लम्पी स्किनबारे सचेतना
पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण बढ्दै गएको छ । यो विशेष गरेर गाईभैंसीलाई हुने एकदमै संक्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ । संक्रमित गाईभैंसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवम् पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिने जानकारहरू बताउँछन् ।
कर्णाली प्रदेशका डोल्पा र मुगु बाहेकका सबै जिल्लाहरूमा फैलिएको लम्पी स्किन रोगका कारण अहिले पशुचौपाया धमाधम बिरामी पर्न थालेका छन् । सबै जिल्ला ‘लम्पी स्किन’ रोगको जोखिममा रहेकाले सावधानी अपनाउन समेत अपिल गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी गाईगोरुमा रोगको समस्या देखिएको छ । अहिले तीव्र रूपमा फैलिन थालेकाले सचेत हुन जरुरी देखिन्छ । रोग देखिएका ठाउँमा उपचार गरेर केही हदसम्म न्यूनीकरण भएको छ । तर, पूर्णरूपमा रोग नियन्त्रणमा आउन सकेको छैन । रोग लागेका पशुचौपायालाई निरोगी पशु चौपायादेखि टाढै राख्नुपर्ने, माखा, लामखुट्टेको टोकाईबाट पशु चौापयालाई जोगाउन समेत सुझाव दिने गरिएको छ । विज्ञहरूकाअनुसार रोगी पशु र निरोगी पशुको बसाई, खानपिन अलग–अलग बनाउनुपर्छ । कोरोनाको बेलामा मान्छे आइशोलेसनमा बसैझैँ यो रोग देखिएका पशुहरूलाई आइशोलेसनमा राखिनुपर्छ । रोग लागेकामध्ये बढीमा दश प्रतिशत पशु मरेका छन् ।
‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि जेठको पहिलो साता भ्याक्सिन नेपालमा ल्याइने जनाइएको छ । उक्त भ्याक्सिन सुरुमा कर्णालीका लागि माग गरिएको छ । यो रोगको प्रभावकारी उपचार छैन । त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन् । रोग लाग्न नदिन खोप लगाउँदै आइएको छ । तर रोग लाग्न नदिनका लागि भ्याक्सिनेशन हो । सङ्क्रमण भएको बेला खोप लगाउन हुँदैन । भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग निको हुन्छ । एक पटक यो रोग लागेपछि एन्टिबडी बनेका कारण दोहो¥याएर गाईभैंसीलाई फेरि लाग्दैन । त्यसैले रोग लाग्न नदिने सतर्कता अपनाउनु नै उत्तम हुने सुझाव विज्ञहरूको छ । लम्पी स्किन रोग नियन्त्रणका लागि तीनवटै तहका सरकारहरू समन्वय गरी अगाडि बढ्नुपर्ने देखिन्छ भने किसानहरूलाई यसका बारेमा बढीभन्दा बढी जानकारी दिन उत्तिकै अपरिहार्य छ ।
प्रकाशित मितिः १ जेष्ठ २०८०, सोमबार ०५:०३
सम्पादकीय ।