यात्रा संस्मरण

नुवाकोट हुँदै रसुवा

नुवाकोटबाट फर्की आएपछि ढाड दुख्ने बिरामले हल्ल न चल्ल बनायो । सोच्ने शक्ति र बसेर लेख्ने साहास भएन । दुई दिनसम्म बिस्तारामा पल्टीरहेँ, मेरुदण्ड भाँचिएर सुतेको बिरामीझै । साहित्य संगम नुवाकोटले प्रदान गरेको आजीवन सदस्यताको प्रमाणपत्र भने उदासी मुद्रामा पूर्व फर्केर नुवाकोट नियालीरहेको आभाष भयो । यति सुन्दर कार्यक्रम र भेटघाटमा भएका अनुभूतिहरूलाई शब्दमा बुन्न सकिएन भने नुवाकोट यात्रा भविष्य सम्झेर पछुताउनुको विकल्प नहुने देखेपछि सम्झन थाले यात्राका परिघटनाहरू ।

पंत्तिकार र साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमीसँगको परिचय सामाजिक सञ्जालको माध्यमद्वारा चार वर्षअघि भएको थियोे । नुवाकोटमा भइरहने उहाँका साहित्यिक गतिविधिले अझै हामी नजिक भयौँ । यद्यपि, नुवाकोटमा हुने साहित्यिक अनुष्ठानमा उहाँले मलाई पटक–पटक नबोलाएको पनि होइन तर म केही न केही बहाना बनाएर टारीरहन्थेँ । यो साल भन्ने बहाना बनाएर आलटाल गर्ने छुट समयले पनि दिएन ।

चैत ३० गते सुर्खेतदेखि काठमाडौंको लागि प्रस्थान गरेपछि नयाँ साल वैशाख १ गते मैले काठमाडौं बसपार्कमा खुट्टा टेकेँ । धुलाम्य हुलियाको शरीर लिएर रत्नपार्क हुँदै भृकुटीमण्डपसम्म पुगेँ । बस्नलाई काठमाडौंमा अप्ठेरो नै परेको त थिएन तर आफन्त भएपछि साथीहरूको रुममा पाहुना लाग्न आफैलाई असहज लाग्ने रहेछ । एक–दुई दिन होटेलमा रात कटाउन पनि समस्या त होइन तर घरदेखि टाढा भएपछि नजिक लाग्ने नै आफन्त रहेछन् । नजिक बनाउने कारण रगत र हाडनाताको सम्बन्धले पनि होला । सोही मुताविक केही आफन्तलाई बसपार्क झरेपछि फोन पनि गरेँ । सहरमा पाउना लाग्न आएको झर्कोले पनि होला उनीहरूको अल्लमल्ल प्रकारको कुरा सुनेपछि बिचैमा फोन काट्न मन लाग्यो । कुरा छोट्टाउदै ल ल ठिकै छ भनेर फोन काटेँ पनि । सानो छँदा काठमाडौंवासीका किस्सा सुनेको थिएँ, राजधानी गएकाहरूबाट । कोही मान्छे खाना खाने समयमा घरमा पुग्यो भने, ‘तपाईंको त जिउनार भयो होला, ल हाम्रो पनि जिउनार गर्ने बेला भयो’ भन्दै भेट्न आउने पाहुनालाई निर्लज्ज बनाएर पठाउथे भन्ने सुनेको थिँए । मलाई पनि त्यस्तै त्यस्तै अनुभूति भयो । हाडनाता सम्बन्ध भएका आफन्तलाई सहरमा भेट्न र उनीहरूको रुममा पाहुना जानु भनेको मुर्खता रहेछ । बरु टाढाकै मान्छे सहरमा नजिकका हुने रहेछन्, मानवता उनीहरूकै छातिमा भेटिने रहेछ ।

