रणनैतिक योजनामा छलफल

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ फागुन ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयको दीर्घकालीन रणनीति निर्माण सम्बन्धी अन्तरक्रिया गरिएको छ । विश्वविद्यालयको २० वर्षे शैक्षिक रणैनैतिक योजना निर्माण सम्बन्धी बुधवार वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
विज्ञान तथा प्रविधि सङ्काय र विज्ञान तथा प्रविधि केन्द्रीय महाविद्यालयको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा विश्व–विद्यालयको दीर्घकालीन विकासका लागि गर्नुपर्ने कामका बारेमा छलफल गरिएको छ । कार्यक्रममा विज्ञान तथा प्रविधि सङ्कायका सहायक डीन पदमराज जोशीले २० वर्षे शैक्षिक अवधारणा पत्र प्रस्तुत गरेका थिए । उक्त अवधारणा पत्रका आधारमा छलफल गरिएको थियो । 
कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. नवराज कणेलले विश्वविद्यालयका शैक्षिक गतिविधिहरू मध्यपश्चिमाञ्चल क्षेत्रमा मात्रै नभइ राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा फैलाउनुपर्ने बताए । 
साथै गुणस्तरीय शिक्षाका लागि दक्ष जनशक्तिको आवश्यकता हुने भएकोले २० वर्षे रणनीतिमा उक्त कुराको पनि समावेश गरिनुपर्ने उनको बताए । कार्यक्रमका सभापति केशरसिंह रानाले विश्वविद्यालयबाट उत्पादित जनशक्तिको उचित व्यवस्थापनका लागि रणनैतिक कदम चालिने बताए । 
विज्ञान तथा प्रविधि सङ्कायका सहायक प्राज्ञिक निर्देशक कृष्णप्रसाद चपाईको संयोजकत्व र उपप्राध्यापक चित्रबहादुर केसीले सहजीकरणमा भएको कार्यक्रममा सहभागीहरूलाई विज्ञान तथा प्रविधि केन्द्रीय महाविद्यालयका प्राज्ञिक निर्देशक तारणीप्रसाद यादवले स्वागत गरेका थिए । 
कार्यक्रममा सुर्खेत जिल्ला विभिन्न राजनीतिक दलहरूका प्रतिनिधिहरू, शिक्षा सरोकारवालाहरू, समाजसेवी, बुद्धिजीवि, प्राध्यापक र विद्यार्थीहरू लगायतको सहभागिता रहेको थियो । 
प्रकाशित मितिः   ६ फाल्गुन २०७२, बिहीबार ०७:२८