प्रि–बजेट छलफल: पुँजीगत बजेट नघटाउन माग
सुर्खेत: कर्णाली प्रदेशसभाका सदस्यहरूले पुँजीगत बजेट नघट्ने गरी आगामी वर्षको बजेट बनाउन सरकारलाई सुझाव दिएका छन् । सभामा पेस गरिएको आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त, उद्देश्य र प्राथमिकतामाथिको छलफलका क्रममा सदस्यहरूले बजेटले सम्बोधन गर्नुपर्ने विभिन्न क्षेत्रको विषयमा रहेर नीति तथा कार्यक्रम बनाउन सुझाव दिएका हुन् ।
नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीका सम्पूर्ण भूभागलाई समानुपातिक ढंगले पुग्नेगरी बजेट निर्माण गर्न आग्रह गरे । उनले कुनै क्षेत्रमा धेरै बजेट जाने र कुनैमा थोरै जाने अवस्था सिर्जना नगर्न आग्रह गरेका हुन् । सरकारले पुरानै नीति तथा कार्यक्रम प्रस्तुत गरेको भन्दै विना छलफल पुरानै नीति कार्यक्रम राखिएको आपत्ति जनाए । सरकारका नीति कार्यक्रमले जनतामा आशाभन्दा निराशा बढी ल्याउने खालको देखिएको उनको तर्क छ ।
नेपाली कांग्रेसका सांसद राजीवविक्रम शाहले पुँजीगत बजेट घटाउन नहुने बताए । छलफलमा सहभागी हुँदै उनले पुँजीगत बजेट नघटाउन माग गरेका हुन् । साना आयोजनामा बजेट नदिने उल्लेख गरेको बताउँदै स्थानीय तहमा बजेट नपठाउने हो भने गम्भीर गल्ती हुने बताए । उनले प्रदेश र स्थानीय तहको विकासका लागि साना योजना आवश्यक पर्ने उल्लेख गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का सांसद विन्दमान विष्टले अहिले पनि बजेट घाटामा रहेको बताउँदै पूर्वाधारलाई बलियो बनाउने प्रकारको नीति आवश्यक रहेको बताए । सरकारले प्रस्तुत गरेको प्राथमिकतामा थप परिमार्जन गर्न आवश्यक रहेको उनको तर्क थियो । अर्का सांसद जीतबहादुर मल्लले प्रि–बजेट पूर्ण नभएको जिकिर गरे । उनले भने, ‘विगतकै कार्यक्रम अघि सारिएको छ । यो बजेट उत्पादनमुखी नभइ वितरणमुखीजस्तो देखिएको छ ।’ कुन क्षेत्रलाई प्राथमिकतामा राखिएको भन्ने समेत प्रष्ट नभएको उनको भनाइ छ ।
आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बिहीवार प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त, उद्देश्य र प्राथमिकता पेश गरेका थिए । जसमाथि शुक्रवारदेखि सभामा छलफल सुरु भएको छ । सरकारले नीति तथा कार्यक्रम ल्याउनु अघि प्रि–बजेट छलफल गराउने गर्दछ ।
प्रकाशित मितिः १३ जेष्ठ २०८०, शनिबार ०५:०१
साझा बिसौनी ।