सुर्खेतमा ‘छाउपडी मेला’
सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरमा ‘छाउपडी मेला’ को सञ्चालन हुने भएको छ । महिनावारी व्यवस्थापनसम्बन्धी विविध विषयमा जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।
कर्णाली प्रदेशमा महिनावारी व्यवस्थापनको क्षेत्रमा कार्यरत विभिन्न विकास साझेदार संघ संस्थालगायत सरोकारवालाहरूको साझा मञ्चको रूपमा स्थापित कदम अभियानले उक्त मेलाको आयोजना गर्न लागेको हो । मेला सोमवार सञ्चालन हुँदैछ ।
कदमको पूरा रुप मर्यादित महिनावारीका लागि कर्णाली एलाइन्स हो । सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास महाशाखा प्रमुखको अध्यक्षतामा गठन गरिएको उक्त सञ्जालमा हाल ३० भन्दा बढी संघसंस्था आवद्ध छन् । एलाइन्सले मर्यादित महिनावारी सम्बन्धमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।
हरेक वर्ष मे २८ मा मनाइने विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारी कदमले सुर्खेतको वीरेन्द्रनगरमा छाउपडी मेलाको आयोजना गर्न लागेको हो । उक्त मेलामा छाउपडीसम्बन्धी जनचेतनामूलक देउडा खेल प्रतियोगिता तथा कदमको सद्भावना दुत समेत रहनुभएकी कालाकार सुनिता विसीको सांगीतिक प्रस्तुति रहने संयोजक अनिता ज्ञवालीले जानकारी दिइन् ।
कार्यक्रम वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै रहेको खुल्ला चौरमा हुने छ । कदमको सचिवालय संस्था सुस्वाका राजु तिरुवाका अनुसार कदमले विश्व महिनावारी स्वच्छता दिवसको सन्दर्भमा ‘महिनावारी हुँदा पर हैन घर’ भन्ने कर्णालीमैत्री नारासमेत तय गरेको छ । अभियानका सदस्य संस्था केडका कार्यक्रम संयोजक समेस भट्टराईका अनुसार मेलामा छाउपडीसम्बन्धी जानकारी दिन विभिन्न स्टलहरू हुन्छन् । उनले भने, ‘यस्तो मेलामा सहभागीले महिनावारी तथा स्वच्छतासम्बन्धी धेरै कुराको जानकारी पाउँछन् ।’
प्रकाशित मितिः १ जेष्ठ २०८०, सोमबार ०५:०१
साझा बिसौनी ।