विद्यार्थीको नैतिकता र सिकाइ
आजको समाजमा बढदै गएको एक जटिल मुद्दा बालबालिकाहरूमा नैतिकताको खडेरी रहेको प्राय सबैतिर सुन्दै र भोग्दै आएको पाइन्छ । विद्यार्थीहरूको व्यवहार असाध्यै रुखो, अटेरी, पढाइप्रति ध्यान नदिने, कुलत र साथी समूहमा मिलेर अनेक फण्डाहरू गर्ने, विद्यालय जान नरूचाउने आदि सबैको मुखबाट सुनिदै आएको छ । उनीहरूको खाने, लाउने, बोल्ने, हिँड्ने र गर्ने व्यवहारसमेत समाजमा अपाच्य हुँदै गइरहेको छ । उनीहरूको व्यवहारले घरपरिवार, समाज र विद्यालयले ठूलो परिसान बेहोर्दै आइरहेका छन् । घरपरिवारले त्यसको आरोप विद्यालय र शिक्षकलाई लगाउँदै आएको पाइन्छ । अभिभावकहरूका अनुसार ‘विद्यालयमा शिक्षकहरूले के पढाउँछन्, के सिकाउँछन्, घरमा न काम गर्छन् न पढ्छन्, बोली व्यवहार केही पनि राम्रो छैन, सम्मान र अनुशासनको कुरै छैन । शिक्षकले अलि राम्रो बनाइ दिन प¥यो, राम्रो सिकाइ दिन प¥यो, टेर्ने बनाई दिन प¥यो । घरमा कसैलाई टेर्दैनन्, मोबाइलमा मात्रै झुन्डिएर बस्छन्, केही भन्यो भने झगडा गर्छन्’ आदि जस्ता गुनासा र दोष शिक्षकमाथि लाग्दै आएका छन् ।
उता शिक्षकका अनुसार– यो कस्ता खालको बच्चा हो, न विद्यालय नियमित आउँछ, न गृहकार्य गर्छ, न शिक्षकलाई टेर्छ, न भनेको मान्छ, न पढ्न जाँगर गर्छ । विद्यालयमा चुल्ठा मुन्द्रा लाएर आउँछ, कस्ता छन् हो यसका बाउआमा, कस्तो घरमा हुर्केको हो, घरमा केही सिकाउँदैनन् कि के हो ? जस्ता दोष शिक्षकले अभिभावकहरूमाथि लगाउँछन् । विद्यार्थीहरूका पनि यस्तै–यस्तै गुनासाहरू होलान् । केहीले अभिव्यक्त गरेका होलान् केहीले गर्न नसकेका होलान् । वास्तवमा बालबालिकाहरू काँचो माटो हुन् । उनीहरूलाई जस्तो ज्ञान दिइयो त्यस्तै बन्ने हुन् । समाज, विद्यालय, परिवारले राम्रो र सही ज्ञान दिन सक्यो त्यस्तै बन्दछन् । बालबालिका समाजका सदस्य हुन समाजमा जस्तो संस्कार–संस्कृति, शिक्षा दिक्षा, रीतिरिवाज चलेको छ त्यही बमोजिमको उनीहरूको व्यवहार निर्माण हुने हो । समाजभन्दा अब्बल, अनुशासित, नैतिकवान र राम्रो बालबालिका खोज्नु मुर्खता बाहेक केही हुन सक्दैन ।
