फलफूल खेतीमा युवा कृषकको आकर्षण
सुर्खेत: जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ४ का सरोज शाही ३५ वर्षका भए । उनी विगत ६ वर्षदेखि व्यावसायिक रूपमा फलफूल खेती गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट पर्यटन विषयमा स्नातकोत्तर गरेका शाहीले आँखे कृषि पर्यटन तथा अनुसन्धान उद्योग दर्ता गरेका छन् । गाउँमै भविष्य देखेका उनले ४५ लाखबाट व्यवसाय सुरु गरेर अहिले एक करोड लगानीमा फलफूल खेती गरिरहेका छन् ।
अर्का युवा कृषक महेन्द्र कार्की र उनी मिलेर व्यवसायलाई अगाडि बढाएका हुन् । उनीहरूले चन्दननाथ मन्दिरको दश हजार वर्गमिटर क्षेत्रफल जग्गा भाडामा लिएर स्याउखेती गरिरहेका छन् । जिल्लामै उत्पादन हुने अर्गानिक जुम्ली स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएपछि फुजी स्याउखेती व्यावसायिक रूपमा गर्न थालेको शाहीले बताए । उनले भने, ‘सुरुमा फुजी स्याउका १२ सय बिरुवा लगाएका थियौँ । स्याउ खेती सफल भएसँगै बढाएर ३३ सय बिरुवा लगाएका छौँ ।’ सुरुमा फुजी, गोल्डेन, रेड चिप, गाला र जोर्डन गरी पाँच प्रकारका स्याउ लगाएका छन् । कम मेहेनत गरेर पनि धेरै आम्दानी गर्न सकिने भएकाले फलफूल खेतीलाई व्यावसायिक रूपमा अघि बढाइएको शाही र कार्कीको भनाइ छ । पर्याप्त स्रोतसाधन भए फलफूल खेतीबाट मनग्य आम्दानी हुने उनी बताउँछन् । उत्पादन गर्न सके बजारीकरणमा समस्या नरहेको समेत शाहीले जनाए । जुम्लाको उत्पादन सिधै काठमाडौं पुग्छ ।
जुम्लाकै गुठीचौर गाउँपालिका वडा नं. ५ कुम्डी गाउँका भीमबहादुर भण्डारीले २२ हेक्टर क्षेत्रफलमा ४८ हजार फुजी स्याउका बिरुवा लगाएका छन् । २०७६ सालमा गुठीचौर एग्रो फर्म दर्ता गरेर उनले व्यावसायिक रूपमा फलफूल खेती गरेका हुन् । २२ करोड लगानीमा तीन वटा पलटमा स्याउ खेती गर्दै आएका छन् । क्षेत्रफल विस्तार गरेर दुई लाख फुजी जातको स्याउका बिरुवा रोप्ने तयारी रहेको उनले बताए । जिल्लामै उत्पादन हुने स्थानीय जातको भन्दा फुजी स्याउबाट राम्रो आम्दानी हुनेभएपछि क्षेत्र विस्तार गर्न लागेका हुन् । उनले इटालियन फुजी जातको स्याउखेती सुरु गरेको चार–पाँच वर्ष भयो । गतवर्ष मात्र उनको बारिमा ८० टन स्याउ उत्पादन भएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट गत वर्ष एक करोड अनुदान पाएका थिए । उनले भने, ‘स्याउ खेतीका लागि भिरालो जमीन भन्दा समथर फाँट आवश्यक पर्ने भएकाले ५० प्रतिशत जमीन समथर बनाइएको छ । स्थानीय जातको स्याउभन्दा फुजी जातको स्याउ तेब्बरले उत्पादन हुन्छ ।’ स्याउ लगाउने क्षेत्रफल विस्तार गरी स्थानीयलाई गाउँमै रोजगारी दिने सोच बनाएको एग्रोफर्मका सञ्चालक भण्डारीले बताए । फुजी स्याउबाट आकर्षक आम्दानी भएपछि युवालाई पनि स्वरोजगार बनाउने उदेश्यका साथ व्यवसायलाई अघि बढाइएको उनी बताउँछन् । बजारीकरणको समस्या नरहेको उनको भनाइ छ । उनले भने, ‘यो स्याउ स्वादिष्ट, धेरै उत्पादन, कम जमिन ओगटने हुँदा थोरै लगानीमा धेरै फाइदा लिन सकिन्छ ।’
फलफूल खेती सफल भएपछि स्थानीय युवा किसान फलफूल खेतीमै आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ स्याउ सुपर जोन कार्यालय जुम्लाका कार्यालय प्रमुख खेमराज शाहीले जिल्लामा हाल ४० हेक्टर क्षेत्रफलमा फुजी जातको स्याउ खेती भइरहेको जानकारी दिए । २८ हेक्टरमा स्याउको फल फलिसकेको छ । उक्त जातको एक लाख २८ हजार एक सय ४० बिरुवा जिल्लाभर लगाइएको उनले जनाए । यो जातको स्याउ लगाएको एक वर्षमै फल लाग्ने, क्षेत्रफल कम ओगट्ने, एउटा बिरुवामा १५ देखि १८ किलो उत्पादन हुने र बजारीकरण राम्रो भएकोले कृषकको यसतर्फ आकर्षण बढेको उनले जानकारी दिए । जुम्लामा ६ वर्षअघिदेखि फुजी जातको स्याउ खेती व्यावसायिक रूपमा गर्न थालिएको हो ।
प्रकाशित मितिः २३ बैशाख २०८०, शनिबार ०५:०५
रजनी याेगी ।