गैरजिम्मेवार सांसद
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सकिएको छ । करिब चार महिना चलेको अधिवेशनमा १५ वटा बैठक सञ्चालन भए । अधिवेशनको अधिकांश समय बैठक नबसेरै बितेको छ । तर पहिलो अधिवेशनमै अधिकांश सदस्यहरू सबै बैठकमा उपस्थित नभएको पाइएको छ । सबै बैठकमा उपस्थिति हुनेको संख्या आधाभन्दा पनि कम छ । अर्थात् १९ जना सदस्य मात्रै सभाका सबै बैठकमा उपस्थित भएका छन् । अन्य सदस्यहरू भने केही बैठकमा अनुपस्थित भए । संसद् छल्नेमा बहालवाला मुख्यमन्त्रीसहित मन्त्रीहरू र पूर्वमन्त्रीहरू पनि रहेका छन् । विगतमा पनि प्रदेशसभाका सदस्यहरूले संसद् बैठकभन्दा पनि पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छन् ।
प्रदेशसभा सचिवालयको विवरणअनुसार सबै बैठकमा उपस्थित हुने सदस्यहरू १९ जना छन् भने सबैभन्दा कम उपस्थित हुनेमा जाजरकोटबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजीवविक्रम शाह छन् । उनी १० वटा बैठकमा मात्रै उपस्थित भएका छन् । अन्य पाँच वटा बैठकमा उनको उपस्थिति रहेन । त्यसैगरी नौ जना सदस्यले एक एक वटा बैठक गुमाएका छन् । उनीहरू सभाका १४ वटा बैठकमा भने उपस्थित भएका छन् । सचिवालयको विवरणअनुसार सात जना सदस्य १३ वटा बैठक, दुई जना १२ वटा बैठकमा र दुई जना ११ वटा बैठकमा उपस्थित भएका छन् । हाल कर्णाली प्रदेशसभामा ४० जना प्रदेशसभा सदस्य छन् । उनीहरूले मासिक पारिश्रमिकलगायत अन्य सुविधाबाहेक संसद् बैठकमा सहभागी भएवापत पनि भत्ता पाउँछन् । तर संसद्मा जनताको आवाज बोलेर सरकारलाई खबरदारी गर्दै कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट उनीहरू विमुख देखिन्छन् ।
कर्णाली प्रदेशसभा सदस्यहरूले नीतिगत तथा अन्य संसद्का गतिविधिका बारेमा अध्ययन छलफल चलाएको समेत न्यून देखिन्छ । जनताको प्रतिनिधिको रूपमा प्रस्तुत नभइ सांसदहरू मन्त्री बन्न र जागिर खान चुनिएको जस्तो देखिने गरेको राजनीतिक क्षेत्रका जानकारहरू बताउँछन् । कर्णालीका सांसदहरू जनजीविकाका सवालभन्दा सत्ता राजनीतिको खेलमा बढी रुमलिएको आलोचना समेत हुँदै आएको छ । आफ्नो दायित्व र जिम्मेवारीप्रति गम्भीर नभएर सांसदहरू पार्टी गतिविधिमा नै बढी भुलिरहेको आरोप लाग्ने गरेको हो । संसद् बैठकमा उपस्थित हुनेको संख्याले पनि उक्त आरोपलाई बल पुग्छ । पहिले अधिवेशनबाट एउटा पनि कानुन निर्माण नहुनुले पनि मुख्य जिम्मेवारीप्रति नै बेवास्ता गरिएको देखिन्छ । जननिर्वाचित प्रदेशसभा सदस्यहरूको प्रमुख दायित्व सभामा सहभागि हुने, नागरिकका समस्या सरकारसमक्ष पु¥याउने र कानुन निर्माणमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नु हो । यसतर्फ सबै सदस्यहरू गम्भिर हुन जरुरी छ ।
प्रकाशित मितिः २२ बैशाख २०८०, शुक्रबार ०५:०३
सम्पादकीय ।