आजको आधुनिक प्रविधिले नियमन गरेको समाज अत्यन्तै जटिल छ । संसारमा ज्ञानको बिस्फोट प्रतिसेकेन्डमा भइरहेको छ । आजका सिकारू हिजोका जस्ता छैनन्, आजको ज्ञान हिजो जस्तो छैन, आजको सिक्ने तरिका पनि हिजो जस्तो छैन । हरेक विषयवस्तु, सोचाइ, गराई, बुझाइको तरिकामा व्यापक फेरबदल आएको छ । जसले गर्दा ब्रह्माण्डमा मानिस नयाँ जीवन संघर्षबाट अगाडि बढ्दै छ । विज्ञान र प्रविधिको कारण सिकाइका नयाँ तौरतरिकाहरू विकास भएका छन् । हिजो ज्ञानको स्रोत अरु कुनै थिएन । ज्ञानको स्रोत भनेका नै शिक्षक÷गुरु मात्र थिए । शिक्षकले भनेका सबै कुराहरू सत्य मान्नु पर्दथ्यो । सिकाइको लागि पूर्णरूपमा शिक्षकमा नै भर पर्नुपर्दथ्यो । तर आज ज्ञानको स्रोतहरू अथाह छन् र आर्जन गर्ने तरिकाहरू पनि थुप्रै विकास भएका छन् । बच्चाहरूमा सिक्ने तरिका क्षमताको पनि अथाह विकास भएको छ । उसले अब विषयवस्तुको र किताबको ज्ञानभन्दा भव्य र विश्वसनीय ज्ञान अन्य मध्यमबाट प्राप्त गर्न थालिसक्यो । अझै भन्ने हो भने समसामयिक ज्ञानमा बच्चा सिकाउने गुरुभन्दा पनि अब्बल बन्दैछ । हामीले सिकाउने तौरतरिका भन्दा उसले सिक्ने तरिका भिन्न छ । ऊ भिन्नै तरिकाले सिक्दै छ, सिक्न चाहान्छ तर समाज, परिवार र विद्यालयको तरिका उही पुरानै ढर्राको छ । तालमेल नमिलेको कुरा यही हो ।
एउटा चीनियाँ उखान छ नि, ‘बालबालिकाहरूमा सुनेरभन्दा देखेर, देखेरभन्दा गरेर बढी सिकाइ हुन्छ ।’ उनीहरू भनेर वा घोकाएर सिकाएको भन्दा अरुले गरेको देखेर र आफूले गरेर सिक्न चाहान्छन् । त्यो सिकाइले मात्र उनीहरूको जीवन व्यवहार निर्माण गरेको हुन्छ । किताब पढ्ने र घोकाउने त परीक्षामा पास हुनको लागि मात्र सोच्दछन् । यो कुराको पुष्टि २१ औँ शताब्दीको सुरुमै अमेरिकन मनोवैज्ञानिकहरूले प्रयोग गरिसकेका थिए । सन् १९५६ मा अमेरिकन मनोवैज्ञानिक अल्बर्ट बान्डुराले सामाजिक सिकाइ सिद्धान्त प्रतिपादन गरे । उनले आफ्नो प्रयोगमा प्राथमिक तहका बालबालिकाहरूलाई छनौट गरी एक नमुनाको व्यवहार प्रदर्शन गर्न लगाए र बालबालिकाहरूलाई उक्त नमुनाको व्यवहार अवलोकन गर्न लगाए । यसबाट उनले के पत्ता लगाए भन्दा बच्चाहरूको सिकाइ उनीहरूले मानेको नमुनाको व्यवहार अवलोकन, नमुनाले गर्ने क्रियाकलाप, देखाउने व्यवहार, कामको नक्कल गरेर धेरै सिकेको पाइयो । नमुनाको व्यवहारले प्राप्त गरेको पुरस्कृत व्यवहार जुन छ त्यसलाई बढी नक्कल गरेको भेटाए ।
बच्चाको पहिलो विद्यालय घर हो । उसको पहिलो शिक्षक आमा हो । बच्चाले सिक्न सुरु परिवारबाटै गर्दछ । सर्वप्रथम उसको सिकाइको नमुना उसको आमाबुवा नै हो । उसले घरपरिवारका सदस्यहरूले गर्ने व्यवहार, उनीहरूले बोलेका कुराहरू, देखाउने व्यवहारहरूको अवलोकन गर्दै जान्छ । उनीहरूले जुन व्यवहार घरमा प्रदर्शन गर्दछन् त्यही व्यवहार उसले पनि सिक्ने