कर्णालीमा फैलियो ‘लम्पी स्किन’: मर्न थाले चौपाया, किसान चिन्तित
सुर्खेत: दैलेखको दुल्लू नगरपालिका वडा नं. १३ का भीमबहादुर भण्डारीलाई गोठमा बिरामी भएर थलिएका गाइ–गोरुको पिरलो छ । १५ दिनसम्म ‘लम्पी स्किन’ रोगबाट थलिएको उनको एउटा गोरु म¥यो । गोरुको शरीरमा सुरुमा फोका उठ्यो । त्यसपछि शरीरभरी फैलियो । उनले भने, ‘१०÷१५ दिनसम्म गोरु रोगले थलियो । खेतीपाती लगाउने बेलामा गोरु म¥यो ।’ औषधी उपचार गर्दा पनि निको नभएपछि समस्या थपिएको भण्डारी बताउँछन् । आफूले पहिलो पटक यस्तो डरलाग्दो रोग पशुमा देखेको उनले बताए । उनी भन्छन्, ‘अब त खेतीपातीको बेला सुरु भयो । एउटा गोरु म¥यो । बाचेका गोरु हिँड्न सक्दैन ।’
सोही वडाका जीवन भण्डारीले गाउँमा ‘लम्पी स्किन’ रोगले गाइ–गोरु भटाभट मर्न थालेको बताए । रोगको सामान्य उपचार गरिएपनि गाइवस्तु बचाउन मुस्किल भइरहेको उनको भनाइ छ । उनले भने, ‘गाइगोरु बिरामी देख्दा मन पोल्छ । यो रोगको भ्याक्सिन उपलब्ध छैन । उपचारको लागि प्राविधिक टोली कोही आउनु भएको छैन । बजारबाट ल्याएको मल्हमले काम गरेन ।’ रोगले गर्दा उनको पनि एउटा गोरु म¥यो । गाउँमा यो रोग महामारीका रूपमा फैलिदै गएको उनले बताए । उनले भने, ‘गाईगोरुमा मात्र यो रोग देखिएको छ । भैसी र बाख्रामा समस्या देखिएको छैन ।’ गाईगोरुका साप्रा सुन्निएर ठूलो हुने, घाउँ पाक्ने र किरा परेपछि थप समस्या हुनेगरेको भण्डारीले बताए । उक्त रोगले छोइसकेपछि गाईगोरुले राम्रोसँग घास समेत खान सक्दैनन् ।
नौमुले गाउँपालिका वडा नं. ६ दैलेखकी निर्मला बुढाक्षेत्रीले खेती लगाउने समयमा गोरु रोगले थलिँदा चिन्तित बनेको बताइन् । बर्खेबाली धानमकै छर्नेबेलामा गाईगोरुमा रोग देखिएको छ । उनले भनिन्, ‘गाईगोरुको शरीरका विभिन्न भागहरूमा साना साना घाउ देखिए । गिर्खाहरू देखिने, सुन्निने, उच्च ज्वरो आउने, कचेरा वा सिंगान बग्ने, मुखबाट फिंज निकाल्ने जस्ता समस्या देखिएका छन् ।’ रोग बढ्दै जाँदा घाउँ ठूलो हुँदै जाने, किरा पर्ने गरेको उनले सुनाइन् । गाउँपालिकाबाट आएको पशु स्वास्थ्यकर्मीको टोलिले सामान्य उपचार गरेको भएता पनि रोग नियन्त्रणमा नआएको उनको भनाइ छ । नौमुले गाउँपालिकाले प्रत्येक वडामा पशुस्वास्थ्य प्राविधिक प्रत्येक वडा–वडामा परिचालन गरेको जनाएको छ । स्थानीय रत्नबहादुर बुढाले गाइगोरु एक महिनादेखि उक्त रोगबाट थलिएको बताए । सामान्य घरेलु उपचार बाहेक कुनै उपचार हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘औषधीको टुँगो लागेको छैन । खेती लगाउने बेला भयो । निकै समस्या परेको छ ।’
आठ जिल्लामा ‘लम्पी स्किन’
प्रदेशका डोल्पा र मुगु बाहेकका सबै जिल्लाहरूमा फैलिएको लम्पी स्किन रोगका कारण अहिले पशुचौपाया धमाधम बिरामी पर्न थालेका छन् । सबै जिल्ला ‘लम्पी स्किन’ रोगको जोखिममा रहेकाले सावधानी अपनाउन समेत अपिल गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी गाईगोरुमा रोगको समस्या देखिएको मन्त्रालयका पशुपन्छी विकास महाशाखा प्रमुख प्रचण्ड खड्काले बताए । उनका अनुसार रोग देखिएपछि नियन्त्रणको लागि गाउँ तथा नगरपालिका समेत लागिपरेका छन् । अहिले तीव्र रूपमा फैलिन थालेकाले सचेत हुन अनुरोध गरिएको छ । उनले भने, ‘देखिएका ठाउँमा उपचार गरेर केही हदसम्म न्यूनीकरण भएको छ । तर, पूर्णरूपमा रोग नियन्त्रणमा आउन सकेको छैन ।’ रोग लागेका पशुचौपायालाई निरोगी पशु चौपायादेखि टाढै राख्नुपर्ने, माखा, लामखुट्टेको टोकाईबाट पशु चौापयालाई जोगाउन समेत सुझाव दिने गरिएको खड्काले बताए । उनले भने, ‘रोगी पशु र निरोगी पशुको बसाई, खानपिन अलग–अलग बनाउनुपर्छ । कोरोनाको बेलामा मान्छे आइशोलेसनमा बसैझैँ यो रोग देखिएका पशुहरूलाई आइशोलेसनमा राखिनुपर्छ’ उनले भने, ‘रोग लागेकामध्ये बढीमा दश प्रतिशत पशु मरेका छन् ।’ किसानहरूलाई सचेत पार्ने र पशुचौपायालाई उपचार गर्ने काममा मन्त्रालय लागेको उनले बताए ।
भ्याक्सिन ल्याइँदै
‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि जेठको पहिलो साता भ्याक्सिन नेपालमा ल्याइँदैछ । उक्त भ्याक्सिन सुरुमा कर्णालीका लागि माग गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नरहरिप्रसाद घिमिरेले बताए । उनले भने, ‘अहिलेसम्म रोग नियन्त्रणका लागि अन्य उपाय मात्रै अपनाइएको छ । आउँदो आइतवारसम्म नेपालमा भ्याक्सिन आउँदैन । हामीले सुरुमा कर्णालीमा माग गरेका छौँ ।’ जोर्डनबाट भ्याक्सिन ल्याइनेछ ।
साझा बिसौनी ।