१५ वर्षमा ३० प्रतिशत काम

सुर्खेत: निर्माण थालिएको १५ वर्षमा हुम्लाको सदरमुकाम जोड्ने सडकको काम भने ३० प्रतिशत मात्रै भएको छ । आठ किलोमिटर सडक समयमै बन्न नसक्दा वर्षौंदेखि हुम्लावासी राष्ट्रिय सडक सञ्जालमा जोडिन पाएका छैनन् ।

सरकारले आर्थिक वर्ष २०६५/०६६ बाट सञ्चालनमा ल्याएको उत्तर–दक्षिण लोकमार्ग अन्तर्गत कर्णाली करिडोरको निर्माण गत वर्ष नै सक्ने लक्ष्य लिएको थियो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाएको करिडोरको काम १३ वर्षमा सक्ने लक्ष्य सरकारले लिएको थियो । तर १५ वर्ष बितिसक्दा पनि आयोजना अन्तर्गतको ३० प्रतिशत मात्रै सडक निर्माण सम्पन्न भएको छ । समयमै आयोजनाको काम अगाडि बढ्न नसक्दा त्यसको प्रत्यक्ष मारमा हुम्लावासी पर्दै आएका छन् ।

सिमकोट जोड्का लागि हुम्लाकै लालीबगरदेखि दुलिलकुनासम्मको बाटो पहिला निर्माण गर्नुपर्ने हुन्छ । नेपाली सेनाले जिम्मा लिएको यो सडकखण्ड आठ किलोमिटरको छ । अघिल्लो आर्थिक वर्ष नै सेनाले सडक पूरा गर्ने लक्ष्य लिएपछि हुम्लावासी खुसी भएका थिए । तर तीन वर्ष बितिसक्दा पनि सडक निर्माण नहुँदा हुम्लवासी निराश बनेका हुन् ।

सेनाले सिमकोट जोड्ने लालीबगर–दुलिलकोट सडकखण्डा ठूला चट्टान फोर्न नसक्दा सडक निर्माण पूरा नभएको बताउँदै आएको छ । लामो समय ब्लाष्टिङ बमको अभावमा रोकिएको निर्माणलाई सरकारले गत वर्षहरूमा जस्तै यस वर्ष पनि नीति तथा कार्यक्रम अन्तर्गत आगामी वर्षमै सक्ने योजना लिएको छ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम गर्नै व्यवस्था मिलाउँदै अगामी वर्ष हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिइने छ ।’
तीन वर्षयता सरकारको नीति तथा कार्यक्रममा समेटिएको उक्त बुँदा परिवर्तन भएको छैन । विशेष प्राथामिकताका साथ सिमकोट जोड्ने सडकखण्ड निर्माणलाई सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिरहँदा आठ किलोमिटरकै लागि हुम्लावासी १० वर्षदेखि प्रतीक्षामा छन् ।

कणार्ली करिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि हुम्ला सदरमुकाम जोड्ने एक सय ३७ किलोमिटर सडक निर्माण भइसकेको छ । बाँकी आठ किलोमिटरमा भने भौगोलिक कठिनाई देखाउँदै सेनाले निर्माण रोकेको हो । कर्णाली प्रदेशमा पर्ने हुम्ला जिल्लामा ६ वटा गाउँपालिका छन् । जसमा दुई गाउँपालिकामा सडक पुगे पनि बाँकी चार गाउँपालिकामा गोरेटो मात्रै छ । स्थानीय तहले सरकारलाई सडक बनाउन ताकेता गरिरहे पनि भौगोलिक कठिनाइ देखाउँदै निर्माण कार्यलाई तीव्रता दिन सकेको छैन ।

प्रकाशित मितिः   ७ जेष्ठ २०८०, आईतवार १०:३५