प्रदेश र स्थानीय सरकारबीच छलफल
सुर्खेत: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट बनाउने क्रममा स्थानीय सरकारसँग छलफल अघि बढाएको छ । सुझाव संकलनका लागि मंगलवारदेखि वीरेन्द्रनगरमा स्थानीय तह र प्रदेश सरकारबीच छलफल सुरु भएको छ ।
प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रम र बजेट कस्तो ल्याउने भन्ने विषयमा सबै निकायका व्यक्तिसँग सुझाव मागिरहेको छ । सोही क्रममा कर्णालीका स्थानीय तहसँग पनि बृहत् छलफल गर्ने योजनाअनुसार कार्यक्रम आयोजना गरिएको हो । प्रदेश र स्थानीय सरकारबीच विकासका लागि हुनुपर्ने समन्वय र साझेदारीलाई कसरी प्रभावकारी बनाउने भन्ने नै छलफलको उद्देश्य रहेको बताइएको छ । ‘यसअघि प्रदेश सरकारले पनि स्थानीय सरकारले बनाउने खालका योजनाहरू गाउँमा पठाउने, ती योजनाबाट राम्रो प्रतिफल र प्रभावकारिता नदेखिने समस्या छ,’ मुख्यमन्त्री राजकुमार शर्माले भनेका छन्, ‘अब प्रदेशले अलि बृहत् खालका योजनामात्र बनाउने लक्ष्य लिएको छ र सोहीअनुसार कुन तहले कतिसम्मको योजना बनाउने भन्ने विषयमा यो बैठकमा बृहत् छलफल हुनेछ ।’
बैठकमा प्रदेशका सबै मन्त्री, सांसद, प्रतिनिधिसभा सदस्य, जिल्ला समन्वय प्रमुखहरू, स्थानीय तहका प्रमुख, प्रदेश सरकारका सचिव, विज्ञ तथा प्राध्यापकहरू सहभागी छन् । छलफल बुधवारसम्म चल्ने जनाइएको छ ।
प्रकाशित मितिः ३ जेष्ठ २०८०, बुधबार ०५:०१
साझा बिसौनी ।