सिम्तामा विकास सम्मेलन हुँदै

सुर्खेत: सिम्ता गाउँपालिकामा विकास सम्मेलन आयोजना गरिने भएको छ । गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते सिम्ता गाउँपालिकाले विकास सम्मेलन गर्न लागेको हो ।

सिम्ता गाउँपालिकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरोकार राख्ने सबैको उपस्थितिमा सिम्ताको दीगो विकासका लागि सुझाव संकलन गर्न सम्मेलनको आयोजना गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले जानकारी दिए । उनका अनुसार सम्मेलनमा सिम्ता क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरू, पूर्व जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, शिक्षक, बुद्धिजीवी, संघ संस्था, सहकारी, पत्रकारलगायतको सहभागिता रहनेछ ।

‘समृद्ध सिम्ता सुखी सिम्ताली’ को स्थानीय आकांक्षालाई पूरा गर्नका लागि सम्मेलनबाट आवश्यक मार्गदर्शन मिल्ने गाउँपालिकाको अपेक्षा रहेको छ । यस्तै सिम्ताको शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यमशिलता, पर्यटन लगायतका क्षेत्रमा आवश्यक योजना बनाउन मद्दत पुग्ने प्रमुख प्रशासकीय अधिकृत पंगालीले बताए । आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट निर्माणको चरणमा रहेकाले त्यसको पूर्वसन्ध्यामा विकास सम्मेलन आयोजना गरिएको उनको भनाइ छ ।

प्रकाशित मितिः   १३ जेष्ठ २०८०, शनिबार ०५:०२