आगलागीले बर्सेनि मासिदै वन
तीन वर्षमा ४५ हेक्टर वन क्षेत्रमा आगलागी
सुर्खेत: आगलागीबाट बर्सेनि हजारौ हेक्टरमा वनजंगल मासिदैं गएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगलागीका कारण हरेक वर्ष वनजंगलमा क्षति हुँदै आएको हो ।
खासगरी गर्मीयामका चैत, वैशाख र जेठ महिनामा डढेलो तथा आगलागीको उच्च जोखिम हुने गर्छ । पछिल्लो करिव तीन वर्षको अवधिमा कर्णाली प्रदेशमा आगलागीबाट ४५ हजार हेक्टर वनमा क्षति पुगेको छ । आगलागीबाट वन मात्र मासिएको छैन्, वन नजिक रहेका बस्ती उच्च जोखिमा पर्ने गरेका छन् । यो अवधिमा आगलागीमा परेर १० जनाको मृत्युसमेत भएको छ भने १६ जना आगलागीमा परेर घाइते भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा २१ हजार एक सय २२ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । सोही आर्थिक वर्षमा तीन जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए ।
यस्तै आर्थिक वर्ष ७८÷७९ मा १३ हजार ६ सय दुई हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । सोही वर्ष आगलागीमा परेर दुई जनाको मृत्यु भएका छ । आर्थिक वर्ष २०७९÷०८० मा हालसम्म ११ हजार एक सय ९९ हेक्टर वन क्षेत्रमा आगलागी भएको कार्यालयले जनाएको छ । पाँच जनाको आगलागीमा परेर मृत्यु भएको छ भने ११ जना घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । वनबाट बस्तीमा आएको आगलागीबाट यस आर्थिक वर्षमा ६ लाख ४२ हजार बराबरको क्षति भएको छ ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता रेणुना न्यौपानेले वनमा लागेको आगोले बर्सेनि क्षति हुँदै आएको बताइन् । उनले जिल्लाहरूमा रहेका वन डिभिजन कार्यालयहरूमार्फत वनको संरक्षण, सम्वद्र्धन र आगलागी नियन्त्रणको कार्यक्रमहरू भइरहेको जानकारी दिइन् । डिभिजन वन कार्यालयहरूले प्रहरी, सामुदायिक वनका उपभोत्ता समिति, स्थानीयलगायतको समन्वयमा आगलागनी हुन नदिन जनचेतना र आगलागी भएपनि नियन्त्रण गर्ने गरेको उनको भनाइ छ । उनले भनिन्, ‘आगलागीबाट वनजंगल नराम्रोसँग विनास हुने गरेको छ । यसको नियन्त्रणका लागि सबैको सहयोग आवश्यक छ ।’
आगलागीबाट वनजंगलमात्र होइन्, वातावरणमा समेत नराम्रो असर पर्ने गरेको छ । डढेलोबाट जंगलमा भएको रुख, जीव जनावर, बहुमुल्य जडिबुटी मासिँदै आएका छन् । वातावरण विज्ञ खगेन्द्र रावलले वनजंगलमा आगो लाग्दा वातावरणीय रूपमा नकारात्मक असर परेको बताए ।
उनले भने, ‘वनजंगलमा आगलागी हुँदा जैविक विविधताको विनास, पारिस्थितिक प्रणालीको विनास हुन्छ । आगलागीले हुँदा भूक्षयको जोखिम हुन्छ । बोट विरुवा नष्ट हुँदा माटो अडाउने केही नहुँदा पहिरो जाने, भूक्षय हुने जोखिम हुन्छ ।’ उनले आगलागीका कारण वायू प्रदुषण बढ्दै जाने बताए । जसले गर्दा तापक्रम वृद्धि हुने, विभिन्न किसिमका रोगहरूको संक्रमण हुने गरेको उनको भनाइ छ ।
प्रकाशित मितिः ७ जेष्ठ २०८०, आईतवार १०:३६
साझा बिसौनी ।