नेपाली जनमत सर्वेक्षण: जनप्रतिनिधिप्रति बढ्दै विश्वास
सुर्खेत: देशको अवस्थाप्रति नागरिकमा निराशा बढ्दै गएको पाइएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ आट्र्सले इन्टरडिस्प्लिनरी एनालिस्ट्स र द एसिया फाउन्डेशनको सहकार्यमा गरिएको ‘नेपाली जनमत सर्वेक्षण–२०२२’ को प्रतिवेदनअनुसार देशको अवस्थाप्रति आशावादी नागरिकको संख्या घटेको छ ।
सर्वेक्षणमा सहभागीमध्ये ४१ प्रतिशतले मात्रै मुलुक सही दिशातिर हिँडिरहेको बताएका छन् । जबकी दुई वर्षअघि अर्थात् सन् २०२० मा गरिएको सोही सर्वेक्षणमा देशको सुधारप्रति आशावादी उत्तरदाताको संख्या ७० प्रतिशत थियो । दुई वर्षमा उक्त प्रतिशत घटेर ४२.१ मा पुगेको छ । यसले नागरिकमा निराशा बढ्दै गएको देखाउँछ ।
कर्णाली प्रदेशको अवस्थाप्रति सकारात्मक धारणा राख्नेको संख्या भने आधा–आधा देखिन्छ । सर्वेक्षणअनुसार सामाजिक क्षेत्रमा ५६.९ प्रतिशत, संस्कृतिक क्षेत्र ५५.९ प्रतिशत र भौतिक क्षेत्र ६२.९ प्रतिशत सकारात्मक दिशातर्फ गएको तथ्याङ्क छ । राजनीति र अर्थतन्त्रप्रति भने निराशा बढी छ । अर्थतन्त्र सही दिशामा रहेको बताउनेको संख्या ३३.५ प्रतिशत छ भने राजनीतिक क्षेत्रप्रति सकारात्मक हुनेको संख्या २८.२ प्रतिशत मात्रै छ । यद्यपि, संविधान जारी हुनु, महिलाको अवस्थामा सुधार हुनु, सडक बन्नु, शिक्षामा पहुँच वृद्धि हुनुलाई सकारात्मक मानेका छन् । अर्कोतर्फ बढ्दो भ्रष्टाचार, मूल्यवृद्धि, कमजोर अर्थतन्त्र, कर वृद्धिलाई मुख्य समस्याका रूपमा हेरेका छन् ।
प्रतिवेदन अनुसार स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको देखिएको छ । विवाद समाधानदेखि अन्य समस्या समाधानका लागि जनप्रतिनिधि छान्ने संख्या बढ्नुले सरकारप्रति नागरिक विश्वास बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ७४ प्रतिशत उत्तरदाताले स्थानीय जनप्रतिनिधिलाई विश्वास गरेको बताएका छन् भने ८६ प्रतिशतले सञ्चारमाध्यमप्रति विश्वास गर्ने बताएका छन् । राजनीतिक दललाई विश्वास गर्नेको संख्या भने निकै न्यून देखिएको छ । ४४.१ प्रतिशतले मात्रै दलहरूप्रति विश्वास देखाएका छन् ।
सर्वेक्षणको प्रतिवेदन बिहीवार वीरेन्द्रनगरमा सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र मन्त्री र प्रदेशसभाका सदस्यहरू सहभागी रहेको थिए ।
प्रकाशित मितिः २२ बैशाख २०८०, शुक्रबार ०५:०१
साझा बिसौनी ।