अपरिचित नम्बरबाट बजेको रिङ्गटोनको घण्टी रिसिभ गरेपछि उनकै निर्देशनमा म भृकुटीमण्डपतिर सोझिएँ । टि.आर धमला अनुराग रहेछन् । उनी भृकुटीमण्डपको पसल नम्बर ३९ मा ग्राहकसंग व्यस्त थिए तर पनि ग्राहकलाई भन्दा मलाई समय दिएका कारण एउटा ग्राहक मेरे अगाडी ढोक्सामा परेको माछाझै फुत्केर उनको पसलबाट बाहिरीएको थियोे । उनी भन्दै थिए, ‘अंकल आज मेरै रुममा बसौँ ।’

डायमण्ड गाउँबाट आएका हजुरबुवालाई घुमाउन स्यम्भु गएका रहेछन् । उनको र मेरो फोनमार्फत भएको कुराकानी पश्चात् हजुरबुवाको स्वयम्भू अवलोकन भ्रमणलाई छोट्टाएर रत्नपार्क आउँदै थिए र भन्दै थिए, ‘ठूलाबुवा आज मेरो रुममा बस्नु पर्छ ।’ म भने अर्कोपटक काठमाडौं आएको बेला बस्ने प्रतिबद्धता जनाउँदै उनको मन जित्न सफल भएँ । आमाको महाप्रस्थानपछि दिदीसँग भेट पनि भएको थिएन, आमाको माया दिदीसँग साट्नलाई भएपनि दिदीलाई भेट्ने व्यग्र चाहले म भक्तपुर राधेराधेको बस समाउँदै उहाँकै घर लागँे ।

२३ घण्टा बसको यात्राले जिउ थाकेर थिलोथिलो भएको थियोे । ढोगभेट गर्ने बाहेक दिदीभिनाजुसँग धेरै कुराकानी भएन । शरीर नुवाई–धुवाई र खाना खाइवरी पश्चात् बिस्तारामा ढलेर निदाएको थाह भएन । एकैपटक साहित्यकार ओम रिजाल सरको मोबाइलको घण्टी बिहान मोबाइलमा बजेपछि हताहतार गर्दै चक्रपथ मोडिएँ । मित्र बिपिन सलामीजीसँग बिहान साढे सात बजे जडिबुटी भेट्ने बाचा पनि पूरा गर्न सकिएन ।

त्यतैबाट सुरु भयो नुवाकोटको यात्रा । फाट्टफुट्ट सरकारी गाडीमा यात्रा गरेता पनि यसरी यति लामो यात्रा कहिल्यै भएको थिएन । गाडि चालक ज्ञानेस दंगाल, साहित्यकार ओम रिजाल र पंतिकारको भेट चक्रपथमा भएपछि गाडि बालाजु बसपार्कतर्फ मोडियो । अक्सर बिहान काठमाडौंमा ट्राफिक जाम त्यति साह्रो हुँदैन । त्यसैको मौका छोपेर हामी सवार गाडी कालो सडकको छाति माथी चितुवाको बेगमा दौंडीयो कलंकीतिर । गंगबुचोकमा धमिन्द्रा शाह र कलंकी चोकमा साहित्यकार इन्दिरा चापागाईं थपिएपछि ड्राइभरसहित पाँच थान मान्छे भयौं नुवाकोट जाने । धमिन्द्रा जी र इन्दिरा चापागाई दिदीसँग भएको भेट पहिलो थियोे । ओम सरको सहजीकरणमा एक आपसमा परिचय भएपछि हामी खुल्ला किताब झै एकआपसमा भलाकुसारी गर्न थाल्यौँ । नुवाकोटको कार्यक्रममा सहभागी हुन इन्दिरा दिदीको बहिनी कथाकार मन्दिरा चापागाईं पनि पहिलेनै गाडी चढेर थानकोट काटीसक्नु भएको रहेछ । खाली सीट भएर पनि ओम सरसँग इन्दिरा दिदीले प्रष्ट कुरा राख्न नसक्दा मन्दिरा म्यामले दुःख पाउनु भएको रहेछ । उहाँको बारेका कुरा चलेपछि ओम सरले मन्दिरा म्यामलाई बाटोमा झर्न सुझाएपछि इन्दिरा दिदीले फोन घुमाउनु भयो । माथि नागढुङ्गा पुगेपछि मन्दिरा म्याम पनि हामीसँगै अटाउनु भयो ।

