बजेटबारे सुझाव संकलन गर्दै सरकार

सुर्खेत: आगामी बजेटसहित नीति तथा कार्यक्रम निर्माणका लागि कर्णाली प्रदेश सरकारले सुझाव संकलन गर्न थालेको छ । विभिन्न क्षेत्रसँग सुझाव संकलन गर्नेक्रममा मुख्यमन्त्री राजकुमार शर्माले आइतवार पत्रकारसँग छलफल गरेका छन् ।

छलफलमा सहभागी पत्रकारहरूले वितरणमुखी नीति, कार्यक्रम र बजेट नल्याउन सुझाव दिएका थिए । बजेट कार्यान्वयनका सन्दर्भमा सरकार सधैँ चुकिरहेको भन्दै कार्यान्वयन, अनुगमनमा कडाई गर्नुपर्नेमा जोड दिएका छन् । जवाफमा मुख्यमन्त्री शर्माले प्रदेशमा अझै पनि ठूलो संख्यामा कर्मचारी अभाव रहेको जानकारी दिँदै योजना कार्यान्वयनमा समस्या हुने गरेको जनाए ।

त्यसैगरी तीन वटै तहका सरकारबीच समन्वय अपरिहार्य रहेकोमा मुख्यमन्त्री शर्माको जोड थियो । ‘प्रभावकारिता देखाउने कुरा महŒवपूर्ण भएकाले साझा संकल्पको साथ कसरी अघि बढ्न सकिन्छ भन्ने कुरामा हामी लागिरहेका छौँ,’ मुख्यमन्त्री शर्माले भने, ‘अधिकारका कुराहरू कतै न कतै नमिलेको जस्तो छ ।’

प्रदेश सञ्चालनमा सार्वजनिक खरिद ऐन, कानुनले समस्या बनाइरहेको मुख्यमन्त्री शर्माको भनाइ छ । उनले अहिले सार्वजनिक खरिद ऐन जनअनुकूल नभएको र विशेषगरी कर्णाली मैत्री नभएको बताए । अर्काको खुट्टा तानेर आफू अगाडि दौडिन खोज्ने प्रवृत्ति हावी भइरहेको भन्दै मुख्यमन्त्री शर्माले अहिलेको समाज समस्या नै समस्याले गाजिएको बताए । उनले भने, ‘हामी सामन्तवादी समाजको उपज हौँ । यसको प्रभाव अहिले पनि हामीसँग छ । जसले समस्या भइरहेको छ । सोचहरू समाजभन्दा आफूतिर मात्र बढी केन्द्रित भइरहेका छन् ।’ उनले आगामी बजेट, नीति तथा कार्यक्रममा छुट्टै नयाँ सोच नसोचेको तर कार्यान्वयनलाई प्रभावकारी बनाउन आफू केन्द्रित रहेको बताए ।

आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेटलाई प्रभावकारी बनाउनका लागि सबै क्षेत्रका सुझाव लिने मुख्यमन्त्री शर्माले बताए । सुझाव संकलनकै लागि जेठ १ र २ गते स्थानीय तहसँग पनि छलफल गर्ने तयारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको छ ।

प्रकाशित मितिः   १ जेष्ठ २०८०, सोमबार ०५:०२