हो । त्यो भन्दा उसले भिन्दै सिक्दैन । जब बच्चा विद्यालयमा जान्छ, उसको व्यवहार निर्माणको स्रोत घरपरिवार मात्रै नभएर उसका साथीसंगी र शिक्षकहरू पनि हुन्छन् । उसको सिक्ने दायरा फराकिलो हुँदै जान्छ । अब उसले मन पर्ने शिक्षक, साथी, अग्रज विद्यार्थीहरूलाई नमुनाको रूपमा लिन्छ र उनीहरले देखाउने व्यवहार र कार्यको नक्कल गर्न थाल्दछ । त्यसपछि झनै समाजका अगुवा मानिसहरू, छिमेकी, समाजसेवी, सञ्चारमाध्यममा राखिएका फिल्म, भिडियो, पठन सामग्रीहरूको अध्ययन गर्दछन् भने अझ उसले सिक्ने नक्कल गर्ने नमुनाहरू परिवर्तन गर्दै जान्छ । उसले देखेका अवलोकन गरेका राम्रा नराम्रा जति पनि विषयवस्तुहरू छन् तिनीहरू व्यवहारमा उतार्न खोज्दछ । किनभने जति धेरै ती विषय सामग्रीहरूको सम्पर्कमा जान्छ, हेर्ने, पढ्ने, सुन्ने मौका पाउँदै जान्छ, उसको व्यवहार झन् अभ्यस्त हुँदै जान्छ । त्यो समयमा उसले के सही र गलत राम्रोसँग छुट्याउन सक्ने बौद्धिकताको विकास भएको हुँदैन । त्यही समयमा उसलाई उचित सल्लाह र परामर्शको जरुरी पर्दछ तर उसले अपेक्षा गरेका नमुनाहरूबाट उसले त्यो प्राप्त गर्न नसकेमा उसको व्यवहार अराजकतातर्फ जाने गर्दछ ।
वास्तवमा धेरै मनोवैज्ञानिहरूको अनुसन्धानले के पत्ता लगाएको छ भने बालबालिकाहरूलाई पुस्तक पढाएर वा घोकाएर नैतिकवान र चरित्रवान बनाउन कदापि सकिँदैन । उसलाई नैतिकवान र चरित्रवान बनाउन घरपरिवार, विद्यालय र समाज नैतिकवान भए मात्रै सम्भव हुन्छ । बालबालिकाको नमुना तथा आर्दश उसका बुुवाआमा, परिवारका सदस्य, शिक्षक, समाजका अग्रज समाजसेवी, राजनीतिकर्मी सबै सबै बालबालिकासँग नैतिकवान भएर प्रस्तुत हुनुपर्छ । तर आजको समाज र यसका सदस्यहरू केही प्रतिशत बाहेक प्राय सबैमा नैतिकताको खडेरी छ । भ्रष्टाचार, ठगी, चोरी, ढाँट, छलकपट, कुलत, गालिगलौज जस्ता अनेक तिकडमहरू नभएको समाजै भेट्न गाह्रो भइसक्यो । अनि बच्चाहरू त्यो बाहेक अरु के सिक्छन् । एउटा परिवारमा बुवा बच्चाासँगै बसेर धुम्रपान गर्दछ, सधै मद्यपान गरेर घरमा झै–झगडा गर्दछ त्यस्तो परिवारमा हुर्केको बच्चा कसरी नैतिकवान बन्न सक्छ ? बच्चालाई पढपढ भनि अभिभावकहरू घण्टाँैसम्म मोबाइल, टिभिमा झुन्डिरहने अनि उनको बच्चाले कसरी पढने जाँगर चलाओस् ।