अघिपछि काठमाडौं आउने–जाने गर्दा मुग्लिनदेखि नागढुङ्गासम्मको यात्रा पट्यारलाग्दो हुन्छ मलाई । कुरिनटार, बेनिघाट, मलेखु, चालिसे, गल्छी, नौबिसे ठाउँको नाम याद गर्दै यात्रा हुन्छ । यो पटक भने ओम सरका छोटा कविता, धमिन्द्रा, मन्दिरा र इन्दिरा दिदीका गफले गल्छी पुगेको थाह भएन । गल्छीको चिया नास्ता र छोटो विश्रामपछि हामी त्रिशुलीको किनारै–किनार तेरपाया–तेरपाया दाँयाहात हुँदै नुवाकोट विदुर लाग्यौँ । गल्छीदेखि नुवाकोट विदुर नगरपालिकासम्मको दुरी ३७ किलोमिटर रहेछ । इतिहास बोकेका किताबका पानामा त पढिएको थियोे तर पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम स्वास लिएको तादीको माटो, हावा, पानी र भौगोलिकतासँग साक्षात्कार हुने अवसर भने प्राप्त भएको थिएन । त्रिशुली र तादी नदीको किनारमा पृथ्वीनारायण शाहले प्राणत्याग गरेका रहेछन् । उनले टेकेको माटोसँग पंतिकार पनि परिचित हुने अवसर प्राप्त भएकोले मनमनै खुशी व्यक्त गरेँ, यो अवसर जुराउने मित्र सुमित्रा सुमिलाई धन्यवाद पनि दिएँ । सिन्को भाँच्न नसक्ने हामी सजिलै पृथ्वीनारायण शाहलाई गाली गर्छौं तर उनको योगदानलाई सम्झदैनौँ ।

त्रिशूली वारिपारीका भीरपाखा, नदी, खोच देखेपछि मनमा जिज्ञासा जाग्यो । पृथ्वीनारायण शाहले त्यसै भनेका रहेनछन्, ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, चार जात छत्तीस वर्णको साझा फुलबारी हो सबैलाई चेतना भया ।’ पृथ्वीनारायण शाहको अतुलनीय योगदानको कदर स्वरूप श्रद्धाञ्जली नदिइ रहन मनले मानेन । तादी र त्रिशुलीको संगमस्थलमा श्रद्धालु भक्तजनको भिडभाड थियो । भिडलाई चिर्दै शरीरमा जल सेचन गरेँ र पृतिहरूलाई सम्झँे ।

फोटो खिच्ने–खिचाउने कामको अध्याय सकिएपछि विदुर लाग्यौँ । बाटोमा भेटिएका बटुवा र फोनको निरन्तर कुराकानीमा भएका निर्देशनको अनुसरण गर्दै साहित्य संगम नुवाकोट कि अध्यक्ष सुमुत्रा सुमीकै घरको अगाडि गाडि गएर रोकियो । साहित्य कार्यक्रमको लागि नुवाकोट आएका श्रष्टाहरूको जमघटले सुमीजीको घर र आँगन भरिएको थियो । हामी पुगेपछि केही साहित्यकारको हुल कार्यक्रम स्थलतिर प्रस्थान भयो । हाम्रो टिम भने घरपैचो गरेर भिœयाइएकी दुलहीझै उहाँको घर भित्रियो । हामी र हाम्रो टिम देखेर निकै उत्साहित भएकी सुमीको चेहरामा कुनै युद्ध जितेर फर्केको सिपाइको भन्दा कम खुसी थिएन । गल्छीको ब्रेकफास्टले पेट अघाइसकेको थियोे । पेटमा खाली ठाउँ थिएन र पनि सुमित्राजीले सत्कारमा टक्राउनु भएको दुई गिलास गुलकुज पानी पिउँदा पनि पेट खाली नै भएको आभाष भइरहयो पछिसम्म ।

