कार्यान्वयनमुखि बजेट

कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ । प्रदेशका सबै मन्त्रालयहरूलाई बजेट तर्जुमाका लागि बजेटको सीमा तोकेर सिलिङ पठाइएको छ भने मन्त्रालयहरूले आ–आफ्नो क्षेत्राधिकारभित्रका योजनाहरूसहितको बजेट तर्जुमा गर्दैछन् । मन्त्रालयहरू यतिबेला योजना छनोटदेखि बजेट निर्माणकोे तयारीमा जुटेका छन् । बजेट तयार गर्न मन्त्रालयहरू विभिन्न सरोकारवाला निकाय तथा प्रतिनिधिहरूसँग छलफलसमेत गरिरहेका छन् । प्रदेश सरकारको आगामी बजेटको आकार भने घट्ने भएको छ । संघीय सरकारले दिने अनुदानमा कटौती भएपछि आर्थिक वर्ष २०८०÷०८१ को बजेटको आकार भने घट्ने भएको हो ।

संघीय सरकारले वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटको सिलिङ घटाएर पठाएको छ । आगामी वर्षका लागि वित्तीय समानीकरण अनुदान अन्तर्गत दश अर्ब १६ करोड बजेटको सीमा अनुमान प्राप्त भएको छ । यो चालु आर्थिक वर्षको भन्दा करिब ५६ करोड कम हो । चालु आर्थिक वर्ष २०७९÷०८० मा दश अर्ब ७२ करोड वित्तीय समानीकरणतर्फको बजेट सीमा रहेको थियो । हालसम्म प्रदेश सरकारलाई ६ अर्ब २९ करोड ९१ लाख बजेट मात्र प्राप्त भएको छ । एक अर्ब ३४ करोड बजेट प्रदेश सरकारलाई आउन बाँकी छ । यसअर्थमा पनि कूल आउने भनिएको बजेटमा तीन अर्ब आठ करोड घटेर आउने देखिएको छ । संघीय सरकारले नै अनुदान कटौती गरेपछि प्रदेशको बजेट पनि घट्ने भएको हो । चालु आर्थिक वर्षका लागि कर्णाली सरकारले ३२ अर्ब ३१ करोड ६१ लाख बराबरको बजेट ल्याइएको थियो । मन्त्रालयका अनुसार आगामी वर्षका लागि ३० अर्बभन्दा सानो आकारको बजेट आउनेछ । २८ देखि २९ अर्ब हाराहारीमा हुने आकलन गरिएको छ ।

विगतमा भने प्रदेश सरकारले हरेक आर्थिक वर्षमा बजेटको आकार बढाउँदै आएको थियो । प्रदेश सरकार गठन भएपछिको पहिलो चौमासिकका लागि एक अर्ब दुई करोड पाँच लाख रूपैयाँ बराबरको वार्षिक बजेट निर्माण गरिएको थियो । त्यसपछिका हरेक आर्थिक वर्षमा भन्दा ३० अर्ब हारहारीकै बजेट आउने गरेको छ । तर दोस्रो कार्यकालको सुरुवाती वर्षमै बजेटको आकार भने घट्ने भएको छ । आन्तरिक स्रोत कमजोर हुँदा बजेटको आकार घटाउनुपरेको हो । त्यसो त विगतमा पनि सरकारले पर्याप्त बजेट खर्च गर्न सकेको छैन । विनियोजित खर्च नहुने गरेको परिस्थितमा बजेटको आकारभन्दा पनि प्रभावकारी र कार्यान्वयनमूखि योजना र बजेट बनाउनेतर्फ ध्यान दिन जरुरी छ । सरकारको जोड यसमा हुनुपर्ने देखिन्छ ।

प्रकाशित मितिः   ३ जेष्ठ २०८०, बुधबार ०५:०३