हाम्रो विद्यालय तहको पाठ्यक्रममा नैतिक आचरणका कुराहरू थुप्रै समेटिएका छन् । ती कुराहरू विद्यार्थी हुबहु भनिदिन र परीक्षामा लेखिदिन सक्छन् । शिक्षकले कक्षाकोठामा धुम्रपान, मद्यपान, लागुपदार्थ सेवन गर्नु हुन्न, ढाट्नु हुन्न, चोर्नु हुन्न लगायतका कुराहरू दिमाग भरिने गरि विद्यार्थीहरूलाई कण्ठस्त पार्दिन पनि सक्छन् तर त्यही शिक्षक चार बज्ने बित्तिकै साँइलीको भट्टीमा एक हातमा गिलास र अर्काे हातमा एक बित्ताको चुरोट तान्दै वरिपरि भिजिलान्तेहरू राखेर आर्दश र दर्शनका कुराहरू छाट्छ । कतिबेला स्कुल बिदा होला र एक हात मार्न पाइएला भनेर पढाउने घण्टी भरी सोचेर बस्दछ । विद्यार्थीहरूले आफ्नो आदर्श मानेको शिक्षकलाई जुवाको खालमा बसेको भेट्छन्, बाटोमा पल्टिएको देख्छन् । भोलिपल्ट कक्षामा प्रश्न सोध्छन्–सर हजुरले धुम्रपान, मद्यपान गर्नुहुन्न, जुवातास खेल्नु हुन्न, चोरी ठगी गर्नु हुन्न भनेर सिकाउनु हुन्थ्यो, हिजो हजुरले के गर्नु भएको थियो ? शिक्षकले कि प्रश्न सोध्ने बालकलाई हप्काउछ कि यसो भन्छ–सरले सिकाएको गर्ने हो, सरले गरेको गर्नु हुँदैन । मैले तिमीहरूलाई कहिले मैले गरेका सबै काम गर्नू भनेर सिकाएँ र ? यस्तो जवाफ पाएको बालक कसरी नैतिकवान र चरित्रवान बन्न सक्ला ?
बालबालिकालाई नैतिकता सिकाउन सामाजिक क्षेत्रमा योगदान गरेका थुप्रै मानिसहरू, समाजसेवी, राजनीतिकर्मीहरूको पनि महŒवपूर्ण भूमिका रहन्छ । बालबालिकाहरू लागि उनीहरू पनि नमुना व्यक्ति नै हुन् । तर त्यस्ता अग्रज व्यक्तिहरू रक्सीका भट्टीहरूमा डुबुल्की मार्ने, जुवाका खालहरूमा रमाउने, कमिसन र भ्रष्टाचारमा तल्लीन हुने, विनाकाम दिन भरी लखर लखर डुल्ने, गफ चुटेर बरालिने गर्दछन् । रातदिन मोबाइलमा घोटिएको छ, नानाथरी कुराहरू सामाजिक संजालमा पोष्ट गरेको छ, लाइक कमेन्ट गर्दै बसेको छ, विभिन्न अश्लिल भिडियोहरू पोष्ट गरेको छ, कमेन्ट गर्दै बसेको छ । साना बालबालिकाहरूमा सामाजिक संजालमा भाइरल भएको, सुटबुट लगाएको, गफ चुटेर खाने, डुलेर खाने व्यक्ति साच्चिकै समाजसेवी हो कि, ठूलो र असल मान्छे हो कि भन्ने भान पर्छ र उनीहरूकै नक्कल गर्ने गर्दछन् । सामाजिक संजालमा जति धेरै लाईक कमेन्ट आयो, त्यति धेरै भाईरल हुने भन्ने जुन विकृति विद्यमान छ, जसले गर्दा बालबालिकाहरू जति खेर पनि मोबाइलमा बिजि हुने विभिन्न्न अपाच्य कुराहरू शेयर गर्ने, भाइरल हुने नाममा अनावश्यक भिडियोहरू पोष्ट गर्ने, सामाजिक संजाल मै लडाई झगडा गर्ने, साइबर अपराध गर्ने, जस्ता कुराहरू घरपरिवार समाजबाटै सिकेका हुन् । सानै उमेरमा यस्ता कुराहरू सिकेका बालबालिकाहरू कसरी चरित्रवान र नैतिकवान बन्न सक्छन् ?