कार्यक्रमको निर्धारित समयलाई घडीले पच्छाइरहेको थियोे । हामी पनि कार्यक्रमस्थलतर्फै लाग्यौँ । निर्धारित समयभन्दा आधाघण्टापछि साढे एघार बजे शम्भु गजुरेलले कार्यक्रम सञ्चालन गर्नुभयो । जम्माजम्मी पचाँसदेखि साठी जनाले रचना वाचन गरे होलान् । सबैको मन राख्नु थियोे सुमी जीले र आफ्नो पालो कटाएर रचना वाचन गर्ने अवसर अरुलाई प्रदान गरेर एउटा फराकिलो मन भएको उदाहरण देखाउनुभयो ।

आफ्नो रचना जसरी पनि सुनाउनु पर्ने तर अरुको रचना नसुन्ने रोगको लक्षण यता पनि देखियो । धैर्य र सहन गर्न नसक्नेहरू बर्खायामको बाढीले भत्काएको कुलाको बाँध झै टुटेर गए । धैर्यतालाई पचाउन सक्नेहरू कार्यक्रम नसकिउन्जेलसम्म बसीरहे । प्रमुख अतिथि मुना धितालका केही बौद्धिक प्रवचन र सभाकी अध्यक्ष सुमित्रा सुमीजीका सबैलाई मुटुमा अटाउने मन्तव्यसहित कार्यक्रम साढे ६ बजे समापन भयो ।

काठमाडौंबाट आएका हाम्रो जत्थाले भने केही दिनदेखी सुमीजीको घरमा रहेका पाहुनाहरूलाई बिस्तापित गर्दै त्यस दिनका विशेष पाहुना लाग्यौँ ।

शारीरिक थकान भन्दा मानसिक थकानको थकावट अली बोझीलो र उकुसमुकुस हुनेरहेछ । हामी मस्तिष्कलाई त्यही उकुसमुकुसबाट शान्त बनाउन घरबाट निस्कियौँ । ओम रिजाल, ज्ञानेस दंगाल र पंतिकार विदुर बजार लाग्यौँ । विदुर कोष तथा लेखा नियन्त्रक कार्यालयकाका उपसचिव ओम सरकै साथी रहेछन् । उनले सुझाए अनुसार उक्त ठाउँ पश्चिम रहेछ तर हामी हावाको भरमा तीन किलोमिटर पूर्व लागेका रहेछौँ । सो होटेल खोजेर नभेटेपछि, यताउताका मान्छेसँग सोधपुछ गर्दा होटेल तीन किलोमिटर पश्चिममा रहेछ । अबेर भइसकेको थियोे । एकानदुकान बाहेक अक्सर पसलका सबै सटर बन्द थिए । विदुर सहर कोलाहालबाट मुक्त भएर निदाउँने तरखरमा थियोे । सार्वजनिक गाडिको चल्ने समय सकिएको थियोे । राजधानीसँगै जोडिएर भएपनि अटोरिक्सा चढ्ने चलन विदुरमा अझै सुरुवात भएको रहेनछ । बाटोमा भेटिएका निजी तथा सरकारी गाडिलाई हात दिदा पनि कसैले रोकेनन् । पुनः तीन किलोमिटर पैदल हिँडेरै मन्जिल भेटाउनु बाहेक अर्को उपाय भएन हाम्रो अघि । मन्जिलसम्म फर्केर आउँदा पंतिकारका खुट्टामा फोका उठेर पनि फुटीसकेका थिए । मन्जिल भेटिएपछि ज्ञानेश दंगालले भेटिएको ठाउँलाई नमस्कार गर्दै खुशी साटे । सूर्य नबिउँझिदै गरेको बिहानको यात्राले शरीर पनि थाकिसकेको थियोे, रमाइलो गर्ने धेरै समय पनि थिएन । सुमीजीको घरबाट बजेको फोनको घण्टीसँगै हामी उहाँकै घर पुग्यौँ । खाना खुवाउनलाई सुमीजी हामीलाई पर्खिरहनुभएको थियो । घर पुगेपछि सुमीजीले डाडुले दाल, तरकारी, मासु र पुन्युले भात थालमा पस्कदै नुवाकोटे प्रेम साट्नुभयो । हामीले पनि पेट नभरुन्जेल खाना थपिथपि खायौँ ।

