‘शून्यको मूल्य’लाई उत्तम शान्ति पुरस्कार

सुर्खेत: डा. नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ ले २०७९ सालको ‘उत्तम शान्ति पुरस्कार’ पाउने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको गैरआख्यान ‘शून्यको मूल्य’लाई पुरस्कार दिने घोषणा गरेको हो ।

पुस्तकमार्फत अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःखपीडा, साहस र संघर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापत’ साहित्यकार डा. केसीलाई पुरस्कार दिने निर्णय गरेको गुठीले जनाएको छ । उत्तम शान्ति पुरस्कारमा ताम्रपत्रसहित एक लाख रूपैयाँ प्रदान गरिन्छ ।

साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी शान्ति कुँवरले २०४४ सालमा स्थापना गरेको यो पुरस्कार उत्तम कुँवर जन्मजयन्ती (जेठ १२)मा प्रदान गरिने चलन छ । कुँवरले लेखेको साहित्यिक प्रोफाइलको गैर–आख्यान कृति ‘स्रष्टा र साहित्य’ले २०२३ सालमा मदन पुरस्कार पाएको थियो ।

२०७९ सालमा प्रकाशित ‘शून्यको मूल्य’ सिर्जनात्मक गैरआख्यान हो । उपचारका क्रममा भेटिएका पात्रहरूका कथा पुस्तकमा समेटिएको छ । अभावका बाबजुद बिरामीहरूले त्यसबाट उन्मुक्ति पाउन गरेका संघर्ष र साहसका कथा पुस्तकमा समेटिएको छ ।

प्रकाशित मितिः   १३ जेष्ठ २०८०, शनिबार ०५:०३