सिम्तामा धार्मिक महोत्सव

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ फागुन ।
पूर्वी सुर्खेतको राकममा सिम्ता धार्मिक महोत्सव सुरु भएको छ । राकममा रहेको सिम्ता बहुमुखी क्याम्पसको समग्र विकास र प्राविधिक विषय सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । उक्त महोत्सवको बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले उद्घाटन गरेका छन् ।
यही फागुन १२ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलले धर्मलाई सामाजिक विकासमा जोड्नुपर्ने बताए । मुलुक धर्म निरपेक्ष घोषणा भइसकेको भन्दै उनले अब धर्मको नाममा विवाद र बहस गर्नुभन्दा पनि धर्मलाई सामाजिक काममा जोड्नुपर्ने बताए । शिक्षाको विकासमा यस्ता महोत्सवहरूले महŒवपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ । साथै मन्त्री पोखरेलले सुर्खेतको शिक्षाको विकास र संस्कृतिको संरक्षणका लागि सरकारले सक्दो सहयोग गर्ने समेत आश्वासन दिए ।
मन्दिरमा पूजा गर्नु र मूर्ति स्थापना गर्नुलाई मात्र धर्म ठान्ने नभइ अब सामाजिक सेवालाई नै धर्मको रूपमा लिनुपर्ने मन्त्री पोखरेलेको भनाइ छ । सिम्तामा सुरु भएको धार्मिक महोत्सवले त्यस क्षेत्रको शिक्षाको विकासमा टेवा पुग्ने भन्दै उनले अब स्थानीय विद्यार्थीले गाउँमै प्राविधिक शिक्षा पाउने विश्वास व्यक्त गरे । साथै उनले यस्तो सामाजिक विकास र सेवाको भावना राखेर सञ्चालन हुने महोत्सवहरूलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिए । सो अवसरमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले सामाजिक विकासमा सबैले धर्मलाई अगाडि बढाउनुपर्ने बताए । धर्मको कुनै जात र वर्ण नहुने भन्दै उनले अरुको सेवा नै धर्म भएको बताए । महोत्सवले सिम्ता क्षेत्रको शैक्षिक विकासमा सहयोग पुग्ने उनको भनाइ छ । साथै उनले शिक्षाको विकासका लागि आफ्नो पार्टी सधैं प्रतिबद्ध रहेको बताए । 
महोत्सवमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाले प्राविधिक शिक्षाको विकासमा सबैको साथ आवश्यक रहेको बताए । साथै उनले ग्रामीण क्षेत्रमा समेत प्राविधिक शिक्षाको पहुँच विस्तार हुन थालेको धारणा राखे । महोत्सवमा गोविन्दशरण महाराज र पूज्यदिदी मिरादेवीले प्रवचन दिनेछन् । महोत्सवबाट करिब पाँच करोड रकम सङ्कलन गर्ने लक्ष्य रहेको महोत्सव आयोजक समितिका महासचिव कविन्द्र केसीले जानकारी दिए । महोत्सवबाट सङ्कलन भएको रकम सिम्ता बहुमुखी क्याम्पसको विकासमा खर्च गरिने समेत उनले जानकारी दिए । महोत्सवमा सिम्ता क्षेत्रका जनताको उल्लेख्य सहभागिता रहेको छ । 
प्रकाशित मितिः   ६ फाल्गुन २०७२, बिहीबार ०७:३३