भोलि रसुवाको यात्रामा निस्कनु थियोे, घडिले पनि ११ बजाइसकेकोले निदाउनु थियो । सुर्यदेव नबिउँझिदै रसुवा जाने योजना भएकोले धेरै कुराकानी भएन । सबै आआफ्नो रुमतिर गएर निदायौँ ।

घडिले ठिक तीन बजाएपछि हामी तयारीमा जुट्यौं । चार बजे यात्राको थालनी भयो रसुवाको लागि । काठमाडौंबाट आएका ६ थान माथि दुइथान सुमित्रा सुमीजीका आमाछोरी थपिएपछि आठ थान भयौं रसुवा जाने । सुमीजीकै गाइडमा रसुवा लाग्यौँ । केही अघि त्रिशूली हाइड्रोपावर जाने बाटोलाई छोड्दै दायाँ लाग्यौँ । गाडी आफ्नै हेडलाइटको उज्यालो पच्छाउँदै सडकको छाति कुल्चिदै दौडिरह्यो । बिचैमा पर्ने रहेछ बेत्रावती । जहाँ विक्रम सम्बत १८४९ मा भोट÷चीन र नेपालका बिचमा सन्धि भएको थियोे ।

इतिहास बोकेको उक्त ठाउँलाई छिचोल्दै हामी नागबेली साघँुरो बाटो हुँदै माथी उक्लियौँ । केहीछिनको यात्रापछि माझगाउँ पुग्यौं । बाटोमा हामीलाई पर्खी बस्नु भएका सुमीजीका बुवा बाटोमा भेटिनुभयो । बुवा भन्दै हुनुहुन्थ्यो, ‘चिया पिएर जानुस् ।’ फर्केर आएपछि पिउने प्रतिवद्धता जनाउदै हामी अघि बढ्यौं । जति अघि बढ्यो चिसो उति नै बढ्दै गयो । केहीछिनपछि धारापानी बजार भेटियो, धुन्चे पछिको ठूलो बजार यहीँ धारापानी रहेछ । माथि कालिकास्थान पुगेपछि भुकभुके उज्यालो भयो । उज्यालो भएपछि टाढाटाढाका दृश्यहरू पनि देखिन थाले । भुकम्पपश्चात् तातोपानी नाका बन्द भएपछि चिनसँग खुल्ला गरिएको दोस्रो ठूलो नाका यही थियोे तर नाकाको उपयोग नेपाल सरकारले भरपुर गरेको रहेनछ । नेपालमा आयातित हुने चाइनिज सामानहरू सबै भारत भएर आएको देख्दा मन कुडियो । जसरी भारतिय मालबहाक गाडीहरू नेपाल भित्रिन्छन् त्यसरी चिनबाट एउटा पनि मालबहाक गाडी बाटोमा ओहोर दोहोर भएको देखिएनन् ।

रसुवा पुग्नुअघि मैले जसरी रसुवा जिल्लाको भुगोलको अनुमान गरेको थिएँ उक्त अनुमानले गम खायो । अनुमान एक प्रतिशत पनि मिलेन । नमरी स्वर्ग देखिदैन भन्ने उखान चरितार्थ रसुवा पुगेपछि भयो । राम्चे, ठाडे र जुरेका जुराहरूमा रक्ताम्य फुलेका गुराँसहरूको यौवनको उन्मुक्ता सोह्र बर्षे ठिटोको भन्दा कम थिएन । यौवनले भरिएका लालीगुराँससँग फोटो नखिच्ने कोही भएनन् । प्रेमीले प्रेमीकालाई आलिङ्गनमा बेरेझै हिउँको पछ्यौरीले हिमाललाई आलिङ्गनमा बेरेका दृश्यहरू आँखा अगाडि थिए । इन्दिरा दिदीको नजर सेतो बोर्डमा काला अक्षरले लेखिएको सोले शब्दमा ठोक्किए पछि । अरे ! यहाँ पनि सोले भन्दै उहाँ हिन्दी फिल्म सोलेको याद गर्दै हुनुहुन्थ्यो । मान्छेको सबैभन्दा बढी दौडिने र स्थिर हुने मन र दिमाग नै रहेछ । हाम्रो मन पनि याद र कल्पनाका थुप्रोमा अलमलिदै दौडिदैं रसुवाको सदरमुकाम धुन्चे बजार पुगेको पत्तो भएन ।