वास्तवमा बालबालिकाहरूले व्यवहार चरित्र सिक्नको लागि आफूभन्दा अग्रजहरूको व्यवहारको नक्कल गर्नु नै हो । घरमा उसको बुवाआमा, दाइदिदीले गरेको व्यवहार, विद्यालयमा शिक्षक तथा अग्रज विद्यार्थीहरूले गरेको व्यवहार, समाजका समाजसेवी, गन्यमान्य व्यक्तिहरूले प्रदर्शन गरिरहेका व्यवहार नै उसले व्यवहारमा उतार्ने हो । सानो बच्चालाई हामी सोधाँै न तिमी भविष्यमा के बन्छौ ? उसको जवाफ हुन्छ म फलानो जस्तै सर, डाक्टर, इन्जिनियर, व्यापारी, पाइलट नेता आदि बन्ने हो भन्छ । ऊ जुनबाट प्रभावित भएको छ त्यही बन्ने उसको लक्ष्य हुन्छ । त्यसकारण कि बालबालिकाले आदर्श मान्ने समाजका हरेक व्यक्तिहरू उसका मार्गदर्शक हुन्, नमुना हुन् र उनैका आनीबानी उसका सिकाइका पुस्तकहरू हुन् ।
मुख्यतः बालबालिकालाई कलिलै उमेरदेखि उसका आमाबुवा, शिक्षक, समाजका गन्यमान्य व्यक्तिहरूले राम्रा र चरित्रवान व्यवहारहरू सिकाउँदै जानुपर्छ । उनीहरूलाई नैतिकता सिकाउनका लागि सर्वप्रथम उसका घरका व्यक्तिहरू आर्दश र नमुना बन्न सक्नुपर्दछ । बच्चाहरूको दिमागमा राम्रा कुराहरू भरिदिनु पर्दछ । घरमा सधैँ मिठो बोल्ने, घरका सदस्यहरूले एकले अर्काेलाई अति सम्मान र आदर गर्ने, बालबालिकाहरूलाई पर्याप्त समय दिने, खेल्ने, उनीहरूसँग जहिले नि साँचो बोल्ने, उनीहरूले देख्ने र सुन्ने गरी झै झगडा नगर्ने, धुम्रपान मद्यपान सधैँ बर्जित गर्ने जस्ता सकरात्मक कार्यहरू गर्नुपर्दछ । बालबालिकाहरूले अनुभूति गर्ने गरेर लामो समय मोबाइल टिभीलगायतका साधनहरूमा व्यस्त हुनुहँुदैन । बरु सानातिना कार्यमा सहभागी भइरहने, उनीहरूलाई पनि काममा सहभागी बनाउने सिकाउने गर्नु पर्दछ । गृहकार्य गर्न सघाउने, सगँसगै बसेर ज्ञानगुनका कुराहरू सिकाउने, नैतिकताका कथाहरू सुनाउने गर्नुपर्छ । सामाजिक संजालका गलत कुराहरूबाट टाढा राख्नु पर्दछ । एक्लै छुट्टै कोठामा राखेर घण्टाँैसम्म मोबाइल, टिभीलगायतका साधन प्रयोग गर्न दिनु हुँदैन । अभिभावकसँगै बसाउने ज्ञानमूलक कुराहरू खोज्न लगाउने, हेर्न लगाउने, टिप्न लगाउने जस्ता कार्यमा सहभागि बनाउनु पर्दछ ।
