गुनासो सुन्ने विधि
सार्वजनिक सेवा नागरिकमैत्री हुनुपर्दछ । सेवाग्राहीको हितलाई मध्यनजर गर्दै सरकारी कार्यालयहरूले दिने सेवामा सुधार हुनुपर्दछ । यसका लागि नागरिकका प्रक्रिया सुन्नु र सुधार गर्नु अपरिहार्य हुन्छ । नागरिकका गुनासा वा सुझाव संकलन गर्न भनेर सरकारी कार्यालयहरूमा सुझाव वा गुनासो पेटिका राखिएको हुन्छ । यसले सार्वजनिक सेवालाई सुधारका लागि सहयोग गर्नुका साथै पारदर्शिता, जिम्मेवारीबोध र उत्तरदायित्व निर्वाहमा सघाउ पुग्ने आम अपेक्षा हो । विगतमा यस्ता सुझाव तथा गुनासो पेटिकाहरूको प्रयोग निकै हुने गर्दथ्यो । जुन प्रभावकारी पनि थियो । तर पछिल्लो समय भने यसको प्रयोग घटेको छ । प्रविधिको विकाससँगै गुनासो पेटिका प्रयोगविहीन बनेका छन् ।
पछिल्लो समय सरकारी कार्यालयमा गुनासो पेटिका राखिएपनि प्रयोग हुने गरेका छैनन् । बढ्दो सूचना र प्रविधिको प्रयोगले ति गुनासो पेटिकाहरू प्रयोगमा नआएका हुन् । सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ति तथा अनियमितताबारे सेवाग्राहीको गुनासोको सुनुवाई गर्न कार्यालयहरूमा राखिएका गुनासो पेटिकाहरू अहिले प्रयोगविहीन बनेका हुन् । नागरिकलाई प्रदान गरिने सेवाबारे उनीहरूका गुनासा संकलन गरी वस्तु तथा सेवा प्रवाहमा प्रभावकारीता ल्याउने उद्देश्यले हरेक सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले उजुरी पेटिका राखेका हुन्छन् । तर ति उजुरी पेटिकाहरू प्रयोगविहीन बनेका छन् । पछिल्लो समय नागरिकहरूको भरपर्दो माध्यम इन्टरनेट बनेको छ । सुर्खेतका सबैजसो कार्यालयहरूले उजुरी पेटिका राखेका भएपनि ति उजुरी पेटिकाहरू अहिले प्रयोगविहीन बनेका छन् । जिल्लाका मुख्य कार्यालय तथा अन्य ग्रामीण भेगहमा रहेका कार्यालयहरूमा राखएिका उजुरी पेटिका प्रयोग विहीन बनेका हुन् । आधुनिक सञ्चार प्रविधिको विकाससँगै सेवाग्राहीहरूले उजुरी पेटिका प्रयोग नगरेपछि विभिन्न कार्यालयहरूले राखेका उजुरी पेटिकाहरू माकुराको जालोले भरिएका छन् । अलिकति भएपनि विगतमा केही सुझावहरू आउने गरेकोमा पछिल्लो समय भने लिखित गुनासा (उजुरी पेटिकामा) नआउने गरेको कार्यालयहरू बताउँछन् । कार्यालयहरूमा राखिएका गुनासो पेटिकामा फाटफूट मात्र गुनासो संकलन हुने गरेका छन् ।
हरेक सरकारी कार्यालयहरूमा नागरिकहरूको गुनासो, उजुरी र सुझाव संकलनका लागि उजुरी पेटिकाको राख्ने गरिएको हुन्छ । कार्यालयको बाहिरी भित्तामा झुण्ड्याइएको उजुरी पेटिका प्रविधिको प्रयोगसँगै प्रयोग विहीन बनेका हुन । गुनासो राख्ने अरु विकल्प धेरै भएपछि विभिन्न कार्यालयमा राखेका गुनासो पेटिकामा सेवाग्राहीले गुनासो राख्ने चलन हुँदै गएको हो । प्रविधिको विकास भएसँगै सेवाग्राहीले अरु माध्यमबाटै आफ्ना गुनासा व्यक्त गर्दा गुनासो पेटिकाहरू खाली भएको देखिन्छ । समय र प्रविधिले फड्को मारिरहँदा नागरिकको सुझाव तथा गुनासो संकलन गर्ने विधिमा पनि परिवर्तन हुनसक्दछ । यसका लागि सार्वजनिक सेवा प्रदायकले उपयुक्त विकल्प र विधि अबलम्बन गर्न भने जरुरी छ ।
प्रकाशित मितिः २९ बैशाख २०८०, शुक्रबार ०५:०३
सम्पादकीय ।