भिरालो जमिनमा ८० डिग्रीको कोण बनाएर धुन्चे सहर उत्तर मोडा बनाएर चिन फर्केको रहेछ । मिश्रित समाज भएता पनि बौद्ध धर्मावलम्बीको बर्चस्व रहेको कुरा घरका छानामाथि फरफहराई रहेका लुङ्दाले संकेत गरिरहेका थिए ।

रसुवागढी जाने बाटोलाई छोड्दै हामी गोसाइँकुण्ड जाने बाटोतर्फ लाग्यौँ । केही तल झरे पछि स्याप्से भन्ने ठाउँ पुग्यौं र भयो पैलद यात्रा । हाम्रो यात्रा गोसाइँकुण्ड नभएर मिनि गोसाइँकुण्डसम्मको मात्रै थियोे । खोचमा अवस्थित सानो कुण्ड र कुण्डमाथी झरीरहेको झरनाको मनोरम दृष्य हेरेर मन र आँखा अघाएनन् । फोटो खिच्ने पर्यटकहरूको तछाडमछाड नै हुनेरहेछ । ओल्टाई फर्काई हामीले पनि तस्बिर खिचीरह्यौँ । केही समयपछि हामी पनि कौतुहलताले कसिएको गाँठो फुकाउदै आएकै बाटो धुन्चे फर्कियौँ । खाना खाने समय मात्रै भएको थिएन । समयले नेटो काटेकाले होटलमा ग्राहकहरूका लागि पकाएको खाना पनि सकिसकेको थियोे । होटलका चुलाहरू आराम गर्ने तर्खरमा थिए । दुई चार होटेलमा पसेर तयारी खाना नभेटेपछि घुन्चेको छेउमा रहेको पाण्डे होटेलमा छिर्यौं र साउनी दिदीले हतार–हतारमा मिठो खाना तयार गरेर पाहुना सत्कार गर्नुभयो । चिसो भएर पनि होला खानाको स्वाद मिठो लाग्यो ।

आएकै बाटो फिर्ता हुने भएपछि जाने बेलाको जस्तो उत्सुकता आउने बेला नहुने रहेछ । केही बिर्से जस्तो, केही हराएजस्तो अनुभूति संगाल्दै आफ्नो बाटो हिँडिरह्यौँ । विचरा श्रेया भने लगातार बान्ताको कारण बिमारीको भेषमा गाडिको सिटमा लखतरान थिइन् ।

पहिलेकै गाउँ, ठाउँ र बाटो छिचोल्दै ओराली लागेको मृगको हालमा ओरालो झर्यौं । अब रोकिनु पर्ने ठाउँ थिएन र चालकलाई भनेर रोकिने ठाउँ पनि बाँकी थिएनन् । केही घण्टाको यात्रापछि सुमीजीका बुवा(ऋषिराम)को घर माझगाउँ आइपुग्यौँ । बुवाआमा हामीलाई नै कुरी बस्नुभएको थियो । चिया पानी र गोरसद्वारा सत्कार गर्नुभयो । केहीछिन एक आपसमा भलाकुसारी भए ।