उनीहरूलाई नैतिकवान बनाउन अर्काे महŒवपूर्ण पक्ष भनेको विद्यालय हो । विद्यालयका शिक्षक, अग्रज दाइदिदीहरू उनीहरूका सिकाइ सामग्रीहरू हुन् । उनीहरू बालबालिकाहरूका नमुना बन्न सक्नु पर्दछ कि म फलानो सर जस्तै बन्ने हो भनेर उनीहरूबाट सिकुन् । एक असल शिक्षक विद्यार्थीको साथी पनि हो । उसले बच्चाका हरेक आवश्यकता, चाहाना, रुचि एवम् अन्तर मन बुझेर व्यवहार गर्नु पर्दछ । शिक्षकले विद्यालयमा राम्रा कुराहरू नै सिकाउँछन् । अनुशासन र नैतिकताका पाठहरू पढाउँछन् नै । त्यतिले मात्रै बच्चाहरूको ऊ नमुना बन्न सक्दैन तसर्थ शिक्षक, विद्यालय, घर, समाज र जहाँसुकै एक असल इमान्दार बन्नु पर्दछ । उसले बोल्ने कुराहरू, सामाजिक संजालमा पोष्ट गर्ने विचारहरू, गर्ने व्यवहारहरू सबै र सधै सकरात्मक हुनुपर्दछ । अन्यथा कक्षामा सिकाउने एउटा समाजमा, घरमा व्यवहार अर्काे भयो भने ऊ न समाजको मार्गदर्शक बन्न सक्छ न बालबालिकालाई नैतिकवान र चरित्रवान बनाउन सक्छ ।
समाजमा सामाजिक काम गर्ने अभियन्ता, समाजसेवी, नेता कार्यकर्ता, शिक्षक, कर्मचारी सबैको व्यवहार समाजमा शान्ति कायम गर्ने, सकरात्मक भावना फैलाउने, श्रमप्रति सम्मान गर्ने हुनुपर्दछ । उनीहरूले प्रयोग गर्ने सामाजिक संजालहरू समाजका लागि पाच्य हुनुपर्दछ । एक अध्ययनले के देखाएको छ भने आजको सूचना प्रविधिको युगमा सूचना एवम् जानकारी प्राप्त गर्ने प्रमुख थलो सामाजिक संजाल रहेको छ । त्यसकाण कि हामीले प्रयोग गर्ने संजालहरू सकरात्मक र सदभाव फैलाउने हुनु पर्दछ । भाइरल हुने नाममा अश्लीलता, अपाच्य र नकरात्मक कुराहरू पोष्ट गर्नु हुँदैन किनकि काँचो दिमागका लाखाँै बालबालिबाहरूले त्यसको अध्ययन गरिरहेका हुन्छन् ।
भनिन्छ आजका विद्यार्थी भोलिका कर्णाधार हुन, भोलिका देशका खम्बा हुन । भोलिको मुलुकको भविष्य उनीहरूकै हातमा हुन्छ । भविष्यको एक असल खम्बा बन्नका लागि आजैदेखि उसमा नैतिकताको विकास हुन जरुरी हुन्छ । आजका बालबालिका इमानदार र नैतिकवान भए मात्रै भोलिको समाज सही बाटोमा हिँड्न सक्छ । समाज सभ्य र सुसंस्कृत निर्माण गर्नु छ भने आजका बालबालिकाहरूलाई इमानदार, सभ्य, चरित्रवान र नैतिकवान बनाउन समाजका सबै पक्षहरू जिम्मेवार भएर लाग्न जरुरी हुन्छ । उनीलाई नैतिकवान, चरित्रवान एवम् एक असल नागरिक बनाउन कुनै एक पक्षको प्रयासले मात्रै सम्भव छैन र हुन पनि सक्दैन । उनीहरूको सुन्दर भविष्य निर्माण गर्दिनको लागि घरपरिवार, अभिभावाक, समाज, विद्यालयले संयुक्त रूपमा लाग्न जरुरी हुन्छ ।
(लेखक नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिम्ता–८ साहुखोला सुर्खेतमा कार्यरत शिक्षक हुन् ।)
प्रकाशित मितिः १२ जेष्ठ २०८०, शुक्रबार १७:३६
भुपालसिँह ठकुरी ।