लगानीको वातावरण
कर्णाली प्रदेश सरकारले सुरुवातदेखि नै लगानी सम्मेलन आयोजनाको निर्णय गरेपनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । कर्णालीमा लगानीमैत्री वातावरण सिर्जना गर्न र विकास साझेदार संस्थाहरूको आकर्षण बढाउन आयोजना गर्ने भनिएको प्रदेशस्तरीय लगानी सम्मेलन हरेक वर्ष अन्योलमा पर्ने गरेको छ । पछिल्लो पटक पुनः सम्मेलन आयोजनाका लागि तयारी गरिएको छ । प्रदेश योजना आयोगले आगामी असोजभित्रै सम्मेलन गर्ने लक्ष्यसहित तयारी अघि बढाएको छ । लगानी सम्मेलनको मुख्य उद्देश्य बाह्य लगानी भित्र्याउनु हो । जुन कर्णालीको विकासमा अपरिहार्य छ । विकासमा पछि परेको प्रदेशमा ठूलो लगानी भिœयाउन जरुरी छ । यसका लागि लगानी सम्मेलन गरी लगानीकर्ता भिœयाउनु उपयुक्त विकल्प हुन सक्दछ ।
औद्योगिक विकासका दृष्टिले कर्णाली प्रदेश पछि छ । यहाँ ठूलो लगानीका उद्योगहरू छैनन् । केही मझौला तथा अधिकांश साना र घरेलु उद्योगहरू छन् । भएका पनि पूर्ण रूपमा व्यावसायिक हुन सकिरहेका छैनन् । तिनका आफ्नै चुनौती छन् । जसका कारण कर्णालीको आर्थिक विकासको गति सुस्त छ । आर्थिक स्तरमा सुधार हुन नसक्दा अन्य विकास निर्माणमा पनि पछि परिरहेको अवस्था छ । यसको मुख्य कारण लगानी नबढ्नु हो । लगानीको वातावरण बन्न नसक्नु हो । लगानीकर्ताहरू आकर्षित नहुनु हो । तर कर्णालीमा लगानीका पर्याप्त स्रोत र सम्भावनाहरू छन् । कर्णालीमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरू पनि इच्छुक देखिएका छन् । यहाँको कृषि, जडिबुटी, जलविद्युत र पर्यटन जस्ता क्षेत्रमा लगानी गर्नका लागि विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सकिने सम्भावना रहेको छ । विभिन्न समयमा विभिन्न देशका लगानीकर्ता कम्पनीहरूले पनि कर्णालीको अध्ययन अवलोकन गरिसकेका छन् । तर तिनलाई लगानी गर्ने वातावरण सिर्जना गर्न राज्य चुकिरहेको छ । सरकारी होस् या निजी क्षेत्रबाट लगानी भित्र्याउन ठोस पहल हुन सकेको छैन । यद्यपि, कर्णाली प्रदेश सरकारले पछिल्लो समय केही प्रयास भने गरेको छ । यसैक्रममा लगानी सम्मेलन आयोजना गर्नेदेखि परियोजना बैंक निर्माण लगायतका योजना अघि सारेको छ । तर त्यसलाई कार्यान्वयन गर्न सकिरहेको छैन ।
कर्णालीमा लगानीका क्षेत्र प्रशस्त छन् । पूर्वाधार निर्माणदेखि औद्योगिक विकाससम्म । पर्यटन उद्योगमा लगानी बढाउन सकिने प्रचुर सम्भावना छ । जलविद्युत अर्को ठूलो सम्भावनाको क्षेत्र हो । कृषिजन्य उत्पादन होस् वा जडिबुटीमा लगानी भिœयाउन सके आर्थिक विकासमा फड्को मार्न सकिने अवस्था कर्णालीमा छ । तर भएका सम्भावनाहरूको सदुपयोगमार्फत लाभ लिन सक्नुपर्दछ । लगानी सम्मेलनमार्फत लगानी भिœयाउन सके कर्णालीको समग्र विकासमा टेवा पुग्ने निश्चित छ ।
प्रकाशित मितिः २५ बैशाख २०८०, सोमबार ०९:३२
सम्पादकीय ।