बाढीपीडितको व्यवस्थापन

मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं. ८ झ्यारी गाउँका एक सय १६ बाढी पीडित पुनर्बासको पर्खाइमा छन् । उनीहरू आठ महिनादेखि पालमुनि बसिरहेका छन् । गतवर्षको असोज १९ देखि २४ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले सि“गै गाउँ विस्थापित भएको थियो । तर अहिलेसम्म पनि उनीहरूको व्यवस्थापन हुन सकेको छैन । बाढीपहिरोले विस्थापित बनेको आठ महिनासम्म पनि सरकारले उचित बासको व्यवस्थापन नगर्दा पीडितहरू रारा राष्ट्रिय निकुञ्जको बाम्लीचौरमा त्रिपाल टाँगेर बस्न बाध्य भएका हुन् । त्रिपालकै भरमा कठ्यांग्रिदो हिउँद कटाएका पीडितले वर्षात् पनि त्रिपालमै बिताउनुपर्ने भएको छ ।

बाढीपीडितहरू बिहान–बेलुकाको छाक टार्नै मुस्किल भइरहेको बताउँछन् । अर्कोतर्फ निकुञ्जले पटक–पटक बस्ती सार्न भनिरहेको छ । आठ महिनादेखि बसिरहेको स्थान रारा राष्ट्रिय निकुञ्जको वन क्षेत्र हो । बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । यहाँका एक सय १६ परिवारको बासस्थान सामुदायिक वन बनेको छ । झ्यारी गाउँ नै जोखिममा रहेकाले उनीहरू सबै गाउँले नै पाल टाँगेर बस्न बाध्य भएका हुन् । उब्जनी हुने खेलबारी समेत बगर बनेको छ । अन्नपात, लत्ताकपडा सबै बाढीले लग्यो । ज्याला मजदुरी गरेर दैनिकी गुर्जादै आइरहेका पीडितहरू आफूहरूलाई सुरक्षित स्थानमा राखिनुपर्ने माग गरिरहेका छन् । तर सुनुवाई भएको छैन । पर्याप्त राहतसमेत नपाएको उनीहरूको गुनासो छ । भन्छन्, ‘विभिन्न समयमा आफूहरूको विवरण संकलन गरेर लैजान्छन् । आजसम्म केही राहत पाएका छैनौँ ।’ बाढी र पहिरोबाट विस्तापित भएका अन्य गाउँका नागरिक पुनस्र्थापित भइसकेपनि झ्यारीका पीडितको व्यवस्थापन नभएको हो । बाढीले सबैभन्दा बढी झ्यारी गाउँमा क्षेति पुगेको छ । अहिले बसोबास गरिरहेको निकुञ्जको क्षेत्र भएकाले उक्त स्थानमा समेत बस्न समस्या भइरहेको छ । निकुञ्जले बस्ती सार्न ताकेता पनि गरिरहेको छ ।

स्थानीय सरकार भने विवरण संकलनमै अल्झिएको छ । क्षतिको विवरण संकलन भएकाले अब अन्य प्रक्रिया अघि बढाइने स्थानीय सरकारको भनाई छ । तर दिनप्रति दिन समस्यामा परेका पीडितहरू जतिसक्दो छिटो व्यवस्थापन हुनुपर्ने अवस्थामा छन् । यद्यपि, घर पुननिर्माणका लागि बजेट जोहो भइरहेको पालिकाले जनाएको छ । संघीय सरकारको चार लाख ७५ हजार र नगरपालिकाको २५ हजार गरी प्रति घर परिवारलाई पाँच लाखका दरले राहत वितरण गर्ने तयारी गरिएको छ । विपद्मा परेका नागरिकलाई जतिसक्दो छिटो आवश्यक राहत र पुनस्र्थापनामा सरकार संवेदनशील हुन जरुरी हुन्छ ।

प्रकाशित मितिः   २० बैशाख २०८०, बुधबार ०५:०३