कोपिला माविको अभिभावक दिवस
सुर्खेत: कोपिला माध्यमिक विद्यालय, वीरेन्द्रनगर–९ पर्सेनीको वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयको ५८औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय अग्रसर हुनुपर्ने बताए । पछिल्लो समय सामुदायिक विद्यालयले शिक्षामा फड्को मारेको उनको भनाइ छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा शाक्यले शैक्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजसेवी तथा नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर डाङ्गीले एक लाखको अक्षयकोष स्थापना गरेका छन् । अर्का स्थानीय समाजसेवी लवविक्रम शाहले विद्यालयमा एक लाख एघार हजार एक सय एघार बराबरको अक्षयकोषको स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शैक्षिक सत्र २०७९ मा कक्षा १ देखि ९ सम्म प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थी तथा अनुशासन, सरसफाइ, नियमित उपस्थितिमा उत्कृष्ठ हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । यसैगरी उत्कृष्ट शिक्षक, अभिभावक, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत, भीएसओलाई समेत सम्मान गरिएको विद्यालयले जनाएको छ ।
प्रकाशित मितिः ७ जेष्ठ २०८०, आईतवार १०:३९
साझा बिसौनी ।