केही महिना अगाडि मात्रै मैले आमालाई गुमाएको थिएँ । लाग्थ्यो जीवनभरी मातृ स्नेहको अभाव खड्की रहनेछ तर एकैछिनको छोटोे बसाइँपछि मैले आफ्नै आमाको स्नेह छुटिँदा सुमीजीका आमा–बुवाको हातबाट पाएपछि स्वर्गवास रहनु भएकी आमा यतै रसुवामा भएझै भानभयो । दुःखमा झर्ने आँसु भन्दा हर्षमा झर्ने आँसुले उम्मिद जगाउने रहेछ । छुटिँदा आमाबाले दिनु भएको आर्शीवाद मनमा गुटुमुटु पार्दै आमाको आँचलमा भरिएर पछि भेट्ने बाचासहित फर्किए । बस्न मन त रसुवामै थियोे तर साथीहरूलाई बिचैमा अलपत्र पारेर छुटिनु पनि थिएन । साथीहरूका कुरा सुन्दै चुपचाप विदुर लागेँ ।

अब भ्रमणको अन्तिम मन्जिल नुवाकोट दरबार थियोे । उक्त दरवारको भ्रमण्पश्चात् घर फर्किनु पनि थियोे । समयले हामीलाई नुवाकोटदेखि लखेटीरहेको थियोे । विदुर नगरपालिकादेखि २.५ कि.मी मा अवस्थित नुवाकोट दरबार पुग्न जम्मा जम्मी गाडीमा दस मिनेट जति लाग्ने रहेछ । घडीको सुइरो पच्छाउँदै दरबार लाग्यौँ । २०७२ को भुकम्पले दरबार अवस्था नाजुक भएको रहेछ । पुर्ननिर्माणको ठेक्का चिनियाँ कम्पनीले लिएपनि कोरोनाकालपछि चीन गएका ठेकेदार फर्केका रहेनछन् । प्रतिघण्टा ५० कि.मी.को वहाबमा आएको हावाले दरबार क्षतविक्षत हुने अवस्था थियोे । सरकारको ढिलासुस्ती अर्को नमुना यहाँ पनि देखियो । मल्लकालिन र पृथ्वीनारायण शाहद्वारा निर्माण भएका दरबार, भैरवी मंदिर तथा प्राचिन भौतिक संरचनाहरूको तस्बिर आँखामा कैदगर्दै गन्तव्य भेटाउन फर्कियौँ । मान्छेलाई जिउँदो रहुनजेल हतारले कहिल्यै नछाड्ने रहेछ । सबैको जीवनकालमा भाष्य बनेको हतार सबैलाई हतारमै लखेट्ने रहेछ । हामी सवार स्कारपियो पनि हतारै हतारमा साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमीको घरको आँगन अगाडी आएर रोकियो । छुटिनेबेला सुमीजीले दिनु भएको पानी तल्लो पेटमा नपुग्दै हतारहतारमै हात हल्लाउँदै नुवाकोट छोड्यौं । बटारको फाँटलाई चुम्दै आफ्नै लयमा त्रिशूली बगिरहेको थियोे । त्रिशूली सागर भेटाउन उद्दत थियो । तर हाम्रो लय हाम्रो हातमा थिएन । चालक ज्ञानेश दंगाल जीको हातमा अल्झिएको लयलाई छायाँ बनेर पच्छाइरहनुको विकल्प थिएन । गल्छी नपुगुञ्जेल छायाँ बनेरै पच्छाई रहयौँ । गल्छी–नुवाकोट ३७ कि.मी.को दुरीलाई ३२ मिनेटमा हावाको बेगमा ज्ञानेशजीले गल्छी पुराए हामीलाई । जाँदा लामो लागेको बाटो फर्किदा छोट लाग्यो । फुत्त गल्छी पुगेको पनि चाल भएन । गल्छीदेखि ओम सर, धमिन्द्रा मिस, मन्दिरा म्याम र इन्दिरा दिदी काठमाडौं लागेँ । आफू भने यात्राको एक्लो फकिर भएर त्रिशूलीको किनारै किनार सुर्खेत फर्कें नुवाकोट र रसुवामा पाएको मायालाई मनभरी साँच्दै ।

प्रकाशित मितिः   २३ बैशाख २०८०, शनिबार ०५:०४