् । यसका लागि गाउँपालिकाले विद्यालयहरूबाट प्रस्तावना आह्वान गरेको छ । बराहतालभित्र सञ्चालित विद्यालयहरूले जेठ १५ गतेसम्म आवेदन दिइ सक्नुपर्नेछ । आवेदन परेका विद्यालयहरूमध्येबाट एउटा विद्यालय छनोट गरेर कार्यक्रम लागू गरिने जनाइएको छ ।

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्नका लागि गाउँपालिकाले आठ लाख बजेट विनियोजन गरेको छ । रोकायाका अनुसार संघीय सरकारको लगानीमा गतवर्षदेखि जनज्योति माध्यमिक विदालय बड्डीचौरमा यो कार्यक्रम लागू भएको छ । कार्यक्रम निकै प्रभावकारी देखिएकाले गाउँपालिकाले यो वर्षदेखि आफैले बजेटको व्यवस्था गरेर अन्य विद्यालयमा पनि सञ्चालन गर्न लागिएको उनले जनाइन् । बालबालिकाले पढाइका साथसाथै आयआर्जन गरेर आफ्नो पढाइ खर्च उठाउन सकुन भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको रोकायाको भनाइ छ । पढाइबाहेकको खाली समयमा बालबालिकालाई आर्थिक जीविकोपार्जनमा सहभागी गराइनेछ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सीप सिकाउने, काम दिएर आर्थिक रूपमा पनि बलियो बनाउने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ ।

संघीय सरकारले समेत ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रवद्र्धन गर्दै आएको छ । गतवर्ष संघीय सरकारले सुरुवात गरेको यो कार्यक्रमप्रति अभिभावकहरूले पनि चासो दिन थालेका छन् । पढाइ सँगसँगै आयस्रोतमा जोडिनु सकारात्मक पक्ष भएकोले यसलाई पालिकाले समेत प्राथमिकतामा राखेका छन् । कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको पढाइमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । रोकायाले भनिन्, ‘जनज्योति माध्यमिक विद्यालयमा यो कार्यक्रम प्रभावकारी देखिएपछि पालिका आफैले कार्यक्रमको प्रवद्र्धन गर्ने सोच बनाएको हो ।’

सुर्खेतकै वीरेन्द्रनगर नगरपालिकाले पनि ‘पढ्दै कमाउँदै’ कार्यक्रमको प्रवद्र्धन गरेको छ । गतवर्ष नगरपालिकाले वडा नं ११ मा रहेको शिव माध्यमिक विद्यालय धुलियाविटमा उक्त कार्यक्रमका लागि दुई लाख २५ हजार रकम सहयोग गरेको थियो । विद्यालयले भने उक्त कार्यक्रम आफ्नै लगानीमा चार वर्ष पहिलेदेखि नै सञ्चालन गर्दै आइरहेको छ । बालबालिका आर्थिक अवस्था कमजोर भएकै कारण पढाइबाट वञ्चित हुने भएकाले उनीहरूलाई पनि यसै कार्यक्रममा जोड्न सहज भएको विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलले बताए । उनका अनुसार यो कार्यक्रम प्रभावकारी भएतापनि बजेट अभावमा सञ्चालन गर्न समस्या हुने गरेको छ । उनले भने, ‘विद्यालयले हालसम्म २० लाख रकम खर्च गरिसकेको छ । बाहिरबाट सहयोग भए अझै प्रभावकारी हुनेथियो । आर्थिक अभावमा कार्यक्रम ओझेलमा पर्न थाल्यो ।’

कार्यक्रमको प्रतिफल भने राम्रो देखिएको पौडेल बताउँछन् । ‘हुनेखानेका छोराछोरी सहर केन्द्रित भएर पढिरहेका छन्’ उनी भन्छन्, ‘दूरदराजका बस्तीका सर्वसाधारणले सामुदायिक विद्यालयमै पढ्ने भएकाले अब सहर र गाउँका सामुदायिक विद्यालयको अवस्था उस्तै उस्तै गराउने हाम्रो उद्देश्य हो ।’ उक्त विद्यालयका विद्यार्थीहरूले कुखुरा, माछा र भैँसी पालन गरिरहेका छन् ।

विद्यालयहरूमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम निकै प्रभावकारी देखिएको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद लम्सालले बताए । नगरपालिकाले त्यस्ता विद्यालयलाई बेला–बेला सहयोग गर्ने गरेको उनको भनाइ छ ।

संघीय सरकारले आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिने गरेको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा विद्यालयमा बालबालिकालाई ल्याउने, सिकाउने र टिकाउने कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमलाई प्रोत्साहन गर्ने जनाइएको छ । यसलाई प्रोत्साह गर्ने र अभियानकै रूपमा अघि बढाउने उल्लेख गरिएको छ ।

प्रकाशित मितिः   १३ जेष्ठ २०८०, शनिबार ०५:०५